कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

रासस

सारांश
- कास्कीमा गत असोज महिनामा भएका ५९ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु हुनुका साथै १०१ जना घाइते भएका छन्।
- प्रहरीका अनुसार तीव्र गति, चालकको लापरवाही, मादक पदार्थ सेवन र अनुमतिपत्र नभएका चालकका कारण अधिकांश दुर्घटनाहरू भएका हुन्।
- सवारी नियम उल्लंघन गर्ने ४ हजार ७८५ सवारीसाधनलाई कारबाही गरी प्रहरीले ३९ लाख ९८ हजारभन्दा बढी राजस्व संकलन गरेको छ।
कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो संख्या अन्य महिनाका तुलनामा बढी हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, असोजमा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन परेका थिए । दुर्घटनामा परेका सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनाको विश्लेषण गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ । तीव्र गतिमा चलाएका कारण २० वटा दुर्घटना भएका छन् । कास्कीका गत असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित ६ जनाले ज्यान गुमाएका थिए भने १५ जना घाइते भएका थिए ।
“असोजमा अन्य महिनाका तुलनामा धेरै दुर्घटना भएको छ । विद्यालय बस दुर्घटनामा धेरै मानवीय क्षति भयो । यसका अलावामा अन्य साना दुर्घटनासमेत गत महिनामा बढी भए । चालकको लापरवाही र तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ”, डीएसपी पासवानले भने ।
प्रहरीका अनुसार दुर्घटनाका अन्य कारणमा मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण १०, सवारीचालक अनुमतिपत्र नभएका चालकका कारण पाँच, यान्त्रिक समस्याका कारण एउटा र अन्य कारणले २३ वटा दुर्घटना भएका छन् ।
प्रहरीले असोज महिनामा सवारी नियम उल्लंघन गर्नेविरुद्ध चार हजार ७८५ वटा कारबाही गरेको छ । उक्त कारबाहीबाट ३९ लाख ९८ हजार ५०० राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, विपद्का घटनामा जिल्लामा दुईजनाको मृत्यु भएको छ । सुक्खा पहिरोमा परेर दुईजना पुरुषको ज्यान गएको थियो । असोज महिनामा कास्कीमा आगलागीका पाँच, अविरल वर्षाका २८, चट्याङका दुई र सुक्खा पहिरोका दुई घटना भएका छन् ।
अविरल वर्षाका कारण चार घरमा आंशिक क्षति पुगेको छ भने चट्याङका घटनामा तीन चौपायाको मृत्यु भएको छ ।
यसैगरी प्रहरीले प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा सात वटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहमा पठाएको छ । उक्त कारबाहीबाट एक लाख १४ हजार राजस्व संकलन भएको बताइन्छ ।

बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली
अरुपनि पढ्नुहोस
सबै
लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
















