Opens in a new tab

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिकको मृत्यु

एजेन्सी

325Shares

सारांश

  • युक्रेनमाथिको रुसी आक्रमणमा हालसम्म कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको नयाँ तथ्याङ्क विश्लेषणले देखाएको छ।
  • युद्धको ठूलो असर रुसी युवाहरू र साइबेरियाका तुलनात्मक रूपमा गरिब तथा पिछडिएका क्षेत्रका बासिन्दामा परेको छ।
  • रुसी सेनामा आबद्ध विदेशी नागरिक तथा उत्तर कोरियाली सैनिकहरू पनि ठूलो संख्यामा युद्धमा मारिएका छन्।
dida bag ad

काठमाडौँ । युक्रेनमाथि रुसले सन् २०२२ मा सुरु गरेको पूर्णस्तरको आक्रमणमा हालसम्म कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको दाबी गरिएको छ ।

रुसी सरकारी तथ्यांकको विश्लेषण गर्दै बीबीसीले सार्वजनिक गरेको विवरणअनुसार युद्धमा मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ ।

रुसले युद्धमा मारिएका सैनिकको आधिकारिक संख्या सार्वजनिक गरेको छैन । दुई वर्षअघि रुसको सरकारी तथ्यांक निकाय रोसस्टाटले बाह्य कारणबाट हुने मृत्युको विवरण सार्वजनिक गर्नसमेत बन्द गरेको थियो । यसअघि उक्त तथ्यांकबाट युद्धमा मारिएका सैनिकको संख्या अनुमान गर्न सकिन्थ्यो ।

तर, बेलारुसको साइबर समूह साइबर पार्टिजन्स बीवाई र युक्रेनको ‘साइलेंट क्रो’ले ह्याक गरेर प्राप्त गरेको तथ्यांक बीबीसी रुसी सेवाले प्राप्त गरेको थियो । जसको विश्लेषण गरेर युद्धमा मारिएका सैनिकको संख्या अनुमान गरिएको हो ।

रोसस्टाटले साइबर आक्रमण भएको स्वीकार गरे पनि सुरक्षित तथा गोप्य सूचना चुहावट भएको भने अस्वीकार गरेको छ ।

बीबीसी रुसी सेवा र स्वतन्त्र रुसी सञ्चारमाध्यम मिडियाजोनाले सरकारी तथ्यांकलाई युद्ध सुरु भएदेखि खुला स्रोतबाट संकलन गरेको सैनिक मृत्युको सूचीसँग तुलना गरेका छन् । उनीहरूले सरकारी अभिलेखका करिब ९० प्रतिशत विवरण आफ्नै सूचीसँग मेल खाएको पाएका छन् ।

कसरी निकालियो करिब पाँच लाख मृत्युको अनुमान ?

रोसस्टाटको चुहिएको तथ्यांकमा मृतकको नाम खुलाइएको छैन । तर उमेर, स्थायी बसोबास, मृत्यु भएको स्थान र मृत्युको परिस्थितिजस्ता विवरण समावेश छन् । ती विवरणका आधारमा युद्धमा मारिएका सैनिकको संख्या छुट्याइएको हो ।

बीबीसीको विश्लेषणले विभिन्न आधारमा मृत्युका अभिलेख पहिचान गरेको छ ।

– ४ लाख २५ हजार १७४ जनाः विस्फोट, छर्रा वा युद्ध अभियानका क्रममा मृत्यु भएको स्पष्ट उल्लेख भएका अभिलेख ।

– १४ हजार ९३ जनाः रोजगारीसम्बन्धी विवरणका आधारमा सैनिकसँग सम्बन्धित मृत्यु पहिचान गरिएका व्यक्ति ।

– ५१ हजार ६७ जनाः अदालतको निर्णयका आधारमा मृत घोषित व्यक्ति । युद्ध क्षेत्रमा बेपत्ता भएको र छ महिनाभन्दा बढी समयसम्म अवस्था पत्ता नलागेको सैनिकलाई अदालतले मृत घोषित गर्ने अवस्था यसमा समावेश हुन सक्छ ।

नागरिकको मृत्यु सैनिकको तथ्यांकमा नपरोस् भनेर महिलालाई तथा १८ देखि ६५ वर्ष उमेर समूहबाहिरका पुरुषलाई हटाइएको छ । रुसले कब्जा गरेका युक्रेनका चार क्षेत्रमा बस्ने र त्यहीँ मृत्यु भएका व्यक्तिलाई सैनिक सेवासम्बन्धी प्रमाण नभएसम्म नागरिक हुन सक्ने भन्दै गणनाबाट हटाइएको छ ।

यसरी विभिन्न अभिलेख जोड्दा कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको अनुमान गरिएको हो ।

युवामाथि युद्धको ठूलो असर

युद्धले रुसका युवा उमेर समूहलाई ठूलो असर पारेको तथ्यांकले देखाउँछ । सन् २०२५ मा युद्धमा मारिएका १८ देखि २४ वर्ष उमेर समूहका रुसीमध्ये ६५ प्रतिशतको मृत्यु युद्धका कारण भएको थियो । २५ देखि ३४ वर्ष उमेर समूहमा यो हिस्सा ५९ प्रतिशत रहेको छ ।

४५ देखि ५४ वर्ष उमेर समूहमा भने युद्धभन्दा मुटु तथा रक्तसञ्चारसम्बन्धी रोगका कारण बढी मृत्यु भएको देखिएको छ ।

