सागसब्जी, बिरुवा र च्याउखेतीबाट मनग्य आम्दानी, व्यावसायिक कृषिमा आकर्षित हुँदै किसान

नवलपुर टुडे

सारांश
- कञ्चनपुरका किसानहरू अन्नबालीको तुलनामा सागसब्जी, बिरुवा उत्पादन र च्याउखेतीबाट बढी आम्दानी हुन थालेपछि व्यावसायिक कृषितर्फ आकर्षित भएका छन्।
- भीमदत्त नगरपालिकाका वीरबहादुर खड्काले तीन बिघा जग्गामा तरकारी खेती गरी वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् भने दमन चन्दले नर्सरी व्यवसायबाट वार्षिक १५ लाख बचत गर्दै आएका छन्।
- पार्वती थापा र ७५ वर्षीय अर्जुनबहादुर डाँगीले पनि च्याउ र तरकारी खेतीबाट राम्रो आम्दानी गरी आफ्ना परिवारको खर्च धान्दै आत्मनिर्भर बनेका छन्।

कञ्चनपुर। अन्नबालीखेतीको तुलनामा सागसब्जीबाट बढी आम्दानी हुन थालेपछि कञ्चनपुरका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । सागसब्जीखेती, बिरुवा उत्पादन र च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरूले कृषिलाई नै मुख्य पेसा बनाउन थालेका हुन् ।
भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले एक कट्ठा जग्गामा रु ५०० लगानी गरेर सागसब्जीखेती सुरु गरेका थिए । पहिलो उत्पादन बिक्रीबाट रु १० हजार आम्दानी भएपछि उनले खेती विस्तार गर्दै लगे । विसं २०७२ देखि व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका खड्काले अहिले तीन बिघा जग्गामा विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएका छन् ।
सागसब्जीखेतीबाट हुने आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च धान्न सहज भएको उनको भनाइ छ । सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको उनले बताए । यही आम्दानीबाट रु २० लाख खर्च गरेर एक छोरालाई विदेश पठाएको, घर बनाएको र खेतीका लागि तीन वटा मोटरसाइकल तथा ५० प्रतिशत अनुदानमा अटो किनेको उनले जानकारी दिए ।
त्यसैगरी, भीमदत्त नगरपालिका–४ गोबरियाका दमन चन्दले रु ५० हजार लगानीमा सुरु गरेको बिरुवा उत्पादन व्यवसाय विस्तार गरी वार्षिक रु ६० लाखसम्मको कारोबार गर्ने अवस्थामा पुर्याएका छन् । एक दशकअघि सुरु गरेको व्यवसायबाट सबै खर्च कटाएर वार्षिक रु १५ लाखसम्म बचत हुने गरेको उनले बताए ।
पहिले कुटानीपिसानी मिल सञ्चालन गर्दै आएका चन्दले विद्युत् र कामदारको समस्या तथा ऋणको भार बढ्दै गएपछि नर्सरी व्यवसाय सुरु गरेका हुन् । अहिले उनले आफ्नै आधा बिघा र भाडामा लिएको डेढ बिघा जग्गामा फलफूल तथा घर सजावटका बिरुवा उत्पादन गर्दै आएका छन् । उनको नर्सरीमा ४५ प्रकारका बिरुवा उपलब्ध छन् । प्रतिगोटा रु २०० देखि रु १० हजारसम्मका बिरुवा बिक्री हुने गरेको उनले बताए ।
श्रीमान् गुमाएपछि घरखर्च चलाउन अरूसँग पैसा माग्नुपर्ने अवस्था आएपछि भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापाले पनि आत्मनिर्भर बन्न कृषि व्यवसाय रोजिन् । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी थापाले अहिले पाँच वटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन् ।
अरूसँग पैसा माग्नुभन्दा आफैँ काम गरेर आत्मनिर्भर बन्ने सोचले च्याउखेती सुरु गरेको उनले बताइन् । च्याउखेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशत नाफा हुने गरेको उनको भनाइ छ । च्याउ बिक्रीबाट घरखर्च र दुई छोराको पढाइ खर्च धानिएको उनले बताइन् । च्याउ बिक्रीबाट भएको नाफा पुनः खेतीमा लगानी गर्दै आएकी थापाले वार्षिक एक हजार ५०० केजी च्याउ बिक्रीबाट करिब रु दुई लाख आम्दानी गर्ने गरेको जानकारी दिइन् ।
कृषि उद्यम गर्न उमेरले छेक्दैन भन्ने उदाहरण भीमदत्त नगरपालिका–११ भुजेलाका ७५ वर्षीय अर्जुनबहादुर डाँगी हुन् । पूर्वप्रहरी डाँगीले २०५४ सालमा प्रहरी सहायक निरीक्षक पदबाट राजीनामा दिएर घर फर्किएपछि सागसब्जीखेती सुरु गरेका थिए ।
सुरुमा १०० ग्राम धनियाको बीउ लगाएका उनले पहिलो उत्पादन बिक्रीबाटै रु एक हजार २०० आम्दानी गरेका थिए । त्यसपछि धनियासँगै मौसमी तथा बेमौसमी सागसब्जीखेती विस्तार गर्दै गए । अहिले पाँच कट्ठा जग्गामा आलु, लसुन, काउली, बन्दा, रायो र धनियालगायत सागसब्जी उत्पादन गर्दै आएका डाँगीले खेतीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए ।

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिकको मृत्यु

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
अरुपनि पढ्नुहोस
सबै
म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तराईसहित यी स्थानमा आज लाग्नेछ हुस्सु र कुहिरो

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद, कञ्चनपुरमा कोटा बढाउन माग
















