Opens in a new tab

फोन ह्याकिङदेखि क्षेप्यास्त्रसम्म : मोदीपछि पनि भारत–इजरायल रणनीतिक सम्बन्ध किन बलियो रहन्छ ?

एजेन्सी

325Shares

सारांश

  • भारतीय कांग्रेसका नेता राहुल गान्धीले गाजामा इजरायलको युद्धको आलोचना गरे पनि इजरायलसँगको बलियो रणनीतिक तथा सैन्य सम्बन्धको समर्थन गरेका छन्।
  • भारत र इजरायलबीच सैन्य हतियार, निगरानी प्रविधि, ड्रोन उत्पादन र साइबर सुरक्षा उपकरणसम्बन्धी साझेदारी मोदी सरकारअघि नै सुरु भएर हाल गहिरिँदै गएको छ।
  • विश्लेषकहरूका अनुसार यो सम्बन्ध वैचारिक समानताभन्दा पनि भारतको सुरक्षा आवश्यकता, हतियार खरिदमा सहजता र रणनीतिक स्वार्थमा आधारित छ।
dida bag ad

काठमाडौँ । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला तीन वर्षदेखि गाजामा इजरायलले गरेको युद्धको निन्दा गर्दै आएको छ । उसले नरेन्द्र मोदी नेतृत्वको सरकार इजरायलको युद्धलाई नरसंहारका रूपमा स्वीकार गर्दै आलोचना गर्नबाट पन्छिएको आरोप लगाउँदै आएको छ ।

तर, कांग्रेसका नेता राहुल गान्धीले गत साता एक अन्तर्वार्तामा इजरायलप्रति आफ्नो धारणा स्पष्ट पार्दै युद्धको आलोचना गरे पनि इजरायलसँग बलियो सम्बन्धको समर्थन गरेका थिए ।

‘म इजरायलसँग बलियो सम्बन्धको समर्थन गर्छु । हाम्रा रणनीतिक स्वार्थहरू छन्, जसमा सशस्त्र सेनाका लागि उत्कृष्ट हतियार खरिद गर्नु पनि पर्छ,’ गान्धीले भनेका थिए ।

उनको उक्त अभिव्यक्तिले कांग्रेसका केही सहयोगी दल, विशेषगरी वामपन्थी दलहरूबाट आलोचना निम्त्याएको थियो । तर, विश्लेषकहरूका अनुसार यसले भारत र इजरायलबिचको रणनीतिक साझेदारी कति गहिरो छ भन्ने देखाउँछ ।

मोदी नेतृत्वको भाजपा सरकारका पालामा सम्बन्ध तीव्र रूपमा विस्तार भए पनि यसको जग पुराना सरकारहरूले समेत निर्माण गरेका थिए । त्यसैले मोदीको सरकार परिवर्तन भए पनि यो सम्बन्ध कायम रहने सम्भावना बलियो रहेको विश्लेषकहरू बताउँछन् ।

  • निगरानी प्रविधिदेखि सैन्य हतियारसम्म

भारतले पछिल्लो समय इजरायलबाट सैन्य हतियार, निगरानी प्रविधि, प्रहरी प्रणाली र साइबर ह्याकिङसम्बन्धी उपकरण प्राप्त गर्दै आएको छ । यसले दुवै देशलाई एकअर्कासँग गहिरो रूपमा जोडेको छ, जसलाई राजनीतिक नेतृत्व परिवर्तनले फरक पार्ने छैन ।

यसै महिना इन्टरनेट फ्रिडम फाउन्डेसन (आईएफएफ) नामक गैरनाफामूलक संस्थाले गरेको अनुसन्धानअनुसार भारतका गृहमन्त्री अमित शाहले इजरायलबाट फोन ह्याक गर्ने प्रविधि खरिद गर्न भारतकै नियम सच्याएका थिए ।

भारतमा यसअघि पनि यस्ता घटना सार्वजनिक भएका थिए । सन् २०१९ मा ह्वाट्सएपले इजरायलको एनएसओ समूहले विकास गरेको पेगासस स्पाइवेयर प्रयोग गरी भारतीय पत्रकार र मानवअधिकारकर्मीहरूलाई निशाना बनाइएको खुलासा गरेको थियो ।

