Opens in a new tab

जलवायु परिवर्तनले मेटाउँदै प्राचीनतम मानव कला, इन्डोनेसियाका हजारौँ वर्ष पुराना गुफाचित्र जोखिममा

एजेन्सी

325Shares

सारांश

  • इन्डोनेसियाको सुलावेसी टापुमा रहेका हजारौँ वर्ष पुराना प्राचीन गुफाचित्रहरू जलवायु परिवर्तन र ‘हेलोक्लास्टी’ नामक प्रक्रियाका कारण तीव्र रूपमा नष्ट भइरहेका छन्।
  • वैज्ञानिकहरूले नयाँ लेजर प्रविधिको प्रयोग गरी मुन टापुमा फेला परेको हातको छाप ६७ हजार ८०० वर्ष पुरानो, अर्थात् हालसम्मकै विश्वको सबैभन्दा पुरानो गुफाकला भएको पत्ता लगाएका छन्।
  • जलवायु परिवर्तनका साथै स्थानीय औद्योगिक गतिविधि, खानी उत्खनन र कृषि क्षेत्रको प्रभावले यी अमूल्य ऐतिहासिक कलाकृतिहरूको संरक्षणमा गम्भीर चुनौती थपिएको छ।
dida bag ad

बाली । मानव सभ्यताको प्रारम्भिक कलात्मक अभिव्यक्तिको प्रमाण मानिने हजारौँ वर्ष पुराना गुफाचित्र जलवायु परिवर्तनका कारण नष्ट हुने जोखिममा परेका छन् ।

इन्डोनेसियाको सुलावेसी टापुका चुनढुंगाका गुफामा रहेका प्राचीन चित्रहरू बढ्दो तापक्रम, अनियमित वर्षा, आद्र्रतामा परिवर्तन र लामो सुक्खा मौसमका कारण तीव्र गतिमा खिइँदै गएका छन् ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले गुफाभित्रको प्राकृतिक वातावरणमा फेरबदल ल्याउँदा चित्रहरू रहेका चट्टान फुट्ने, उप्किने र टुक्रिएर झर्ने क्रम बढेको छ ।

यी गुफाहरूमा भेटिएका चित्रमध्ये केही युरोपका प्रसिद्ध गुफाचित्रभन्दा हजारौँ वर्ष पुराना छन् । विश्वकै सबैभन्दा पुरानो ज्ञात गुफाकलामध्ये एक मानिने हातको छापसमेत यही क्षेत्रमा फेला परेको छ । तर, वैज्ञानिकहरूले ती चित्रहरू पूर्ण रूपमा अभिलेखीकरण गर्नुअघि नै नष्ट हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

इन्डोनेसियाका पुरातत्त्वविद् शिनात्रिया अधित्यतामा भन्छन्, ‘हामी अझै पनि यस्ता गुफाचित्रहरू फेला पारिरहेका छौँ, जसले प्रारम्भिक मानवको सांस्कृतिक तथा कलात्मक अभिव्यक्तिबारे हाम्रो बुझाइलाई आधारभूत रूपमै परिवर्तन गर्न सक्छन् । तर, हामीले पहिल्यै थाहा पाएका केही कलाकृतिहरूको पूर्ण अभिलेखीकरण र अध्ययन गर्न नपाउँदै ती हराउँदै गइरहेका छन् ।’

नुनका क्रिस्टलले चट्टान फुटाउँदै

इन्डोनेसियाका गुफाहरूमा जलवायु परिवर्तनको असर सामान्य तापक्रम वृद्धि वा वर्षाको परिवर्तनमा मात्र सीमित छैन । त्यहाँ चट्टानको क्षय नुनका क्रिस्टल बन्ने र फैलिने प्रक्रियाबाट पनि भइरहेको छ, जसलाई वैज्ञानिक भाषामा ‘हेलोक्लास्टी’ भनिन्छ ।

तापक्रम, आद्र्रता र पानीको उपलब्धतामा परिवर्तन हुँदा चुनढुंगाका छिद्रभित्र प्रवेश गरेको नुनयुक्त पानी सुक्ने क्रममा नुनका क्रिस्टल बन्ने गर्छन् । ती क्रिस्टलको आकार बढ्ने र घट्ने प्रक्रियाले चट्टानमा दबाब सिर्जना गर्छ । लामो समयसम्म यस्तो प्रक्रिया दोहोरिँदा चट्टान चर्किन्छ, पत्रपत्र रूपमा उप्किन्छ र अन्ततः टुक्रिएर झर्छ । यससँगै हजारौँ वर्ष पुराना चित्रहरू पनि नष्ट हुन सक्छन् ।

