बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि

एजेन्सी

सारांश
- बङ्गलादेशमा गार्मेन्ट कामदारको लामो वार्तापछि न्यूनतम मासिक ज्याला ३६ प्रतिशतले वृद्धि गरी १७ हजार टाका पुर्याइएको छ।
- महँगी बढेको भन्दै कामदारले ३० हजार टाकाको माग गरे पनि बोर्डको बहुमतले नयाँ ज्याला प्रस्तावलाई अनुमोदन गरेको छ।
- निरन्तरको विरोध प्रदर्शनका कारण उद्योगले ठूलो आर्थिक नोक्सानी बेहोरेपछि मजदुर प्रतिनिधिले कामदारलाई काममा फर्कन आग्रह गरेका छन्।

ढाका । बङ्गलादेशमा गार्मेन्ट उद्योगका कामदारले लामो वार्तापछि न्यूनतम मासिक ज्याला ३६ प्रतिशत वृद्धि गर्न सहमति जुटाएका छन् । बुधबार भएको सम्झौताअनुसार कामदारको न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढेर १७ हजार टाका पुगेको छ ।
चीनपछि विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेशमा अक्टोबरदेखि कामदारले तलब वृद्धि माग गर्दै व्यापक प्रदर्शन गर्दै आएका थिए । सम्झौतापछि मजदुर प्रतिनिधिहरूले कामदारलाई कारखानामा फर्कन आग्रह गरेका छन् ।
कामदारले सुरुमा न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका अर्थात् करिब २४० अमेरिकी डलर पुर्याउन माग गरेका थिए । खाद्यान्न, आवास, यातायात र स्वास्थ्य सेवाको बढ्दो खर्च धान्न विद्यमान तलब अपर्याप्त रहेको उनीहरूको भनाइ थियो ।
सरकारद्वारा गठित गार्मेन्ट उद्योगको ज्याला बोर्डका अध्यक्ष न्यायाधीश सैयद आजाद सुभानीले बुधबार बिहान भएको मतदानमा बहुमतले १७ हजार टाकाको न्यूनतम ज्याला प्रस्तावलाई समर्थन गरेको जानकारी दिए । नयाँ ज्याला करिब १३९ अमेरिकी डलर बराबर हुनेछ ।
बङ्गलादेश गार्मेन्ट उत्पादक तथा निर्यातकर्ता सङ्घका अनुसार विरोध प्रदर्शनका कारण उद्योगले करिब चार करोड २८ लाख अमेरिकी डलर बराबरको नोक्सानी बेहोरेको छ । त्यस्तै, दुई करोड ५४ लाख अमेरिकी डलर बराबरका अर्डर अन्य देशमा सरेका छन् ।
क्रिसमसको व्यस्त व्यापारिक मौसम नजिकिँदै गर्दा भएको अवरोधले उद्योगलाई थप असर पुर्याएको छ । फ्रुट अफ द लुम र लेवी स्ट्रसजस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डलाई कपडा आपूर्ति गर्ने बङ्गलादेशको गार्मेन्ट उद्योगले वार्षिक करिब तीन हजार ८०० करोड अमेरिकी डलर आम्दानी गर्छ । यस उद्योगले देशको कुल निर्यात आम्दानीको पाँच भागमध्ये चार भाग ओगट्दै आएको छ ।

पत्रकार महासंघ सप्तरीद्वारा सामूहिक गिरफ्तारी आन्दोलन

नेपालमै उत्पादित खसीबोका भारत निर्यात, नेपाली मासु पसल बन्द हुने अवस्थामा

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

फोन ह्याकिङदेखि क्षेप्यास्त्रसम्म : मोदीपछि पनि भारत–इजरायल रणनीतिक सम्बन्ध किन बलियो रहन्छ ?

डब्ल्यूएचओ प्रमुखद्वारा क्युबामाथिको अमेरिकी इन्धन नाकाबन्दी हटाउन आग्रह
अरुपनि पढ्नुहोस
सबै
पत्रकारमाथि सामूहिक गिरफ्तारी र धरपकड गरिएको विरोधमा

सागसब्जी, बिरुवा र च्याउखेतीबाट मनग्य आम्दानी, व्यावसायिक कृषिमा आकर्षित हुँदै किसान

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय
















