सुन्तलाले फेरिँदै सलकपुरको पर्यटन र अर्थतन्त्र

रासस

सारांश
- इलामको रोङ गाउँपालिका–६ सलकपुरमा ९० हेक्टर क्षेत्रफलमा गरिएको व्यावसायिक सुन्तला खेतीबाट वार्षिक तीनदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
- सुन्तलाका बगान अवलोकन गर्न, ताजा फलको स्वाद लिन र तस्बिर खिच्न आन्तरिक तथा भारतीय पर्यटकहरूको आवागमन दिनप्रतिदिन बढ्दै गएको छ।
- यहाँ उत्पादित सुन्तला स्थानीय बजारसँगै भारतका विभिन्न सहरहरूमा बिक्रीका लागि जाने गरेको छ भने गाउँमा सञ्चालित घरबासले पर्यटकहरूलाई आकर्षित गरेका छन्।

झापा । इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ । सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन तथा ताजा सुन्तलाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।
पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यतिबेला बगानमा लटरम्म फलेका सुन्तला पाकेर पहेँलपुर बनेका छन् । सुन्तलाको स्वाद लिन, बोटबाटै टिपेर खान तथा बगानमा तस्बिर खिच्न आन्तरिक र भारतीय पर्यटक यहाँ पुग्ने गरेका छन् ।
वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक करिब एक सय पर्यटक आउने गरेका छन् । वडा कार्यालयको अनुमानअनुसार यहाँ वार्षिक औसत ४५० देखि ६०० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । मौसम अनुकूल र रोगकिराको प्रकोप कम भएका वर्ष उत्पादन अझ बढ्ने गरेको छ ।
सुन्तला बिक्रीबाट मात्रै यहाँ वार्षिक रु तीन करोडदेखि चार करोडसम्म आम्दानी हुने गरेको छ । गाउँका एक सयभन्दा बढी घरपरिवार सुन्तला खेतीमा संलग्न छन् । रोगका कारण पुराना बोट मरेपछि नयाँ बगान विस्तार गर्ने क्रम पनि बढेको छ ।
यहाँ उत्पादित सुन्तला स्वादिलो र रसिलो भएकाले बोटबाटै बिक्री हुने गरेको छ । झापाको काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरका बजारमा यहाँको सुन्तला पुग्ने गरेको छ । सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा पनि सलकपुरको सुन्तलाका रूपमा यसको प्रचार गरी बिक्री गरिँदै आएको छ ।
इलाम, झापा, मोरङ र सुनसरीका पर्यटकसँगै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक आउन थालेका छन् । स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा सञ्चालित घरबासमा शुक्रबार र शनिबार पाहुनाको चाप बढ्ने गरेको छ ।
सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन् । खड्काका अनुसार बजारमा सुन्तलाको मूल्य प्रतिकिलो रु २१० देखि रु २२० सम्म रहेकामा बगानमै पुग्ने पर्यटकले प्रतिकिलो रु १३० मा ताजा सुन्तला किन्न पाउँछन् । पर्यटकसँगै व्यापारी पनि सिधै बगानमा पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।
शुक्रबार र शनिबार निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा तथा सवारीसाधनबाट पर्यटकको आवागमन बढ्ने गरेको छ । झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट समेत गरी ती दिनमा ३०० देखि ५०० पर्यटक सलकपुर पुग्ने गरेको खड्काले बताए ।
उहाँले पनि १० रोपनी जमिनमा सुन्तला बगान लगाउनुभएको छ । यस वर्ष विगतका तुलनामा सुन्तला उत्पादन राम्रो भएको उहाँको भनाइ छ । बगानमा रमाउन आउने पर्यटकले सुन्तलाको स्वाद लिनुका साथै नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकनसमेत गर्ने गरेका छन् ।
विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले सलकपुरमा सुरु गरेको सुन्तला खेतीले अहिले व्यावसायिक रूप लिएको छ । सुरुमा दार्जिलिङबाट ल्याइएका बिरुवा रोपिएको भए पनि अहिले पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन् ।
सलकपुर, कुवापानी र जौबारी क्षेत्र सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादनका लागि पनि परिचित छन् । यहाँ उत्पादित सुन्तला प्रत्येक वर्ष भारतको कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि समेत लगिने गरिएको छ ।

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिकको मृत्यु

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
अरुपनि पढ्नुहोस
सबै
म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तराईसहित यी स्थानमा आज लाग्नेछ हुस्सु र कुहिरो

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद, कञ्चनपुरमा कोटा बढाउन माग
















