Opens in a new tab

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा

एजेन्सी

325Shares

सारांश

  • कोलम्बियामा सरकारले प्रस्ताव गरेको कर सुधार, बढ्दो महँगी र अमेरिकासँगको सैन्य सहकार्यको विरोधमा हजारौँ नागरिकले देशव्यापी प्रदर्शन गरेका छन्।
  • प्रस्तावित कर नीतिले आयकरको दायरा बढाउने र नागरिकमाथि आर्थिक बोझ थप्ने भन्दै श्रमिक सङ्गठन, विद्यार्थी तथा विपक्षी दलहरूले चर्को विरोध जनाएका छन्।
  • प्रदर्शनकारी र प्रहरीबीच केही स्थानमा झडपसमेत भएको छ भने सरकारले वित्तीय सङ्कट टार्न राजस्व वृद्धि आवश्यक रहेको तर्क गर्दै आएको छ।
dida bag ad

बोगोटा । कोलम्बियामा राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाको सरकारविरुद्ध हजारौँ नागरिक सडकमा उत्रिएका छन् ।

सरकारले प्रस्ताव गरेको कर सुधार, बढ्दो महँगी र अमेरिकासँगको सैन्य सहकार्य योजनाको विरोधमा बिहीबार राजधानी बोगोटासहित देशका प्रमुख सहरमा देशव्यापी प्रदर्शन भएको हो ।

श्रमिक सङ्गठन, विद्यार्थी तथा विपक्षी दलहरूको अगुवाइमा भएको प्रदर्शनमा सरकारले अघि सारेको कर नीतिको विरोध गरिएको थियो ।

प्रस्तावित सुधारअनुसार आयकर तिर्नुपर्ने न्यूनतम आम्दानीको सीमा घटाउने, स्वास्थ्य सेवामा नागरिकको योगदान बढाउने र कम्पनीमाथिको कर घटाउने योजना छ ।

हाल मासिक करिब एक हजार ४१९ डलरभन्दा बढी आम्दानी गर्नेले आयकर तिर्नुपर्ने व्यवस्था छ । नयाँ प्रस्तावअनुसार यो सीमा घटाएर मासिक ९८५ डलरभन्दा बढी आम्दानी गर्ने नागरिकलाई पनि आयकरको दायरामा ल्याउन खोजिएको छ ।

प्रदर्शनमा सहभागी २१ वर्षीया लेइडी गुटिरेज भन्छिन्, ‘कोलम्बियाको ठूलो जनसङ्ख्या असुरक्षित महसुस गरिरहेको छ । धनीहरूकै सम्पत्ति झन् बढिरहेको छ ।’

सरकारले भने गम्भीर वित्तीय सङ्कटबीच राजस्व वृद्धि गर्न नयाँ कर व्यवस्था आवश्यक रहेको बताउँदै आएको छ । आगामी वर्ष मुलुकको बजेट घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ९.४ प्रतिशत पुग्ने सरकारको अनुमान छ ।

यसअघि सरकारले आधारभूत खाद्य वस्तुमा कर बढाउने विवादास्पद प्रस्ताव ल्याएको थियो । तर, व्यापक आलोचना भएपछि राष्ट्रपति डे ला एस्प्रिएलाले उक्त प्रस्ताव फिर्ता लिएका थिए ।

पूर्वराष्ट्रपति गुस्ताभो पेट्रोले पनि प्रदर्शनलाई समर्थन गर्दै नागरिकलाई सडकमा उत्रिन आह्वान गरेका छन् । उनले सरकारका नीतिले सर्वसाधारण परिवारको आम्दानी र आर्थिक अवस्थालाई जोखिममा पारेको आरोप लगाएका छन् ।

राष्ट्रपति डे ला एस्प्रिएलाले भने नागरिकलाई शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार रहेको बताएका छन् । तर, सडक अवरुद्ध गर्ने तथा आफूले ‘सहरी आतङ्कवाद’ भनेका गतिविधि सह्य नहुने चेतावनी दिएका छन् ।

प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रहे पनि केही ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।

अमेरिकी सैन्य सहकार्यलाई लिएर विवाद

कर नीतिको विरोधमा प्रदर्शन भइरहेका बेला कोलम्बियामा अमेरिकी सैन्य गतिविधिमा सहकार्य गर्ने विषयले पनि विवाद सिर्जना गरेको छ ।

अमेरिकासँग कोलम्बियाको भूमिमा लागुऔषध तस्करी गर्ने सशस्त्र समूहविरुद्ध संयुक्त सैन्य कारबाही सञ्चालन गर्ने प्रस्तावबारे राष्ट्रपति डे ला एस्प्रिएला र अमेरिकी रक्षामन्त्री पिट हेगसेथले प्रतिक्रिया दिएका छन् ।

द न्युयोर्क टाइम्स ले बुधबार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै कोलम्बियाले आफ्नो भूमिमा संयुक्त सैन्य कारबाही सञ्चालन गर्ने अमेरिकी प्रस्ताव अस्वीकार गरेको समाचार प्रकाशित गरेको थियो ।

समाचारअनुसार राष्ट्रपति डे ला एस्प्रिएलाले अमेरिकी पक्षलाई उक्त सैन्य अभियान स्वीकृत गराउन कोलम्बियाली संसद्मा पर्याप्त समर्थन नरहेको बताएका थिए । त्यसपछि अमेरिकी रक्षामन्त्री हेगसेथले कोलम्बिया भ्रमण छोट्याएको समाचारमा उल्लेख थियो ।

राष्ट्रपति डे ला एस्प्रिएलाले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कुनै प्रस्ताव अस्वीकार नगरेको दाबी गरेका छन् । उनले अमेरिकासँगको सहकार्य कोलम्बियाली सेनाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अघि बढाइएको स्पष्ट पारेका छन् । अमेरिकी सेना कोलम्बियामा परिचालन गर्नुपर्ने अवस्था आए त्यसका लागि संसद्को स्वीकृति आवश्यक पर्ने उनको भनाइ छ ।

बुधबार बोगोटा भ्रमणका क्रममा अमेरिकी रक्षामन्त्री हेगसेथले सङ्गठित अपराधविरुद्ध क्षेत्रीय सैन्य सहकार्य बलियो बनाउने अमेरिकी नेतृत्वको ‘अमेरिकाज काउन्टर कार्टेल कोलिसन’ मा कोलम्बियाको सहभागिताको प्रशंसा गरेका थिए ।

गत अगस्टमा राष्ट्रपति पद सम्हालेपछि डे ला एस्प्रिएलाविरुद्ध भएको यो दोस्रो देशव्यापी प्रदर्शन हो । यसअघि अक्टोबरमा दशौँ हजार नागरिक सडकमा उत्रिएका थिए । त्यसबेला विपक्षी समूहहरूले सरकारमाथि मानव अधिकार र पूर्वराष्ट्रपति पेट्रोको कार्यकालमा अघि सारिएका सामाजिक सुधारका कार्यक्रम कमजोर बनाएको आरोप लगाएका थिए ।