Opens in a new tab

दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि

नवलपुर टुडे

325Shares

सारांश

  • दक्षिण कोरियामा करिब एक दशकको अन्तरालमा पहिलो पटक चाङ्गवोन सहरमा एक व्यक्तिमा हैजाको सङ्क्रमण पुष्टि भएको छ।
  • सङ्क्रमित व्यक्तिले हालै विदेश भ्रमण नगरेको पाइएकाले स्वास्थ्य अधिकारीहरूले रोगको स्रोत र सम्पर्कमा आएकाहरूको खोजी सुरु गरेका छन्।
  • सरकारले दूषित पानी तथा खानाबाट फैलिने यस रोगबाट बच्न सुरक्षित खानेपानी पिउन र सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
dida bag ad

सोल । दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार दक्षिणपूर्वी बन्दरगाह सहर चाङ्गवोनमा बान्ता र पखालाको लक्षण देखिएपछि अस्पताल पुगेका एक व्यक्तिमा हैजा पुष्टि भएको हो । ती व्यक्ति उपचारपछि मङ्गलबार निको भएर घर फर्किसकेका छन् । उनले पछिल्लो दुई महिनामा विदेश यात्रा नगरेको पाइएको छ । सङ्क्रमणको स्रोत र उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको एजेन्सीले जनाएको छ ।

सन् २०१६ पछि दक्षिण कोरियामा हैजा पुष्टि भएको यो पहिलो घटना हो । सन् २००१ मा भएको ठूलो प्रकोपमा कम्तीमा १६२ जना सङ्क्रमित भएका थिए ।

हैजा दूषित पानी र खानाबाट फैलिने रोग हो । सङ्क्रमित व्यक्तिको दिसा वा बान्ताको सम्पर्कबाट पनि सर्न सक्ने यस रोगले गम्भीर अवस्थामा शरीरमा पानीको कमी गराई ज्यानसमेत लिन सक्छ ।

स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी पिउन, खाना राम्ररी पकाएर खान तथा फलफूल र तरकारी धोएर प्रयोग गर्न आग्रह गरेका छन् । शङ्कास्पद बिरामीको तत्काल परीक्षण गरी सङ्क्रमणबारे जानकारी गराउन स्वास्थ्य संस्थाहरूलाई पनि निर्देशन दिइएको छ ।