एमनेस्टी इन्टरनेसनलले पछि पत्रकार सिद्धार्थ वरदराजन र आनन्द मङ्गनालेका फोनमा उक्त स्पाइवेयर सङ्क्रमण भएको पुष्टि गरेको थियो । भारत सरकारले भने अनधिकृत निगरानी गरेको आरोप अस्वीकार गरेको थियो ।

अनुसन्धानकर्ता आजाद एसाका अनुसार भारत र इजरायलबिचको सहकार्यमा लामो समयदेखि गुप्तचर संकलन, सीमा व्यवस्थापन र असहमति दबाउने उपायहरूमा इजरायली अभ्यासको अध्ययन तथा प्रयोग हुँदै आएको छ ।

उनी भन्छन्, ‘इजरायली उत्पादन वा विधिहरू भारतीय नागरिक, किसानलगायत आफ्नै जनताविरुद्ध प्रयोग हुने अवस्था आउनु समयको कुरा मात्र थियो ।’

भारतको हरियाणा राज्यमा पनि सरकारले इजरायली प्रहरी तथा सेनाको रणनीति अपनाउन छ वर्षसम्म प्रयास गरेको थियो । सन् २०२४ फेब्रुअरीमा दिल्ली जान लागेका किसानहरूको आन्दोलनमा प्रहरीले ड्रोन प्रयोग गरेर अश्रुग्यास प्रहार गरेको थियो ।

  • सैन्य उद्योगमा गहिरिँदो साझेदारी

सन् २०१४ देखि भारत इजरायलको सबैभन्दा भरपर्दो हतियार खरिदकर्ता बनेको छ । इजरायलको कुल हतियार निर्यातमध्ये करिब ३७ प्रतिशत भारतले खरिद गर्ने गरेको छ ।

यो साझेदारीमा भारतीय अर्बपति गौतम अडानी नेतृत्वको अडानी समूहको पनि महत्त्वपूर्ण भूमिका छ ।

सन् २०१६ मा अडानी समूहले इजरायली कम्पनी एल्बिट सिस्टम्ससँग मिलेर हैदराबादमा हर्मेस ९०० ड्रोन उत्पादन गर्ने संयुक्त कम्पनी स्थापना गरेको थियो । इजरायलबाहिर यस्तो उत्पादन केन्द्र पहिलोपटक स्थापना गरिएको थियो ।

सन् २०२० देखि अडानी समूहले इजरायल वेपन इन्डस्ट्रिजसँग मिलेर नेगेभ मेसिनगनका पार्टपुर्जा उत्पादन गर्ने बीएलआर सिस्टम्समा ५१ प्रतिशत हिस्सेदारी लिएको छ । त्यस्तै, सन् २०२३ जनवरीमा अडानी र इजरायलको गाडोट समूहले १.१५ अर्ब अमेरिकी डलरमा हाइफाको बन्दरगाह खरिद गरेका थिए ।

विश्लेषकहरूका अनुसार भारत इजरायली कम्पनीहरूको उत्पादन तथा आपूर्ति केन्द्रका रूपमा विकसित हुँदै छ ।

तर, नेदरल्यान्ड्सको लिडेन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक निकोलस ब्लारेलले हैदराबादमा इजरायली ड्रोनको मुख्यतः अन्तिम चरणको जडान मात्र हुने गरेको र प्रविधि पूर्ण रूपमा हस्तान्तरण भएको स्पष्ट नभएको बताएका छन् ।

एमनेस्टी इन्टरनेसनलको सन् २०२५ जुलाई ३० मा प्रकाशित प्रतिवेदनले सन् २०२३ अक्टोबर ७ देखि २०२५ नोभेम्बर ३० सम्म भारतीय कम्पनीहरूबाट इजरायलमा हतियार, गोलीगठ्ठा र सैन्य सामग्रीका २ हजार ५९६ खेप पठाइएको उल्लेख गरेको छ ।

तीमध्ये नौ कम्पनी पहिचान गरिएका थिए, जसमा तीनवटा भारतको रक्षा मन्त्रालयको पूर्ण स्वामित्वमा रहेका कम्पनी थिए ।

  • भारतले इजरायलबाट किन हतियार किन्छ ?