युद्धको पहिलो वर्ष मारिएका रुसी सैनिकको औसत उमेर ३४ वर्ष थियो । सन् २०२५ सम्म आइपुग्दा कैदी तथा करारमा भर्ती भएका सैनिकको संख्या बढेसँगै मृतकको औसत उमेर ४० वर्ष पुगेको बीबीसीको विश्लेषणले देखाएको छ । बीबीसीले आफ्नै खुला स्रोतमा आधारित सूचीमा भने औसत उमेर ३८ वर्ष पाएको छ ।

साइबेरियाका गरिब क्षेत्र सबैभन्दा बढी प्रभावित

रुसका पूर्वी साइबेरियाका तुलनात्मक रूपमा गरिब क्षेत्रबाट भर्ती भएका सैनिकको मृत्यु अनुपात असमान रूपमा उच्च रहेको छ ।

तुभा, बुरियातिया र जाबाइकाल्स्की क्राइ क्षेत्रका पुरुष युद्धमा मारिने सम्भावना मस्को र सेन्ट पिटर्सबर्गका बासिन्दाको तुलनामा २० देखि २५ गुणासम्म बढी रहेको बीबीसीको विश्लेषणमा उल्लेख छ ।

युद्धमा मृत्यु भएका सैनिकको संख्या क्षेत्रअनुसार हेर्दा रुसको आर्थिक असमानता र भर्तीको ढाँचासँग पनि जोडिएको देखिन्छ । राजधानी तथा ठूला सहरभन्दा पिछडिएका क्षेत्रबाट युद्धमा बढी मानवीय क्षति भइरहेको तथ्यले युद्धको भार समान रूपमा वितरण नभएको संकेत गर्छ ।

युक्रेनका साना गाउँ कब्जा गर्न भएको युद्धमा समेत ठूलो संख्यामा रुसी सैनिक मारिएको तथ्यांकले देखाएको छ । युद्धअघि १२ हजार जनाको संयुक्त जनसंख्या रहेका युक्रेनका १० गाउँ नियन्त्रणमा लिन मात्रै करिब २० हजार रुसी सैनिकको मृत्यु भएको अनुमान छ ।

डोनेत्स्क क्षेत्रको बाख्मुत दक्षिणमा रहेको आन्द्रेइभ्का नामक सानो गाउँ कब्जाका क्रममा मात्रै १ हजार १२२ रुसी सैनिक मारिएका थिए । युद्धअघि उक्त गाउँमा ७४ जना मानिस बसोबास गर्थे ।

विदेशी नागरिक र उत्तर कोरियाली सैनिक पनि युद्धमा मारिए

रुसका लागि लड्दा मृत्यु भएका विदेशी नागरिकको संख्या पनि उल्लेख्य रहेको तथ्यांकले देखाएको छ । रोसस्टाटको अभिलेख विश्लेषणअनुसार कम्तीमा ५ हजार १७ विदेशी नागरिक रुसी सेनामा लड्दा मारिएका छन् ।

मृतक विदेशीमध्ये १ हजार ३१ जना उज्बेकिस्तानका र ७२० जना ताजिकिस्तानका नागरिक रहेको बीबीसीले जनाएको छ । दोहोरो नागरिकता भएका व्यक्तिलाई रुसी नागरिकका रूपमा अभिलेख गरिएको हुन सक्ने भएकाले विदेशी मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान छ । उत्तर कोरियाली सैनिकको मृत्यु भने यो गणनामा समावेश छैन ।

बीबीसीले सन् २०२४ मा रुसभित्र युक्रेनी सेनाको आक्रमण रोक्न परिचालित उत्तर कोरियाली सैनिकमध्ये २ हजार ३०४ जनाको मृत्यु भएको पहिचान गरेको जनाएको छ । प्योङयाङमा निर्माण गरिएको नयाँ स्मारकका भूउपग्रह तस्बिर र आधिकारिक तस्बिर विश्लेषण गरेर उक्त संख्या निकालिएको बताइएको छ ।

बीबीसी र मिडियाजोनाले खुला स्रोत, सरकारी सूचना, सामाजिक सञ्जालका पोस्ट, नयाँ स्मारक र चिहानका विवरणबाट पुष्टि गरेको रुसी सैनिक मृत्युको संख्या २ लाख ९० हजार १२ पुगेको छ ।

तर, सबै मृत्यु सार्वजनिक नहुने भएकाले वास्तविक संख्या योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । सैन्य विशेषज्ञहरूले खुला स्रोतबाट पुष्टि भएको उक्त संख्या वास्तविक मृत्युको ४५ देखि ५५ प्रतिशत मात्रै हुन सक्ने आकलन गरेका छन् । त्यस आधारमा रुसको युद्धमा मृत्यु हुने सैनिकको वास्तविक संख्या ५ लाख २७ हजार २९५ देखि ६ लाख ४४ हजार ४७१ सम्म हुन सक्ने अनुमान छ ।

चार वर्ष १० महिनासम्म लम्बिएको युद्धका लागि यो संख्या निकै ठूलो मानिएको छ । सन् १९८९ मा समाप्त भएको अफगानिस्तानमा सोभियत युद्धसँग तुलना गर्दा पनि रुसले अहिले ठूलो मानवीय क्षति बेहोरेको देखिन्छ ।

युक्रेनतर्फ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२६ को जुलाईमा आफ्ना करिब ५० हजार सैनिक मारिएको बताएका थिए । तर, ‘यूए लसेस’ नामक वेबसाइटले खुला स्रोतमा आधारित सूचीमा युक्रेनी सैनिक मृत्यु संख्या १ लाख १५ हजार ९५२ देखाएको छ ।