स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

नवलपुर टुडे

सारांश
- उत्तर कोरियाले स्विट्जरल्यान्डका कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ।
- स्विस अधिकारीहरूले उत्तर कोरियाली बाल शिविरलाई प्रतिबन्धको सूचीमा राखेपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो।
- उक्त शिविरमा रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रका बालबालिकालाई प्रभावित पार्ने गतिविधिमा सहयोग गरेको आरोप लगाइएको छ।

काठमाडौँ । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । स्विट्जरल्यान्डले उत्तर कोरियाली बाल शिविरमाथि प्रतिबन्ध लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार विदेश मन्त्रालयले एस्टियरलाई अवाञ्छित व्यक्ति घोषणा गर्दै देश छाड्न निर्देशन दिएको हो ।
उत्तर कोरियाले वोनसानस्थित सोङडोवन अन्तर्राष्ट्रिय बाल शिविरलाई प्रतिबन्धको सूचीमा राख्ने स्विस अधिकारीहरूको निर्णयलाई आफ्नो कदमको कारण बताएको छ । उक्त शिविरमा रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रबाट ल्याइएका बालबालिकालाई प्रभावित पार्ने गतिविधिमा सहयोग गरेको आरोप लाग्दै आएको छ ।
यसअघि मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले स्विट्जरल्यान्डको निर्णयको निन्दा गर्दै प्योङयाङस्थित कूटनीतिक कार्यालय बन्द गर्ने चेतावनी दिएकी थिइन् । उक्त शिविरमा चिनियाँ र रुसी बालबालिकाले समेत सहभागिता जनाउँदै आएका छन् ।
उत्तर कोरियासँग वार्ता र कूटनीतिक सम्बन्ध कायम राख्ने सीमित पश्चिमी मुलुकमध्ये स्विट्जरल्यान्ड पनि एक हो । स्विस विदेशमन्त्रीले केही साताअघि उत्तर कोरियाको भ्रमण गरी दुई देशबीचको सम्बन्ध सामान्य बनाउने विषयमा छलफल गरेका थिए ।
उत्तर कोरियास्थित स्विस कूटनीतिक कार्यालयले बेइजिङस्थित स्विट्जरल्यान्डको दूतावासलाई प्रतिवेदन बुझाउँदै आएको छ । उक्त दूतावासले नै उत्तर कोरियासँगका कूटनीतिक तथा कन्सुलर सम्बन्धसम्बन्धी काम सम्हाल्दै आएको छ ।

हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिकको मृत्यु

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना
अरुपनि पढ्नुहोस
सबै
बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तराईसहित यी स्थानमा आज लाग्नेछ हुस्सु र कुहिरो

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद, कञ्चनपुरमा कोटा बढाउन माग

सुन्तलाले फेरिँदै सलकपुरको पर्यटन र अर्थतन्त्र
















