द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नवलपुर टुडे

सारांश
- प्रधानमन्त्रीको आगामी भारत भ्रमणका क्रममा व्यापार घाटा न्यूनीकरण, थप हवाई रुट प्राप्ति र जलविद्युत् विकासलाई प्राथमिकता दिन पूर्वपरराष्ट्रमन्त्रीहरूले सुझाव दिएका छन्।
- दुई देशबीचको आपसी सम्बन्ध, जनस्तरको विश्वास अभिवृद्धि तथा सीमा समस्या र पारवहनलगायतका विषयमा खुलेर छलफल गर्नुपर्नेमा जोड दिइएको छ।
- अधुरा, विकास आयोजनाहरूको कार्यान्वयन, क्षेत्रीय पर्यटन प्रवर्द्धन र बंगलादेशमा विद्युत् निर्यातका लागि भारतको सहकार्यको विषयलाई विशेष रूपमा उठਾउनुपर्ने बताइएको छ।

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘केनेक्टिभिटी’लगायत मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।
उनीहरुले नेपाल–भारतबीच लामो समयदेखिको जनस्तरको सम्बन्ध र आपसी विश्वासलाई अभिवृद्धि गर्दै दुई देशको हित हुने सम्झौता गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री शाह यही मंसिर ६ गते भारतको दुई दिने औपचारिक भ्रमणमा त्यसतर्फ जाँदै छन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन् ।
यसै सन्दर्भमा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको मुख्य चासो र चिन्ता व्यापार घाटा भएकाले भ्रमणका क्रममा यसलाई प्राथमिकताका साथ उठान गर्न आवश्यक भएको बताए । भ्रमणका क्रममा भारतसँगको व्यापारघाटा कम गर्ने उपायलाई प्राथमिकतामा राख्दै नेपालबाट हुनसक्ने सेवा तथा वस्तुको निर्यातमा सहजीकरणका सन्दर्भमा काम गर्नुपर्ने उनको भनाइ छ ।
सीमासँग सम्बन्धित विषय र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय पनि प्राथमिकताका साथ उठान गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।
“नेपाल र भारतको सम्बन्ध विविधतामा आधारित छ, यो सम्बन्धलाई दीर्घकालीन विश्वासको सम्बन्धमा विकसित गराउनुपर्छ त्यसमा पनि विशेष ध्यान दिनुपर्छ”, उनले भने, “भ्रमणलाई फलदायी बनाउन दुवै देशका चासो र चिन्तालाई सम्बोधन हुने गरी कार्यक्रमहरु अगाडि बढाउनुपर्छ ।”
उनले भारतको पनि चासोलाई मध्यनगर गर्दै हाम्रो संवेदनशीलता र राष्ट्रिय हित अनुकूल हुने गरी आफ्ना विषय भारतसामु राख्न आवश्यक भएको बताए ।
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशबीचको विश्वासलाई बलियो बनाउनमा केन्द्रित हुनुपर्ने बताए ।
“छिमेकीका जायज सरोकारहरू सुन्नुपर्छ र विश्वासको वातावरण निर्माण गर्नुपर्छ । त्यसैले यो भ्रमण मुख्य रूपमा विश्वास अभिवृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ”, उनले भने ।
उनका अनुसार नेपालका लागि थप हवाई रुटको विषय पनि महत्वपूर्ण छ । नयाँ हवाई रुट उपलब्ध गराउने सन्दर्भमा सन् २०१८ मै भारत भ्रमणका क्रममा समझदारी भएको समेत उनले उल्लेख गरे ।
त्यसबाहेक जलविद्युत् आयोजनाहरूको कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।
“नेपाल र भारत मिलेर आगामी दिनमा आर्थिक विकास तथा आर्थिक साझेदारीका क्षेत्रमा के–कस्ता काम गर्न सक्छौँ, कस्तो मूल्य शृङ्खला निर्माण गर्न सक्छौँ र कुन–कुन आयोजना अगाडि बढाउन सक्छौँ भन्ने विषयमा पनि खुलस्त छलफल हुनुपर्छ,” उनले भने, “त्यसो हुन सके मात्रै यो भ्रमणले वास्तविक अर्थ राख्छ ।”
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विगतमा सरकारले अगाडि बढाउन खोजेका अधुरा कामलाई पूरा गर्नेतर्फ लाग्नुपर्ने पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाको सुझाव छ ।
