मधेसमा राखीपर्व मनाइँदै

रासस


महोत्तरी । मधेसका महोत्तरीसहित विभिन्न आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई यहाँ ‘राखी’ भनिने गरिएको हो ।
यसपालिको राखीपर्व मध्याह्नपछि दिउँसो गरिनुपर्ने पुरोहितको भनाइ छ । आजको पूर्णिमा तिथिको ४७ घडी १९ पला भोगमध्ये सुरुका १९ घडी ४५ पलामा भद्रा करण परेका हुँदा सो कटाएर राखी बाँधिनुपर्ने पुरोहित बर्दिबास–२ का महेशकुमार झाले बताए । चन्द्रमास गणनामा तिथिको आधा भागलाई करण भनिन्छ । जम्मा ११ करणमध्ये भद्राको भोगभरि शुभकार्य शास्त्रले बर्जित गरेको हुँदा यो कटाएर आज राखी मनाइनुपर्ने उनले स्पष्ट पारे । आज भद्रा करणको भोग अपराह्न १ः३१ सम्म रहने हुँदा सो समय कटाएर राखी बाँधिनुपर्ने झाले स्पष्ट पारे ।
यस क्षेत्रका बजारमा रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र (राखी) किन्न मिथिलानी (मिथिलाका नारी)को भीड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेकाले मिठाइ पसल पनि आज एकाबिहानदेखि भरिभराउ छन् ।
पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइसँगैको घर आफ्नो भएकाले यिनीहरू घरमै पर्वको तयारीमा छन् । स–साना नानीहरूका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्छन् ।
मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ, दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्केका गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ । हिन्दू मैथिल परम्पराको यो पर्व अब पर्वते हिन्दूदेखि सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् । सबैतिर राखीपर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारु चहलपहल ह्वात्तै बढेको हो । मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै यो पर्वको तयारी देखिन्छ ।
पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्टान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभूषण र नगद दक्षिणा चेलीलाई दिने गर्दछन् । सनातन हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन् । रक्षाबन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने परम्परा छ । तर मिथिलामा पर्वको मुख्य आकर्षणचाहिँ दिदीबहिनीले बाँधिदिने राखीकै हुने गरेको भङ्गाहा–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली भाषा साहित्यका अध्यापक लीलानाथ गौतमले बताए ।
सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिबाट हारेका देवतालाई देवगुरु वृहष्पतिले बलिजस्तै बलवान् हुन आशीर्वाद दिँदै शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन बसेको विश्वास गरिन्छ । यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको यस क्षेत्रमा जनविश्वास छ ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















