एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

एजेन्सी

सारांश
- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकको सेयर बजारमा भएको आईपीओसँगै कम्पनीका करिब ९६ प्रतिशत कर्मचारी रातारात करोडपति बनेका छन्।
- सन् २०२१ मा स्थापित ‘क्लाउड’ एआई मोडलको यो कम्पनीमा छोटो समयमै तीव्र प्रगति भएका कारण अधिकांश कर्मचारीको सेयर सम्पत्ति १० लाख डलरभन्दा बढी पुगेको छ।
- कर्मचारीहरूले सेयर कारोबार सुरु भएकै दिन १० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने विशेष व्यवस्था रहेकोले सानफ्रान्सिस्कोको घरजग्गा बजारमा समेत आर्थिक दबाब सिर्जना भएको छ।

काठमाडौँ । अमेरिकी एआई कम्पनी एन्थ्रोपिकको सेयर बजारमा प्रवेशसँगै कम्पनीका अधिकांश कर्मचारी रातारात करोडपति बनेका छन् ।
कम्पनीका कुल कर्मचारीमध्ये करिब ९६ प्रतिशतको नाममा कम्तीमा १० लाख डलर (करिब १४ करोड रुपैयाँ) मूल्य बराबरको सेयर रहेको छ ।
कम्पनीले नियामक निकायमा बुझाएको विवरणअनुसार सन् २०२६ को सेप्टेम्बरसम्म एन्थ्रोपिकमा ५ हजार ३०० कर्मचारी कार्यरत थिए । निजी कम्पनीका सेयरको मूल्यांकन गर्ने संस्था हिल डटकमको तथ्यांकअनुसार तीमध्ये करिब ५ हजार १०० कर्मचारीसँग १० लाख डलरभन्दा बढी मूल्यको सेयर छ ।
त्यस्तै, कम्पनीका करिब २ हजार ८०० कर्मचारीसँग एक करोड डलरभन्दा बढी मूल्यको सेयर रहेको छ । अझ आश्चर्यजनक कुरा, करिब ६०० कर्मचारीको सेयर सम्पत्तिको मूल्य १० करोड डलरभन्दा बढी पुगेको छ । यस्तो सम्पत्ति भएका व्यक्तिलाई ‘सेन्टी–मिलियनेयर’ अर्थात् १० करोडपति भनिन्छ ।
हिल डटकमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एन्ड्रयु बेन्सनले एन्थ्रोपिकका कर्मचारीको सम्पत्ति यति छोटो समयमा असाधारण रूपमा बढ्नु सबैभन्दा आश्चर्यजनक पक्ष भएको बताएका छन् ।
‘सबैभन्दा अचम्मको कुरा यो परिवर्तन यति छिटो हुनु हो,’ उनले भने । उनका अनुसार एन्थ्रोपिकबाट कर्मचारी बाहिरिने दर निकै कम रहेको छ । कम्पनीले तीव्र गतिमा प्रगति गरिरहेको देखिएकाले कर्मचारीहरूले भविष्यमा प्राप्त हुन सक्ने आर्थिक अवसर गुम्ने डरले पनि जागिर नछाडेको उनको भनाइ छ ।
एन्थ्रोपिक सन् २०२१ मा स्थापना भएको कम्पनी हो । यसले लोकप्रिय एआई मोडल ‘क्लाउड’ विकास गरेको छ । स्थापना भएको पाँच वर्ष नपुग्दै कम्पनी विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक बन्न पुगेको छ ।
सन् २०२४ को अन्त्यसम्म कम्पनीमा एक हजारभन्दा कम कर्मचारी थिए । तर त्यसपछि कम्पनीको विस्तार तीव्र भयो र कर्मचारी संख्या बढेर ५ हजार ३०० पुगेको हो । सिलिकन भ्यालीका प्रविधि कम्पनीहरूले कर्मचारीलाई तलबसँगै कम्पनीको सेयर पनि दिने प्रचलन पुरानै हो । कम्पनी भविष्यमा ठूलो मूल्यमा बिक्री हुने वा सेयर बजारमा सूचीकृत हुने अपेक्षाले कर्मचारीलाई लामो समयसम्म कम्पनीमा टिकाइराख्न यस्तो व्यवस्था गरिन्छ ।
