Opens in a new tab

झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

नवलपुर टुडे

399Shares

सारांश

  • झापाको दमकस्थित आगजनीबाट क्षतिग्रस्त भाट–भटेनी सुपर स्टोर मंसिर ५ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
  • कठिन परिस्थितिमा पनि कम्पनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारी सुरक्षित राख्दै सेवा निरन्तरता दिएको छ।
  • अध्यक्ष मीन बहादुर गुरुङले पुनःनिर्माणमा सहयोग गर्ने सम्पूर्ण कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
dida bag ad

झापा । आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर भोलि (शनिबार) मंसिर ५ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ।

भाट–भटेनी सुपर मार्केट प्रा. लि. ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त स्टोरबाट भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गरिने जानकारी दिएको हो।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार पूर्ण रूपमा आगजनी भएका स्टोरहरूको पुनःनिर्माणका लागि ठूलो समय, स्रोत र लगानी आवश्यक पर्ने भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा दिन कम्पनी सफल भएको छ।

विज्ञप्तिमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले यति ठूलो क्षति बेहोर्दा पनि भाट–भटेनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता नगरेको उल्लेख गरेका छन्।

कठिन परिस्थितिमा समेत देशभर भाट–भटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा कुनै असर पर्न नदिइएको र कसैलाई पनि रोजगारीबाट अलग नगरिएको उनले स्पष्ट पारेका छन्।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ।

साथै, दुःखको घडीमा साथ दिने सम्पूर्ण सहयोगी हातहरू, चौबीसै घण्टा खटिएर पुनःनिर्माणमा जुट्ने कर्मचारीवर्ग, शुभेच्छुक, सरोकारवाला तथा स्टोर पुनःसञ्चालनको पर्खाइमा रहेका ग्राहकहरूप्रति अध्यक्ष गुरुङले हार्दिक आभार व्यक्त गरेका छन्।