विश्लेषकहरूका अनुसार भारतका लागि इजरायलको आकर्षण केवल प्रविधि होइन, हतियार खरिदमा लगाइने न्यूनता सर्तहरू पनि हो ।

भारतले पश्चिमा देशबाट हतियार खरिद गर्दा कतिपय अवस्थामा प्रविधि, सफ्टवेयर वा स्रोत कोडमा पहुँच नपाउने र आफूले बनाएका प्रणालीसँग जोड्न नपाउने हुन्छ । तर इजरायलले भारतलाई हतियार प्रणालीमा आवश्यक परिमार्जन गर्न र भारतीय उपकरणसँग मिलान गर्न सहयोग गर्ने गरेको छ ।

अमेरिकाबाट खरिद गरिएका एमक्यू–९ ड्रोनमा प्रयोगसम्बन्धी प्रतिबन्ध हुने गरेको भए पनि इजरायली ड्रोन पाकिस्तानसँगको सीमामा भारतले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्ने विश्लेषक कबिर तनेजाको भनाइ छ ।

सन् १९९९ को कारगिल युद्धका बेला भारतले परमाणु परीक्षणपछि अन्य देशबाट हतियार आपूर्तिमा प्रतिबन्ध सामना गर्नुपरे पनि इजरायलले स्पेयर पाट्र्स र गोलाबारुद आपूर्ति जारी राखेको थियो । त्यसैले भारतले इजरायललाई विश्वसनीय रक्षा साझेदारका रूपमा लिने गरेको छ ।

  • सम्बन्धको आधार विचारधारा कि रणनीतिक स्वार्थ ?

भारत–इजरायल सम्बन्ध विचारधाराबाट प्रभावित छ वा रणनीतिक स्वार्थबाट भन्ने विषयमा विश्लेषकहरूबीच मतभेद छ । केहीले हिन्दुत्व र यहुदी राष्ट्रवादबीचको वैचारिक समानताले सम्बन्ध बलियो बनाएको बताउँछन् । तर, अर्काथरीले भारतको सुरक्षा आवश्यकता र हतियार खरिदमा सहजताले साझेदारी अघि बढाएको तर्क गर्छन् ।

भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का संस्थापकहरूले इजरायललाई राष्ट्र निर्माणको नमुनाका रूपमा हेरेका थिए । भाजपा र आरएसएसको हिन्दुत्व विचारधारा भारतलाई हिन्दू बहुसंख्यक राष्ट्रका रूपमा स्थापित गर्न चाहन्छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि भारतमा इजरायलप्रति ठूलो समर्थन रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन् ।

तर विश्लेषक तनेजाका अनुसार भारत–इजरायल सम्बन्ध मुख्यतः लेनदेनमा आधारित छ । भारतलाई सुरक्षा चुनौती सामना गर्न आवश्यक उपकरण र प्रविधि उपलब्ध गराउने साझेदार चाहिएको छ । फ्रान्सले पनि समान सुविधा उपलब्ध गराए भारतले त्यसलाई रोज्न सक्ने उनको तर्क छ ।

  • मोदीअघि नै सुरु भएको सम्बन्ध

भारत र इजरायलबिचको रणनीतिक सम्बन्ध मोदी प्रधानमन्त्री हुनुअघि नै सुरु भएको थियो । भारतले सन् १९४७ मा प्यालेस्टाइन विभाजन योजनाको विरोध गरेको थियो र सन् १९४९ मा इजरायललाई संयुक्त राष्ट्रसंघ सदस्य बनाउने प्रस्तावविरुद्ध मतदान गरेको थियो । तर सन् १९५० मा इजरायललाई मान्यता दिएको थियो । त्यसपछि चार दशकभन्दा बढी समय औपचारिक दूतावास स्थापना नगरी बम्बईमा इजरायली वाणिज्य दूतावास मात्र सञ्चालन गर्न अनुमति दिएको थियो ।

यस अवधिमा भारत र इजरायलबीच सैन्य सहयोग भने जारी रह्यो । सन् १९६२ मा चीनसँगको युद्धका बेला इजरायलले भारतलाई गोप्य रूपमा मोर्टार र उजी सबमेसिन गन उपलब्ध गराएको थियो । सन् १९६५ मा भारत र पाकिस्तानबीच युद्ध हुँदा अमेरिका र बेलायतले हतियार आपूर्ति रोक्दा इजरायलले भारतलाई मोर्टार दिएको थियो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धका बेला इजरायलले इरानका लागि छुट्याइएका हतियार भारततर्फ पठाएको थियो ।