तर एन्थ्रोपिकले जति छोटो समयमा यति ठूलो आर्थिक सफलता हासिल गरेको उदाहरण कमै पाइने बेन्सनको भनाइ छ । उनका अनुसार कम्पनीमा उच्च पदमा हुनु भन्दा सुरुमै आबद्ध हुनु आर्थिक लाभका दृष्टिले बढी महत्त्वपूर्ण हुन्छ । सन् २०२३ वा २०२४ मा कम्पनीमा प्रवेश गरेका तल्लो तहका कर्मचारीले पनि सन् २०२६ को सुरुतिर आबद्ध भएका वरिष्ठ कर्मचारीभन्दा बढी आर्थिक लाभ प्राप्त गरेको हुन सक्ने उनले बताएका छन् ।
यसले कम्पनीको सफलतामा कर्मचारीको पदभन्दा कम्पनीमा आबद्ध भएको समयले बढी प्रभाव पार्न सक्ने देखाएको छ ।
पहिलो दिनमै सेयर बेच्न पाउने व्यवस्था
एन्थ्रोपिकको आईपीओलाई अन्य प्रविधि कम्पनीको आईपीओभन्दा फरक बनाउने अर्को पक्ष कर्मचारीले सेयर बिक्री गर्न पाउने व्यवस्था हो ।
सामान्यतया कम्पनीहरू सेयर बजारमा सूचीकृत भएपछि संस्थापकबाहेकका कर्मचारी तथा भित्री लगानीकर्ताले निश्चित समयसम्म आफ्नो सेयर बेच्न पाउँदैनन् । यस्तो व्यवस्थालाई ‘लकअप पिरियड’ भनिन्छ । प्रायः यो अवधि तीनदेखि छ महिनासम्म हुन्छ ।
तर एन्थ्रोपिकले फरक व्यवस्था गरेको छ । कम्पनीको आईपीओमा चरणबद्ध लकअप व्यवस्था गरिएको थियो । यसअनुसार संस्थापकबाहेकका भित्री लगानीकर्ताले सेयर कारोबार सुरु भएकै दिन आफ्नो स्वामित्वमा रहेको सेयरको १० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरिएको थियो ।
यद्यपि बिहीबार कति कर्मचारीले आफ्नो सेयर बिक्री गरे भन्ने तथ्य सार्वजनिक भएको छैन ।
यसअघि अन्तरिक्ष तथा प्रविधि कम्पनी स्पेसएक्सको आईपीओले पनि कर्मचारीलाई ठूलो आर्थिक लाभ दिएको थियो । तर स्पेसएक्सले निजी कम्पनीका रूपमा दुई दशकभन्दा बढी समय बिताएपछि सन् २०२६ को जुनमा सेयर बजारमा प्रवेश गरेको थियो । त्यसबाट कम्पनीका करिब २२ हजार कर्मचारीमध्ये ४ हजार ४०० जना करोडपति बनेका थिए ।
एन्थ्रोपिकको कर्मचारी संख्या स्पेसएक्सको तुलनामा निकै कम भए पनि करोडपति बनेका कर्मचारीको अनुपात अत्यधिक छ ।
सानफ्रान्सिस्कोको घरजग्गा बजारमा थप दबाब
एन्थ्रोपिकका अधिकांश कर्मचारी अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रान्सिस्कोमा केन्द्रित छन् । कम्पनीका कर्मचारीहरू ठूलो संख्यामा करोडपति बनेपछि त्यसले सहरको घरजग्गा बजारमा थप दबाब सिर्जना गर्न सक्ने अनुमान गरिएको छ ।
प्रविधि कम्पनीहरूबाट अचानक ठूलो सम्पत्ति आर्जन गर्ने नयाँ धनीहरूको आगमनले सानफ्रान्सिस्कोको अर्थतन्त्र र आवास बजारमा यसअघि पनि ठूलो परिवर्तन ल्याएको थियो ।
घरजग्गा कारोबारसम्बन्धी संस्था रेडफिनका अनुसार सानफ्रान्सिस्कोमा सन् २०२६ को अक्टोबरमा एउटा घरको औसत बिक्री मूल्य १७ लाख डलर पुगेको थियो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै १९ प्रतिशत बढी हो ।
यसको विपरीत, अमेरिकाभरि घरको औसत मूल्य भने लगभग स्थिर रहेको थियो । नेसनल एसोसिएसन अफ रियल्टर्सका अनुसार अक्टोबरमा अमेरिकामा घरको औसत मूल्य ४ लाख १६ हजार ७०० डलर थियो ।

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा

सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
अरुपनि पढ्नुहोस
सबै
द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव


झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी
