उनका अनुसार आजका लागि महत्वपूर्ण विषय हवाईमार्गको हो । नेपालले थप हवाईमार्ग प्राप्त गर्न सकेको खण्डमा दुवै देशलाई फाइदा पुग्ने उनको विश्वास छ ।
“दुवै देशबीच थप हवाईमार्गमा सहमति भयो भने यसले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग गर्छ,” उनले भने, “दुवै देशका नागरिकको आवतजावत बढ्छ, व्यापार विस्तार हुन्छ र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्छ ।”
उनका अनुसार नेपालले उठाएका माग र प्रस्तावमध्ये कुन–कुन विषय सम्भव छन् भन्नेबारे पनि आपसी समझदारी आवश्यक छ । सबै पक्षलाई राम्रोसँग बुझेर सहकार्य गर्न सके दुवै देश लाभान्वित हुने उनको भनाइ छ ।
पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशको सम्बन्धलाई परस्पर विश्वास अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
दुई देशको सम्बन्धमा अलि तिक्तताजस्तो देखिएको थियो, त्यसलाई आपसी समझदारीसहित विश्वासमा बदल्नुपर्नेमा उनले जोड र्दि ।
“भ्रमणलाई फलदायी बनाउन दुवै देशको हितमा हुने गरी लगानी, विकास र व्यापारलाई प्राथमिकतका दिनुपर्छ,” उनले भने, “यी तीनवटा क्षेत्रमा ध्यान दिन सकियो भने समृद्धिको दिशातर्फ अगाडि बढ्न सकिन्छ । यसका लागि पहिले परस्पर विश्वास र मित्रता आवश्यक छ ।”
नेपाल–भारतबीचमा रहेका पारवहनका समस्या, हवाईमार्ग र सीमामा देखिएका विवादलाई समाधान गर्न आवश्यक रहेको उनको भनाइ छ ।
त्यसबाहेक सुरक्षाका विषयमा एक अर्कालाई बुझाउने र आश्वस्त पार्ने वातावरण निर्माण बनाउन जरुरी भएको उनले उल्लेख गरे । त्यसैगरी दुई देशबीचको सीमामा नागरिकले भोग्नु परेको समस्या समाधानमा पनि ध्यान दिन आवश्यक रहेको पूर्वपरराष्ट्रमन्त्री यादवले बताए ।
उनले भने, “भारत भ्रमणका क्रममा नेपालमा जलस्रोतको विकास, बिजुलीको व्यापार पनि महत्वपूर्ण विषय हो । बंगलादेशमा विद्युत् निर्यातका लागि पनि भारतको साथ हामीलाई आवश्यक हुन्छ, त्यसमा पनि होसियारीका साथ अगाडि बढ्नुपर्ने आवश्यक छ ।”
पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेल प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा राजनीतिक र जनताका दैनिकीसँग जोडिएका दुईवटा विषयलाई छुट्टाछुट्टै रुपमा हेरिनुपर्ने बताउँछिन् ।
“म भ्रमणको विषयलाई मुख्यतः दुई खेमामा विभाजन गर्छु । पहिलो, राजनीतिक प्रकृतिका विषय हुन्, जसमा धेरै गृहकार्य आवश्यक छ,” उनले भनिन्, “त्यसका लागि सम्बन्धित समिति र निकायसँग आवश्यक तयारी गर्नुपर्छ । यस्ता विषयमा नेपालको धारणा स्पष्ट रूपमा राख्दै समाधानका लागि पहल गर्नुपर्छ ।”
जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषय दोस्रो विषय भएको बताएकी हुन् । यसमा व्यापार घाटाको विषय पनि पर्छ । बेला–बेलामा निर्यात रोकिदिने र त्यसले नेपालमा अभाव सिर्जना गर्ने अवस्था पनि देखिएको उनको भनाइ छ ।
उनका अनुसार हवाई मार्गको विषय पनि त्यत्तिकै महत्त्वपूर्ण छ । त्यसबाहेक विद्युत् व्यापार, ठूला भौतिक पूर्वाधारका आयोजनालाई प्राथमिकताका साथ उठान गरिनुपर्ने उनको भनाइ छ ।

चुनावमा सामाजिक सञ्जालको प्रयोगलाई बढाउन प्रचण्डको सुझाव

विजयनगरमा माता सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको समिति गठन

आगन्तुकको टोपी खाएपछि विश्वभर चर्चित हिप्पो फियोनाको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु, प्रहरी हबलदारसहित चारजना घाइते
अरुपनि पढ्नुहोस
सबै
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

चितवनमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी
















