Opens in a new tab

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

नवलपुर टुडे

299Shares

सारांश

  • राप्रपा नेता ज्ञानेन्द्र शाहीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको सरकार ढाल्ने र सडकमा मानिस उतार्ने चेतावनीको अभिव्यक्तिप्रति व्यङ्ग्य गरेका छन्।
  • दसैँ सकिन लाग्दासमेत कुनै राजनीतिक हलचल नदेखिएपछि शाहीले सामाजिक सञ्जालमार्फत ‘आँधी र तुफान’ कहाँसम्म आइपुग्यो भनी प्रश्न गरेका छन्।
  • शाहीले बारम्बार सत्ता परिवर्तनको खेलभन्दा विद्यमान सरकारलाई जनउत्तरदायी बनाउन खबरदारी र रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँपछि सरकार ढाल्ने र लाखौँ मानिस सडकमा उतार्ने भनी दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कडा व्यङ्ग्य गरेका छन्।

दसैँ सकिन लाग्दा पनि कुनै राजनीतिक हलचल नदेखिएपछि शाहीले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई सोधेका छन्— “आँधी कहाँसम्म आइपुग्यो? तुफान कति टाढा छ?”

प्रचण्डले केही समयअघि दसैँ–तिहारपछि ‘आँधी, बेरी र तुफान’ ल्याएर वर्तमान सरकार ढाल्ने र सात लाख मानिस सडकमा उतार्ने चेतावनी दिएका थिए। सोही अभिव्यक्तिलाई स्मरण गराउँदै सांसद शाहीले दसैँको टीका सकिएको भन्दै कटाक्ष गरेका हुन्।

उनले लेखेका छन्, “दसैँको टीका सकिएको पनि एक दिन भइसक्यो। अब एक–दुई दिन मात्रै बाँकी छ। त्यसैले कमरेड, आँधी कहाँसम्म आइपुग्यो? तुफान कति टाढा छ? बेरी चल्न थाल्यो कि फेरि जङ्गलमै हराउने हो?”

नेता शाहीले अहिलेको समय सरकार ढाल्ने र नयाँ सरकार बनाउने खेलमा लाग्ने नभएको स्पष्ट पारेका छन्। मुलुकलाई अस्थिरतातर्फ लैजानुभन्दा विद्यमान सरकारलाई जनउत्तरदायी बनाउन खबरदारी गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ।

शाहीले राजनीतिक दलहरूलाई सत्ताकेन्द्रित खेल छाडेर रचनात्मक भूमिका निर्वाह गर्न सुझाव दिँदै भनेका छन्, “सरकारले राम्रो काम गर्छ भने समर्थन र प्रोत्साहन गरौँ, काम गर्दैन भने खबरदारी र सचेत गराऔँ।” उनले बारम्बार सत्ता परिवर्तनको खेलमा लाग्नुभन्दा सरकारका कामकारबाहीमाथि निरन्तर निगरानी राख्नुपर्नेमा जोड दिएका छन्।