सुलावेसीका गुफाहरूमा मनसुनको पानी सञ्चय, लामो सुक्खा मौसम, बढ्दो तापक्रम र आद्र्रतामा आउने उतारचढावले यस्तो क्षय प्रक्रियालाई तीव्र बनाएको वैज्ञानिकहरूको भनाइ छ ।

६७ हजार ८०० वर्ष पुरानो हातको छाप

इन्डोनेसियाको सुलावेसी र आसपासका टापुमा ५०० भन्दा बढी गुफाचित्र स्थल फेला परेका छन् । यहाँका चित्रहरूले प्राचीन मानवको जीवनशैली, शिकार, सामाजिक सम्बन्ध, सांस्कृतिक चेतना र कलात्मक क्षमताबारे जानकारी दिन्छन् ।

सुलावेसीमा भेटिएका चित्रमध्ये तीन मानव आकृति र जंगली सुँगुरको चित्र समावेश भएको दृश्य कम्तीमा ५१ हजार २०० वर्ष पुरानो मानिन्छ । यसलाई मानव इतिहासको सबैभन्दा पुरानो कथामा आधारित कलामध्ये एक मानिएको छ । त्यस्तै, स्थानीय जंगली सुँगुरको चित्र कम्तीमा ४५ हजार ५०० वर्ष पुरानो छ भने शिकार दृश्य करिब ४३ हजार ९०० वर्ष पुरानो रहेको अनुमान गरिएको छ ।

सन् २०२६ को जनवरीमा वैज्ञानिकहरूले मुन टापुमा भेटिएको हातको छाप कम्तीमा ६७ हजार ८०० वर्ष पुरानो भएको घोषणा गरेका थिए । यो हालसम्म पहिचान भएको विश्वकै सबैभन्दा पुरानो गुफाकला मानिएको छ । यसले स्पेनमा भेटिएको निएन्डरथल मानवको हातको छापलाई पछि पारेको छ, जुन कम्तीमा ६४ हजार ८०० वर्ष पुरानो मानिएको थियो ।

यस खोजले प्राचीन मानवको कलात्मक क्षमता र उनीहरूको बसाइँसराइको इतिहासबारे स्थापित धारणालाई समेत पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

नयाँ प्रविधिले पुराना कलाको उमेर पत्ता लगायो

पहिले पुरातत्त्वविद्हरूले गुफाचित्रको उमेर पत्ता लगाउन चित्रमाथि जमेको खनिज तहको विश्लेषण गर्ने गर्थे । तर त्यस विधिमा विभिन्न तहका खनिज मिसिने भएकाले चित्रको वास्तविक न्यूनतम उमेरभन्दा कम उमेर देखिने समस्या थियो ।

सन् २०२१ मा अस्ट्रेलियाको सदर्न क्रस विश्वविद्यालयका अनुसन्धानकर्ता रेना जोआनेस–बोयाउको नेतृत्वमा रहेको टोलीले लेजर प्रविधिको प्रयोग गरी खनिजका सबैभन्दा पुराना तहलाई छुट्याएर विश्लेषण गर्ने नयाँ विधि विकास गर्‍यो । यसले गुफाचित्रको उमेर अझ सटीक रूपमा निर्धारण गर्न मद्दत गरेको छ ।

यसै प्रविधिको प्रयोगबाट मुन टापुको हातको छाप ६७ हजार ८०० वर्ष पुरानो भएको निष्कर्ष निकालिएको हो । प्रारम्भमा यो नतिजाप्रति केही युरोपेली पुरातत्त्वविद्हरूले शंका व्यक्त गरे पनि अनुसन्धान टोलीले प्राप्त तथ्यांक विश्वसनीय रहेको दाबी गरेको छ ।

रेना जोआनेस–बोयाउले भन्छन्, ‘हामी यति आश्चर्यचकित भयौँ कि नतिजा सही हो भन्ने सुनिश्चित गर्न परीक्षण केही पटक दोहोर्‍याउनुपर्‍यो ।’ विश्वका अन्य भागमा पनि गुफाचित्रहरू प्राकृतिक क्षय र विकास निर्माणका दबाबबाट प्रभावित भएको उनी स्विकार्छन् । तर, थप भन्छन्, ‘यति पुराना कलाकृति जलवायुको दृष्टिले यति सक्रिय वातावरणमा रहेको अर्को देश छैन ।’