भारत सन् १९७४ मा प्यालेस्टाइन मुक्ति संगठनलाई मान्यता दिने पहिलो गैरअरब देश बनेको थियो र सन् १९८८ मा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको थियो । इजरायलसँग पूर्ण कूटनीतिक सम्बन्ध भने सन् १९९२ मा कांग्रेस सरकारकै पालामा स्थापना भएको थियो ।

सन् २००६ मा भारत र इजरायलबीच ३५० मिलियन अमेरिकी डलरको बराक–८ क्षेप्यास्त्र रक्षा प्रणाली विकास सम्झौताले सम्बन्धलाई हतियार खरिदबाट संयुक्त विकासतर्फ अघि बढाएको थियो ।

  • मोदीपछि अझ खुला र सार्वजनिक सम्बन्ध 

मोदी सन् २०१४ मा प्रधानमन्त्री बनेपछि भारत–इजरायल सम्बन्ध अझ खुला र सार्वजनिक बन्यो । यसअघि भारतले इजरायलबाट हतियार खरिद गर्दा गोप्य भ्रमण र पहिचान नखुल्ने जहाज प्रयोग गर्ने गरेको थियो । मोदी सरकार आएपछि यस्तो गोपनीयता कम भयो ।

सन् २०१७ मा मोदी इजरायल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री बने । उनी सन् २०२६ फेब्रुअरीमा पुनः इजरायल पुगेका थिए । भारतले गाजामा इजरायलको युद्धप्रति आफ्नो नीति, प्यालेस्टाइनको समर्थन र रक्षा साझेदारीबीच सन्तुलन कायम गर्न खोजिरहेको छ ।

भारतले औपचारिक रूपमा दुई राष्ट्र समाधानको समर्थन गर्दै आए पनि इजरायललाई हतियार आपूर्ति, अन्तर्राष्ट्रिय अदालतमा नरसंहार मुद्दामा सहभागी नहुनु, हतियार प्रतिबन्ध समर्थन नगर्नु र देशभित्र प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि नियन्त्रण गर्नुजस्ता कदमले उसको नीतिमाथि प्रश्न उठाएको विश्लेषकहरू बताउँछन् ।

  • भारतको बदलिँदो आर्थिक र रणनीतिक भूमिका

भारतको अर्थतन्त्र अहिले करिब चार ट्रिलियन अमेरिकी डलरको आकारमा पुगेको छ । आर्थिक शक्ति बढेसँगै उसले अन्तर्राष्ट्रिय दबाब सहन सक्ने क्षमता पनि बढेको विश्लेषकहरू बताउँछन् । भारतले आफ्नो व्यापार, सुरक्षा र सैन्य आवश्यकता पूरा गर्न जुन देशले सहयोग गर्छ, त्यससँग सम्बन्ध विस्तार गर्ने नीति अपनाउन थालेको छ ।

गाजामा इजरायलको युद्धका क्रममा भारतले हतियार आपूर्ति गरेको विषयले अन्तर्राष्ट्रिय आलोचना निम्त्याएको छ । संयुक्त राष्ट्रसंघीय अनुसन्धान आयोगले गाजामा दुई वर्षको युद्ध अवधिमा कम्तीमा २० हजार १७९ प्यालेस्टिनी बालबालिका मारिएको उल्लेख गर्दै नरसंहारमा संलग्न हुन सक्ने हतियार आपूर्ति रोक्न देशहरूलाई आग्रह गरेको थियो । इजरायलले उक्त प्रतिवेदन पूर्ण रूपमा अस्वीकार गरेको थियो ।

भारत–इजरायल सम्बन्धले रक्षा र रणनीतिक स्वार्थलाई प्राथमिकता दिएको देखिए पनि यसको नैतिक र राजनीतिक मूल्यबारे बहस जारी छ । कांग्रेस नेता सलमान खुर्शिदले इजरायलसँगको रक्षा सम्बन्ध बुझ्न सकिने भए पनि त्यसमा स्पष्ट सीमारेखा र नियन्त्रण आवश्यक रहेको बताएका छन् । उनी भन्छन्, ‘यो संसार पूर्ण छैन । हामीले केही सम्झौता गर्नुपर्छ ।’