Opens in a new tab

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

नवलपुर टुडे

2.1KShares

सारांश

  • एमालेका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधनप्रति पार्टी अध्यक्ष केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गर्नुभएको छ।
  • अध्यक्ष ओलीले जारी गर्नुभएको शोक वक्तव्यमा गौतमलाई एक संघर्षशील, सादगी, इमानदार र राजनीतिक निष्ठाप्रति प्रतिबद्ध सच्चा जनसेवकका रूपमा स्मरण गरिएको छ।
  • गुल्मीमा जन्मिनुभएका गौतमले २०२३ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागी बाँके र नेपालगन्जलाई कर्मथलो बनाउँदै पार्टी संगठन विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेकाे शोक वक्तव्यमा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य समेत रहेका गौतमको निधनले पार्टीलाई मर्माहत बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

गौतमलाई सङ्घर्षशील, सादगी, सरल, इमानदार र राजनीतिक निष्ठाप्रति प्रतिबद्ध नेताका रूपमा स्मरण गर्दै अध्यक्ष ओलीले उहाँको निधनबाट पार्टीले एक निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रका सच्चा जनसेवक गुमाएको उल्लेख गरेका छन् ।

विसं २००२ मा गुल्मीको थोर्गामा जन्मनुभएका गौतमले विसं २०२३ मा बनारसमा कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालबाट पार्टी सदस्यता प्राप्त गरी राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । उनले बाँके र नेपालगन्जलाई आफ्नो कर्मथलो बनाएर कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए ।

भूमिगत कालमा भेरी–कर्णाली क्षेत्रको सचिव, बाँके जिल्ला कमिटी सचिव तथा भेरी अञ्चल कमिटी सदस्य एवं कार्यालय सचिवको जिम्मेवारी सम्हाल्नुभएका गौतम बाँके क्षेत्रको कम्युनिस्ट आन्दोलनका अग्रणी नेताका रूपमा परिचित थिए ।

पुष्पलालले पार्टी पुनर्गठन गरेपछिको समयदेखि नेकपा (मनमोहन समूह), नेकपा (मार्क्सवादी) हुँदै पार्टी एकीकरणपछि उनी आजीवन एमालेमा आबद्ध रहेका थिए । विसं २०७४ को निर्वाचनमा उहाँ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।