आगन्तुकको टोपी खाएपछि विश्वभर चर्चित हिप्पो फियोनाको मृत्यु

एजेन्सी

सारांश
- अमेरिकाको सिनसिनाटी चिडियाखानामा आगन्तुकको बुनेको टोपी निल्दा आन्द्रामा अवरोध उत्पन्न भएर विश्वभर चर्चित नौ वर्षीया जलगैँडा फियोनाको मृत्यु भएको छ।
- अत्यधिक तौल र जोखिमका कारण शल्यक्रिया गर्न सम्भव नभएपछि पशु चिकित्सकहरूको टोलीले गरेको लामो प्रयास असफल हुँदा उनको जीवन बचाउन सकिएन।
- सन् २०१७ मा समयअगाडि जन्मिएर विशेष हेरचाहपछि भाइरल बनेकी फियोनाको असामयिक निधनले सिनसिनाटीका बासिन्दासहित विश्वभरका प्रशंसकहरूलाई स्तब्ध र शोकमा पारेको छ।

सिनसिनाटी । अमेरिकाको सिनसिनाटी चिडियाखानामा विश्वभर चर्चित जलगैँडा फियोनाको नौ वर्षको उमेरमा मृत्यु भएको छ ।
चिडियाखानाका अनुसार आगन्तुकको बुनेको टोपी गल्तीले उसको वासस्थानमा खसेपछि फियोनाले निल्दा आन्द्रामा अवरोध उत्पन्न भएको थियो । उपचारका क्रममा चिडियाखानाका पशु चिकित्सक र हेरचाह टोलीले निरन्तर प्रयास गरे पनि उनलाई बचाउन सकेनन् ।
चिडियाखानाका निर्देशक डेभ जेनीकेले बिहीबार जारी विज्ञप्तिमा आफूहरू स्तब्ध भएको बताए । ‘हामीले यस्तो परिणामको अपेक्षा गरेका थिएनौँ । फियोनाले अन्तिम समयसम्म संघर्ष गरिन्,’ उनले भने ।
२ हजार पाउन्ड (करिब ९०७ किलो) भन्दा बढी तौल भएकी फियोनाको शल्यक्रिया सम्भव नभएको चिडियाखानाले जनाएको छ । उपचारका लागि पशु चिकित्सक र मानव चिकित्साका विशेषज्ञसँग समेत परामर्श गरिएको थियो । टोपीलाई उनको शरीरबाट निकाल्न पटक–पटक प्रयास गरिए पनि सफल हुन सकेन । अन्ततः आवश्यक उपचार गर्दा पनि उनको स्वास्थ्य सुधार हुन सकेन ।
चिडियाखानाका सञ्चार निर्देशक मिसेल कर्लेका अनुसार एक साताभन्दा बढी समयअघि टोपी वासस्थान अगाडि हावामा उडाइएको थियो । त्यसपछि छतको पङ्खामा अड्किएको टोपी त्यहाँबाट उछिट्टिएर १२ फिट अग्लो अवलोकन झ्यालमाथि रहेको खाली ठाउँबाट भित्र पुगेको थियो ।
- आन्द्रामा अवरोध हुँदा ज्यान जाने जोखिम
मियामी चिडियाखानाकी पशु चिकित्सक तथा जलगैँडा विशेषज्ञ डा. गाब्रिएला फ्लाकेले यस्ता वस्तु निल्दा जनावरको आन्द्रामा अवरोध उत्पन्न हुन सक्ने बताइन् । फियोनाको अल्ट्रासाउन्ड परीक्षणमा आन्द्रा खुम्चिएको देखिएको थियो, जसले सानो आन्द्राबाट कुनै वस्तु गुज्रिरहेको सङ्केत गरेको थियो । वस्तु अड्किएपछि त्यस वरिपरिको आन्द्रामा दबाब बढ्ने, रक्तप्रवाह बन्द हुने र तन्तुहरू मर्न थाल्ने उनले बताइन् । यस्तो अवस्था छिट्टै गम्भीर बन्न सक्छ ।
