Opens in a new tab

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न रास्वपा सभापति लामिछाने भारतमा

नवलपुर टुडे

1.8KShares

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नीसहित तीर्थाटनका लागि स्थलमार्ग हुँदै भारत प्रस्थान गर्नुभएको छ।
  • तीन दिने भ्रमणका क्रममा उहाँले उत्तराखण्डको कैचीधाम र गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको छ।
  • यो पूर्ण रूपमा व्यक्तिगत र धार्मिक भ्रमण भएको तथा कुनै राजनीतिक भेटघाट नहुने उहाँले स्पष्ट पार्नुभएको छ।

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गरेका छन्। सभापति लामिछानेले पत्नीसहित स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा)को दर्शन गर्ने कार्यक्रम रहेको छ।

तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहिटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिवालय सदस्य एवं सांसद दीपकराज बोहराले जानकारी दिए।

सभापति रविसँगै पत्नी निकिता पौडेल, प्रतिनिधिसभा सदस्य बोहरा भ्रमण टोलीमा छन्। टोलीलाई गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट भारतीय सुरक्षाकर्मीले सुरक्षा दिएको छ। धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति लामिछानेले असाध्यै व्यक्तिगत भ्रमणका क्रममा भारत जान लागेको बताए।

‘पहिलेदेखि नै जाउँला भन्ने थियो। यो धार्मिक भ्रमण हो। कुनै राजनीतिक भेटघाट छैन,’ उनले भने, ‘कारागारमा हुँदा गरेको भाकल पूरा गर्न जाँदैछु। मेरो भ्रमणका नाममा कसैलाई पनि खिचडी नपकाउन आग्रह गर्दछु।’