चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट

एजेन्सी

सारांश
- चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच द्विपक्षीय व्यापार सम्बन्ध विस्तार गर्ने र भन्सार छुटको दायरा बढाउने सहमति भएको छ।
- चीनले क्यानडाबाट आयात हुने पोर्क तथा समुद्री खाद्य सामग्रीमा भन्सार सहुलियत दिने भएको छ भने क्यानडाले स्टिल र आल्मुनियममा दिँदै आएको छुटलाई दुई वर्ष थप गरेको छ।
- अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउने रणनीतिक, हरित अर्थतन्त्र र डिजिटल व्यापारमा सहकार्य बढाउने विषयमा समेत दुई नेताबीच छलफल भएको छ।

काठमाडौँ । चीन र क्यानडाले द्विपक्षीय व्यापार सम्बन्ध थप विस्तार गर्ने सहमति गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच मंगलबार चीनको सेन्जेनमा भएको भेटवार्तामा दुवै देशले व्यापार सहकार्य बढाउने र केही वस्तुमा भन्सार छुटसम्बन्धी दायरा विस्तार गर्ने सहमति गरेका हुन् ।
यसको बदलामा क्यानडाले चीनबाट आयात हुने केही स्टिल तथा आल्मुनियम उत्पादनमा दिँदै आएको भन्सार छुटसम्बन्धी व्यवस्था थप दुई वर्षका लागि विस्तार गर्ने भएको छ । उक्त व्यवस्था सन् २०२६ को अन्त्यमा समाप्त हुँदै थियो ।
प्रधानमन्त्री कार्नीले चीनसँगको सम्बन्धमा थप स्थिरता र पूर्वानुमान गर्न सकिने अवस्था विकास भएको बताएका छन् । उनले सन् २०३० को दशकको अन्त्यसम्म चीनतर्फ क्यानडाको निर्यात ५० प्रतिशतले बढाउने लक्ष्य राखिएको र त्यस दिशामा अपेक्षाभन्दा तीव्र गतिमा प्रगति भइरहेको पनि बताएका छन् ।
अमेरिकामाथिको अत्यधिक व्यापारिक निर्भरता घटाउने कार्नीको आर्थिक रणनीतिका लागि चीनसँगको व्यापार विस्तार महत्त्वपूर्ण मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाका विभिन्न उत्पादनमा उच्च भन्सार शुल्क लगाएपछि क्यानडाले अन्य बजारमा आफ्नो निर्यात विस्तार गर्ने प्रयास गरिरहेको छ ।
भेटवार्तामा राष्ट्रपति सीले गत जनवरीमा दुई देशबीच रणनीतिक साझेदारी अघि बढाउने सहमति भएपछि विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य पुनः सुरु भएको बताए । उनले व्यापार, ऊर्जा, कृषि र वित्तसँगै हरित अर्थतन्त्र, डिजिटल अर्थतन्त्र तथा ई–कमर्समा सहकार्य विस्तार गर्नुपर्ने प्रस्ताव अघि सारे ।
त्यस्तै, दुवै देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार र बहुपक्षीय व्यापार प्रणालीको संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ थियो । चीन र क्यानडाबीचको सञ्चार तथा सहकार्यले दुई देशका साथै एसिया–प्रशान्त क्षेत्र र विश्वलाई नै फाइदा पुग्ने पनि सीले बताएका छन् ।
सी र कार्नीबीच मंगलबार भएको भेट कार्नी प्रधानमन्त्री बनेपछि तेस्रो हो । यसअघि उनीहरू गत वर्ष दक्षिण कोरियामा आयोजित एपेक शिखर सम्मेलनका क्रममा पनि भेटेका थिए ।
पछिल्लो समय चीनले क्यानडाको तोरीको बीउ, तोरीको पिना, लब्स्टर, गंगटा र केराउमा समेत भन्सार सहुलियत विस्तार गरेको छ । सन् २०२६ मा चीनतर्फ क्यानडाको कच्चा तेल निर्यात अघिल्लो अवस्थाको तुलनामा करिब ३७ प्रतिशतले बढेको रोयटर्सले एलएसईजीको तथ्यांकका आधारमा गरेको गणनाले देखाएको छ ।
यद्यपि, चीनसँगको निकटताले क्यानडाको राष्ट्रिय सुरक्षा र लोकतान्त्रिक मूल्यमा असर पार्न सक्ने भन्दै सुरक्षा विश्लेषक तथा मानवअधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरूले हङकङका लोकतन्त्र समर्थक सञ्चार उद्यमी जिम्मी लाइको कारावास, गत वर्ष चार क्यानडेली नागरिकलाई चीनले मृत्युदण्ड दिएको घटना र क्यानडाका कम्तीमा दुई संघीय निर्वाचनमा चीनको हस्तक्षेप भएको गुप्तचर निकायको निष्कर्षलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
तर चीनले भने क्यानडाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने आफ्नो कुनै उद्देश्य नरहेको बताउँदै आएको छ ।

जापानी हवाई क्षेत्रमा रुसी विमान प्रवेश, लडाकू जेट परिचालन

आन्तरिक पर्यटकको रोजाइ बन्दै गुल्मीको रेसुङ्गा पार्क, ४० हजारभन्दा बढीले गरे अवलोकन

कोप–३१ को कभर डिसिजनमा नेपाल, भुटान र किर्गिजस्तानको पर्वतीय प्रस्ताव समावेश

जाडो बढेसँगै पूर्वी तराईमा तातो भक्काको व्यापार चम्कियो, गृहिणीलाई हिउँदको सहारा

मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प
अरुपनि पढ्नुहोस
सबै
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
