जलगैँडाको ठूलो शरीर, बाक्लो छाला र शल्यक्रियापछि घाउ निको हुन कठिन हुने कारण पनि शल्यक्रिया जोखिमपूर्ण हुन सक्ने उनले बताइन् ।
- समयअघि जन्मिएर विश्वभर चर्चित
फियोना सन् २०१७ मा निर्धारित समयभन्दा छ हप्ता पहिले जन्मिएकी थिइन् । जन्मिँदा उनको तौल केवल २९ पाउन्ड (करिब १३ किलो) थियो, जबकि जलगैँडाका बच्चाको सामान्य जन्म तौल करिब १०० पाउन्ड हुन्छ ।
आफ्नी आमा बिबिबाट दूध चुस्न आवश्यक समयसम्म उभिन नसक्ने भएपछि चिडियाखानाका कर्मचारीले विशेष हेरचाह गरेका थिए । सिनसिनाटी चिल्ड्रेन्स अस्पतालका नर्सहरू पनि उनको उपचार र स्याहारमा सहभागी भएका थिए । उनीहरूको टोलीलाई ‘टिम फियोना’ नाम दिइएको थियो ।
फियोना स्वस्थ हुँदै गएपछि चिडियाखानाले सामाजिक सञ्जालमा उनका तस्बिर र भिडियो सार्वजनिक गर्न थालेको थियो । उनका भिडियोहरू भाइरल भएपछि विश्वभर प्रशंसक बढेका थिए । ‘टिम फियोना’ नाममा टी–सर्ट, म्याग्नेटलगायत सामग्री बिक्री हुन थाले । स्थानीय ब्रुअरीले उनको सम्मानमा विशेष बियर उत्पादन गरेको थियो भने स्थानीय कपडा कम्पनीले टी–सर्ट बिक्रीबाट प्राप्त रकम चिडियाखानालाई दिने व्यवस्था गरेको थियो ।
फियोनालाई हेर्न अस्ट्रेलिया, जर्मनी, ब्राजिल र जापानसम्मबाट मानिस सिनसिनाटी पुगेका थिए । थुनिएर राखिने सामान्य जलगैँडाको जीवनकाल ४० देखि ५० वर्षसम्म हुने भएकाले नौ वर्षमै उनको मृत्यु असामयिक मानिएको छ ।
- प्रशंसकहरू शोकमा
फियोनाको मृत्युले सिनसिनाटीका बासिन्दा तथा विश्वभरका प्रशंसकलाई स्तब्ध बनाएको छ । सिनसिनाटीका मेयर आफ्ताब पुरेवालले उनलाई सहरको दृढता र खुसीको प्रतीक बताएका छन् । ओहायोका गभर्नर माइक डिवाइन र नवनिर्वाचित गभर्नर एमी एक्टनले पनि दुःख व्यक्त गरेका छन् ।
चिडियाखानाबाहिर फियोना र उनकी आमाको मूर्तिनजिक प्रशंसकहरूले गुलाबी र सेतो फूल तथा श्रद्धाञ्जली कार्ड राखेका छन् । एक प्रशंसकले उनलाई आफ्नो चिडियाखाना भ्रमणको मुख्य गन्तव्य भएको बताउँदै फियोनाको संघर्ष र प्रशंसकसँगको आत्मीय व्यवहार सम्झिएका छन् ।

सवारी दुर्घटनामा एकको मृत्यु, प्रहरी हबलदारसहित चारजना घाइते

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

चितवनमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी
अरुपनि पढ्नुहोस
सबै
पर्साबाट कात्तिक महिनामा भन्सार छलीका ७० लाखको सामान बरामद

एनपीएल : लुम्बिनी र सुदूरपश्चिम कसले उचाल्ला एनपीएलको ट्रफी ?

आज मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान

आजदेखि नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द
















