Opens in a new tab

घोप्टेभीरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

नवलपुर टुडे

325Shares

सारांश

  • पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभीरमा जोखिमपूर्ण भाग झार्न अब थप तीन दिन लाग्ने भएको छ।
  • अप्ठेरो भूगोल र उच्च जोखिमका कारण दैनिक पाँच घण्टा (बिहान ११ देखि दिउँसो ४ बजेसम्म) सवारी रोकेर काम भइरहेको छ।
  • सडक बन्द रहेको समयमा चुम्लिङ्टार र कुरिन्टारबीचको डाहाकी खोला क्षेत्रमा समेत सडक चौडा पार्ने काम भइरहेको छ।
dida bag ad

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभीरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएका कारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो ।

गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ । उनले भने, “थप समस्या आएन भने अबको तीन दिनमा काम सक्ने लक्ष्य छ ।”

माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सवारी रोकेर काम गरिएको छ ।

निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट झण्डै १०० मिटर माथि डाँडामा मेसिन लगेर अहिले काट्ने काम भइरहेको छ । उनले भने, “निकै जोखिमपूर्ण काम भएकाले प्रगति ढिलो भएको छ ।”

मंगलबार मात्रै पनि माथिल्लो ढिस्को खसेर एक्साभेटर पुरेको थियो । पहिरो पन्छाएर पुनः स्काभेटरले काम गरिरहेको उनले जानकारी दिए । मिलेसम्म थप एउटा मेसिन माथि डाँडामा पठाउने तयारी गरिएको उनले बताए ।

यस्तै सडक बन्द भएको समयमा चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा समेत सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने भएकाले दुवै ठाउँमा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ ।