म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

रासस

सारांश
- कालीगण्डकी नदी जलाधार क्षेत्रमा नदी नियन्त्रण, बस्ती संरक्षण तथा सिँचाइ आयोजना सञ्चालन गर्न म्याग्दीको बेनीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना गरिएको छ।
- यस कार्यालयको कार्यक्षेत्रमा म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङसहित कालीगण्डकी र मादीखोलाले छोएका विभिन्न जिल्लाहरू समेटिएका छन्।
- यसअघि पोखराबाट सञ्चालन हुँदै आएका नदी नियन्त्रण र बस्ती संरक्षणसम्बन्धी कार्यक्रमहरू अब बेनीस्थित नयाँ कार्यालयबाटै कार्यान्वयन हुनेछन्।

म्याग्दी । कालीगण्डकी नदी जलाधार क्षेत्रका विभिन्न जिल्लामा नदी नियन्त्रण, बस्ती संरक्षण तथा सिँचाइ आयोजना सञ्चालन गर्ने उद्देश्यले म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना गरिएको छ ।
बेनीको शिक्षामार्गमा सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यालय स्थापना गरिएको हो । कार्यालयमार्फत कालीगण्डकी नदी आसपासका क्षेत्रमा बस्ती संरक्षण, नदी नियन्त्रण तथा सिँचाइ योजना निर्माण र मर्मतसम्भारका आयोजना सञ्चालन गरिने इन्जिनियर नरजङ्ग गुरुङले जानकारी दिए ।
कार्यालयको कार्यक्षेत्रमा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका साथै कालीगण्डकी नदीले छोएका गुल्मी, स्याङ्जा, तनहुँ, कास्कीको मादीखोला र नवलपुरका केही क्षेत्र रहेका छन् ।
एक जना वरिष्ठ डिभिजनल इन्जिनियरको नेतृत्वमा तीन जना इन्जिनियर, तीन जना सब इन्जिनियर तथा एक–एक जना लेखा अधिकृत, नायब सुब्बा, कार्यालय सहयोगी र सवारी चालकको दरबन्दी रहेको छ ।
यसअघि धौलागिरि क्षेत्रमा नदी नियन्त्रण र बस्ती संरक्षणसम्बन्धी आयोजना पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयमार्फत कार्यान्वयन हुँदै आएका थिए । उक्त कार्यालयबाट सञ्चालन हुँदै आएका बेनी बजार संरक्षणलगायत थप आयोजना तथा कार्यक्रमसमेत अब बेनीस्थित नयाँ कार्यालयमार्फत सञ्चालन हुनेछन् ।
विभाग र मन्त्रालयबाट कार्यक्रम तथा बजेट हस्तान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजना प्रमुख प्रेमहरी पराजुलीले बताए । बेनीको शिक्षामार्गमा भाडाको घरमा कार्यालय स्थापना गरिएको उनले जानकारी दिए ।
म्याग्दीमै कार्यालय स्थापना भएपछि नदी नियन्त्रण तथा बस्ती संरक्षणसम्बन्धी आयोजना छनोट, कार्यान्वयन र मर्मतसम्भारका योजना व्यवस्थित गर्न सहज हुने जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले बताइन् ।
यसअघि बेनीमा गत कात्तिक महिनामा सङ्घीय सरकारको पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको थियो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पनि पुनः स्थापना गर्ने पहल भइरहेको जिल्ला समन्वय समितिका प्रमुख खत्रीले जानकारी दिइन् । विसं २०८२ मा उक्त कार्यालय पोखरामा गाभिएपछि बेनीमा इकाई मात्र राखिएको थियो ।

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिकको मृत्यु

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
अरुपनि पढ्नुहोस
सबै
म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तराईसहित यी स्थानमा आज लाग्नेछ हुस्सु र कुहिरो

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद, कञ्चनपुरमा कोटा बढाउन माग
















