चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

नवलपुर टुडे

सारांश
- चितवनको चित्रसारीमा हरिबोधनी एकादशीका अवसरमा थारू महिलाहरूको झाम्टा नाचसहित चित्रसेन बाबाको मेला सुरु भएको छ।
- थारू राजा तथा भगवान् विष्णुको अवतार मानिने चित्रसेन बाबाको मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ।
- मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित यस मेलामा टाढाटाढाबाट भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गरेको छ।

चितवन । चितवनको चित्रसारीमा आजदेखि तीन दिनसम्म मेला सुरु भएको छ । थारू महिलाहरूले झाम्टा नाच प्रदर्शन गर्दै चित्रसेन बाबाको आह्वान गरी आजदेखि मेला सुरु भएको हो ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ स्थित यहाँ हरिबोधनी एकादशीका अवसरमा उक्त मेला तीन दिनसम्म सञ्चालन हुन्छ । चित्रसेन बाबा मन्दिर संरक्षण समितिको अगुवाइमा आयोजना गरिएको मेलाको सुरुआत थारू महिलाहरूको झाम्टा नाचमार्फत चित्रसेन बाबाको आह्वान गरेर गरिएको समितिका अध्यक्ष आसाराम महतोले बताए ।
चित्रसेन बाबालाई थारू राजा तथा भगवान् विष्णुको अवतारका रूपमा पुज्ने धार्मिक मान्यता छ । थारू समुदायले प्राचीनकालदेखि देवताका रूपमा श्रद्धापूर्वक पूजाआजा गर्दै आएका चित्रसेन बाबा पछिल्लो समय सबै समुदायको आस्थाको केन्द्र बनेका छन् ।
मौखिक इतिहासमा चित्रसेन बाबाको नामबाट चितवन जिल्लाको नामकरण भएको जनविश्वाससमेत छ । हरेक वर्ष कार्तिक शुक्ल हरिबोधनी एकादशीका दिन चित्रसेन बाबाको थान परिसरमा मेला लाग्ने गर्दछ । एकादशीको अघिल्लो साँझदेखि भोलिपल्ट साँझसम्म दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । यहाँ टाढाटाढाबाट भक्तजन पूजा तथा दर्शनका लागि आउने गर्दछन् ।
बुढी राप्ती नदीमा स्नान गरी चित्रसेन बाबाको थानमा पूजा गर्ने चलन छ । यहाँ गुरौ थारू पुजारीबाट पूजा हुने मन्दिर र ब्रह्मस्थानसमेत रहेको छ । मन्दिर संरक्षण समितिका सचिव नरिश्वर पुरीले चित्रसेन बाबाको पूजा थारू संस्कृतिसँग जोडिएको भए पनि सबै समुदायका लागि उत्तिकै महत्त्पूर्ण रहेको बताए ।
विसं २०५९ देखि समितिमार्फत मेला सञ्चालन गर्न थालिएको उल्लेख गर्दै प्रशासनसँग अनुमति लिएर भड्काउ गतिविधि नगरी मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले मेला आयोजना हुँदै आएको उनले बताए ।
रत्ननगर नगरपालिका–८ का वडाध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक कृष्ण चौधरीले चित्रसेन मन्दिरमा लाग्ने एकादशी मेला महत्त्वपूर्ण रहेको बताए । पहिले थारू समुदायको मन्दिरका रूपमा रहेको चित्रसेन बाबा मन्दिर अहिले सबै समुदायको साझा आस्थाको स्थल बनेको उनले बताए ।
मन्दिरमा सोमबार आरती हुने गरेको र थारू पुजारीबाट दैनिक पूजा आराधना हुँदै आएको छ । एकादशी मेलासँग जोडिएर आउने राउन्ड बत्ती र रिङ हान्ने खेलको आकर्षणका कारण पनि मेलामा भक्तजन आउने गरेका छन् ।
विगतका वर्षमा राउन्ड बत्ती र रिङ हान्ने खेल सञ्चालन हुँदै आएकोमा यस वर्ष प्रशासनले सीमितता तोकेका कारण १३ राउन्ड बत्ती र पाँच रिङ हान्ने खेल मात्र सञ्चालन गरिने उनले बताए ।
मन्दिर परिसरको बाटोमा भीडभाड नहोस् भनेर यसपटक परिसरभित्रै मेला सञ्चालन गरिने उनले जानकारी दिए । हरिबोधनी एकादशीका दिन व्रत बसेर चित्रसेन बाबाको दर्शन तथा पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
व्रत बसेका तथा दर्शन गर्न आएका भक्तजनले मेलामा पाइने फलफूल, उखु, सखरखण्डलगायत सामग्री किनेर घर लैजाने चलन छ । चित्रसेन बाबा मन्दिरमा करिब १२–१३ वर्षदेखि पुजारीका रूपमा सेवा गर्दै आउनुभएका भरत महतोका अनुसार यस स्थानलाई गाउँको ब्रह्मथानका रूपमा मान्ने गरिन्छ । यहाँ दर्शन तथा पूजाआजा गर्न टाढाटाढाबाट भक्तजन आउने र दर्शनका लागि दिनभर लामो लाइन लाग्ने गरेको छ ।
चित्रसेन बाबाप्रति भक्तजनको गहिरो विश्वास रहेको उल्लेख गर्दै उनले यहाँ भाकल गर्दा निःसन्तानले सन्तान प्राप्त गरेको, दुःख हटेको तथा हराएका मानिस भेटिएकोजस्ता अनुभव भक्तजनले सुनाउने गरेका छन् ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