जलवायु परिवर्तनसँगै मानवीय गतिविधि पनि चुनौती

प्राचीन गुफाचित्र नष्ट हुनुमा जलवायु परिवर्तनसँगै मानवीय गतिविधि पनि जिम्मेवार देखिएको छ । गुफा आसपासका औद्योगिक गतिविधि, खानी उत्खनन, कृषि, माछापालन तथा पानी व्यवस्थापनमा हुने परिवर्तनले गुफाभित्रको तापक्रम, आद्र्रता र प्राकृतिक वातावरण प्रभावित बनाइरहेको छ ।

स्थानीय खानीबाट आउने धुलो तथा उत्खननका क्रममा उत्पन्न कम्पनले समेत चट्टान र चित्रमा क्षति पुर्‍याउन सक्ने अनुसन्धानकर्ताहरूको चिन्ता छ ।

अधित्यतामाका अनुसार गुफाचित्रको क्षति हजारौँ वर्ष लाग्ने प्राकृतिक भूगर्भीय प्रक्रियाका कारण मात्र भइरहेको छैन । कतिपय ठाउँमा पाँच महिनाभन्दा कम अवधिमा गरिएको अनुगमनमा हातको आकारका चट्टानका टुक्रा चित्रसहित हराएको पाइएको छ । यसले क्षयको गति निकै तीव्र भएको देखाउँछ ।

अधित्यतामा भन्छन्, ‘संरक्षणका उपाय अपनाउनुअघि क्षय कसरी भइरहेको छ भन्ने बुझ्नु अत्यावश्यक छ । साथै, कृषि विकास, पानी व्यवस्थापन र यी गुफाको आसपासको सूक्ष्म जलवायुबीचको सम्बन्धलाई पनि अझ राम्रोसँग बुझ्न आवश्यक छ ।’

यद्यपि, उनले जलवायु परिवर्तन अझ ठूलो चुनौती भएको बताउँछन्, ‘स्थानीय जोखिमहरूलाई सफलतापूर्वक व्यवस्थापन गरे पनि विश्वव्यापी तापक्रम वृद्धि र वर्षाको स्वरूपमा भइरहेको परिवर्तनले यी वातावरणलाई निरन्तर प्रभावित पारिरहनेछ ।’

दक्षिण सुलावेसीको मारोस–पाङ्केप चुनढुंगा क्षेत्रलाई इन्डोनेसियाले सन् २०२५ मा युनेस्को विश्व सम्पदा सूचीमा समावेश गर्न प्रस्ताव गरेको थियो । यो क्षेत्र सयौँ गुफा र प्राचीन कलाकृतिका लागि प्रसिद्ध छ ।

संरक्षणका लागि के गर्न सकिन्छ ?

वैज्ञानिकहरूले गुफाभित्रको तापक्रम, आद्र्रता, पानीको मात्रा, नुनका क्रिस्टल र चट्टानको अवस्थाको नियमित अनुगमन गर्नुपर्ने सुझाव दिएका छन् । संरक्षणका उपाय अपनाउनुअघि क्षयको वास्तविक कारण बुझ्नु आवश्यक रहेको उनीहरूको भनाइ छ । कृषि विस्तार, पानी व्यवस्थापन र गुफाको आसपासको वातावरणबीचको सम्बन्धबारे पनि अध्ययन गर्नुपर्ने देखिएको छ ।

तर स्थानीय स्तरमा संरक्षणका उपाय अपनाए पनि विश्वव्यापी जलवायु परिवर्तनको असर रोक्न कठिन हुने वैज्ञानिकहरू बताउँछन् । तापक्रम वृद्धि र वर्षाको स्वरूपमा परिवर्तन जारी रहे गुफाहरूको प्राकृतिक वातावरण प्रभावित भइरहनेछ ।

त्यसैले गुफाचित्रको उच्च गुणस्तरको तस्बिर, थ्रीडी स्क्यान र डिजिटल अभिलेख तयार पार्नुपर्नेमा अनुसन्धानकर्ताहरूले जोड दिएका छन् । अधित्यतामाका भन्छन्, ‘म हाम्रो कामलाई समयसँगको दौडका रूपमा वर्णन गर्छु । चुनौती सबैभन्दा पुराना गुफाचित्रहरू पत्ता लगाउनु मात्र होइन, यो असाधारण सांस्कृतिक सम्पदा भावी पुस्ताका लागि पनि सुरक्षित रहोस् भन्ने सुनिश्चित गर्नु हो ।’

जोआनेस–बोयाउले पनि जलवायु परिवर्तनको व्यापक दबाब हटाउन नसकिने स्वीकार गर्दै भौतिक क्षति रोक्ने प्रयाससँगै यी चित्रहरूको विस्तृत अभिलेखीकरण उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् ।