Opens in a new tab

डब्ल्यूएचओ प्रमुखद्वारा क्युबामाथिको अमेरिकी इन्धन नाकाबन्दी हटाउन आग्रह

एजेन्सी

325Shares

सारांश

  • विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले क्युबामाथि लगाइएको अमेरिकी इन्धन नाकाबन्दी हटाउन आग्रह गरेका छन्।
  • अमेरिकी प्रतिबन्धका कारण क्युबाली स्वास्थ्य प्रणालीमा गम्भीर असर परेको र सन् २०२५ मा औसत आयु घटेर ७४.४ वर्षमा पुगेको छ।
  • डब्ल्यूएचओले क्युबाको राष्ट्रिय खोप कार्यक्रम र स्वास्थ्य संस्थाहरूलाई सुदृढ बनाउन २० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
dida bag ad

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले क्युबामाथि अमेरिकाले लगाएको इन्धन नाकाबन्दी हटाउन आग्रह गरेका छन् ।

अमेरिकी प्रतिबन्धका कारण क्युबाको स्वास्थ्य प्रणालीमा इन्धन, औषधि र स्वास्थ्य उपकरणको अभाव बढ्दै गएको तथा सर्वसाधारणको जीवन जोखिममा परेको उनले बताएका छन् ।

मंगलबार क्युबाको भ्रमणका क्रममा टेड्रोसले इन्धन प्रतिबन्ध र आर्थिक नाकाबन्दीले विशेषगरी बालबालिका तथा कमजोर अवस्थामा रहेका नागरिकलाई प्रत्यक्ष असर गरिरहेको बताएका हुन् । तीनदिने भ्रमणका क्रममा उनले राजधानी हवानाका विभिन्न स्वास्थ्य संस्थाको अवलोकन गरेका थिए ।

टेड्रोसले संयुक्त राष्ट्रसंघमार्फत क्युबाको राष्ट्रिय खोप कार्यक्रमलाई सुदृढ बनाउन र स्वास्थ्य संस्थाहरूलाई अत्यावश्यक चिकित्सा उपकरण उपलब्ध गराउन २० लाख अमेरिकी डलर सहयोग गरिने घोषणा गरेका छन् ।

‘इन्धन प्रतिबन्ध र आर्थिक नाकाबन्दीलाई थप कडा बनाउँदा क्युबाली जनतालाई प्रत्यक्ष क्षति भइरहेको छ । विशेषगरी सबैभन्दा कमजोर अवस्थामा रहेका नागरिक बढी प्रभावित छन्,’ टेड्रोसले भनका छन् ।

उनले मंगलबार क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलसँग भेट गरी देशको स्वास्थ्य आवश्यकताबारे छलफल गरेका थिए ।

‘हामीले विशेषगरी बालबालिकाका लागि अत्यावश्यक स्वास्थ्य सेवा र समयमै गर्नुपर्ने उपचारलाई प्राथमिकता दिनुपर्ने विषयमा सहमति गरेका छौँ,’ टेड्रोसले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

उनका अनुसार इन्धन प्रतिबन्ध र चिकित्सा सामग्री खरिदमा लगाइएका आर्थिक प्रतिबन्धले दशकौँदेखि क्युबाली चिकित्सकहरूले निर्माण गरेको स्वास्थ्य प्रणालीलाई गम्भीर असर पुर्‍याइरहेको छ ।

स्वास्थ्य प्रणालीमा गम्भीर संकट

संयुक्त राष्ट्रसंघले क्युबामा बढ्दो मानवीय संकटबारे पटक–पटक चेतावनी दिँदै आएको छ । उसले अमेरिकी नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानुन र क्युबाली नागरिकको मानव अधिकारविरुद्धको कदम भन्दै आलोचना गरेको छ ।

क्युबाली सरकारका अनुसार अमेरिकी प्रतिबन्धका कारण देशमा दैनिक २० घण्टा वा त्योभन्दा लामो विद्युत् कटौती भइरहेको छ । औषधि, शल्यक्रियाका लागि आवश्यक सामग्री तथा स्वास्थ्य उपकरणको अभाव गम्भीर बनेको छ । स्वास्थ्य सूचकहरूमा समेत गिरावट आएको सरकारले बताएको छ ।

डब्ल्यूएचओ प्रमुख टेड्रोसले पत्रकार सम्मेलनमा क्युबाको औसत आयु घटेको तथ्य पनि सार्वजनिक गरेका छन् । उनका अनुसार सन् २०२० मा ७८.८ वर्ष रहेको औसत आयु सन् २०२५ मा घटेर ७४.४ वर्षमा पुगेको छ । सन् १९५० देखि तथ्यांक राख्न थालिएयता क्युबामा औसत आयु घटेको यो पहिलोपटक हो ।

तर सन् २०२५ को यो तथ्यांक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनवरीमा इन्धन नाकाबन्दी र क्युबाका विभिन्न अधिकारी तथा संस्थामाथि थप कडा प्रतिबन्ध लगाउनुअघिको हो ।

अमेरिकी प्रतिबन्धको उद्देश्य राजनीतिक परिवर्तन

अमेरिकाले क्युबामाथि लगाइएको ऊर्जा नाकाबन्दीको उद्देश्य त्यहाँ राजनीतिक परिवर्तन गराउनु रहेको बताउँदै आएको छ । अमेरिकी पक्षले खाद्यान्न र औषधिको निर्यातमा कानुनी छुट रहेको दाबी गर्छ ।

तर क्युबाली सरकार र संयुक्त राष्ट्रसंघले प्रतिबन्धले देशको अर्थतन्त्र, स्वास्थ्य सेवा र जनजीवनमा गम्भीर असर पारिरहेको बताउँदै आएका छन् ।

क्युबामाथिको अमेरिकी आर्थिक नाकाबन्दी अन्त्य गर्न संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ देखि हरेक वर्ष प्रस्ताव पारित गर्दै आएको छ । उक्त प्रस्ताव बाध्यकारी नभए पनि अधिकांश देशले नाकाबन्दी अन्त्यको पक्षमा मतदान गर्दै आएका छन् । यसले क्युबामाथिको अमेरिकी प्रतिबन्धविरुद्ध अन्तर्राष्ट्रिय समर्थन व्यापक रहेको देखाउँछ ।