श्रीमानको अधुरो काम पूरा गर्न आममतदाताले आफूलाई बहुमतसहित विजयी गराउँछन् : जिउती देवी


रौतहट। रौतहटको गढीमाई नगरपालिका -८ का नेकपा एमालेकी वडा अध्यक्षकी उम्मेदवार जिउती देवीले श्रीमानको अधुरो सपना पुरा गर्न आम मतदाताले आफूलाई बहुमत दिएर निर्वाचित गराउने दावी गरेकी छन् ।
गढीमाई -८ का वडा अध्यक्ष रामाज्ञा यादवको निधन भएपछि मङसिर १६ गते त्यहाँ उप निर्वाचन हुन् लागेको छ। २०७९ को निर्वाचनमा स्वर्गिय वडा अध्यक्ष यादव जनता समाजवादी पार्टी नेपालबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। तर वडा अध्यक्ष रामाज्ञा यादवको निधन भएपछि अहिले उनको धर्म पत्नी जिउती देवी जसपा नेपाल छाडेर नेकपा एमालेबाट उम्मेदवारी दिएकी छिन्।
समाजमा आफ्ना श्रीमानको ठूलो योगदान रहेको चर्चा गर्दै जिउती देवीले आफ्ना श्रीमानले समाजमा गरेको योगदानका कारण वडा अध्यक्षमा आफू बहुमत सहित निर्वाचित हुने दावी गरिन् । घर्दैलोको क्रममा आज बिहान सञ्चारकर्मिसंग कुरा गर्दै उम्मेदवार उनले बहुमत आफ्नो पक्षमा रहेकोले मङसिर १६ गते हुने उपनिर्वाचनमा आफ्नो जीत सुनिश्चित रहेको दावी गरिन् ।
श्रीमानको अधुरो रहेको धेरै कामहरु पुरा गर्नुपर्ने रहेकोले आम मतदाताले श्रीमानको अधुरो सपना पुरा गर्न एकपटक आफ्ना चुनाव चिन्ह सूर्य छापमा मत दिई आफूलाई विजयी गराउनुपर्ने उनले बताइन् ।
आम जनता आफ्नो पक्षमा रहेकोले आफू चुनाव जित्नेमा ढुक्क रहेको उनले बताइन् । बहुमत आफूसँग रहेकोले कसैले चाहेर पनि आफूलाई पराजित गर्न नसक्ने उनले दावी गरिन् ।
घरदैलोको क्रममा आम मतदाता संग अपार साथ, सहयाेग र माया पाइरहेकोले आफ्नो जीत सुनिश्चित रहेको हुँदा आफ्ना दलको चुनाव चिन्ह सूर्य छापमा आफ्ना अमूल्य मत दिई आफूलाई जिताउन उनले सबैलाई आग्रह गरिन् ।
चुनाव जितेपछि आफूले शिक्षा, स्वास्थ्य र कृषि लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताइन् । चुनाव जितेपछि रात दिन नहेरिकन जनताको काममा आफू अहोरात्र खटिने समेत उनले बताइन्।























