Opens in a new tab

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

नवलपुर टुडे

295Shares

सारांश

  • पोखराको हेम्जामा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित मङ्सिर ५ र ६ गते दोस्रो संस्करणको ‘हेम्जा साहित्य महोत्सव’ आयोजना हुने भएको छ।
  • महोत्सवमा कविता, आख्यान, गैरआख्यान, गजल, मुक्तक वाचन तथा साहित्यिक पर्यटन र लोकसंस्कृतिका विषयमा विभिन्न विमर्श कार्यक्रमहरू समावेश गरिएका छन्।
  • उद्घाटन सत्रमा भाषासेवी मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरिने र महोत्सवमा सातै प्रदेशका स्रष्टा तथा करिब पाँच हजार दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।
dida bag ad

कास्की । गत वर्ष ‘काव्यनगरी’ घोषणा गरिएको पोखरा महानगरपालिका–२५ हेम्जामा दोस्रो संस्करणको ‘हेम्जा साहित्य महोत्सव’ को आयोजना गरिएको छ ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै हेम्जाको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले हेम्जा साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर ५ र ६ गते दुई दिने साहित्य महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा कविता, आख्यान, गैरआख्यान, गजल, मुक्तक, लघुकथा, साहित्यिक विमर्श, काव्यवाचन तथा पुस्तकमाथि परिचर्चा लगायत कार्यक्रम समावेश गरिने प्रतिष्ठानका अध्यक्ष सुनील गायकले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवको पहिलो दिन मङ्सिर ५ गते उद्घाटनपछि ‘कविता: अनुभूति र अभिव्यक्ति’ शीर्षकमा साहित्यिक कार्यक्रम हुनेछ । त्यसैगरी ‘काव्यनगरी हेम्जा: साहित्यिक पर्यटनको सम्भावना’, ‘सारङ्गीको सुसेली: लोकसंस्कृतिको धुन’ र ‘भजनमा हेम्जा’ शीर्षकमा विमर्श गरिनेछ ।

दोस्रो दिन ‘मढीमा सिर्जना: काव्यनगरी दर्शन’ कार्यक्रमसँगै साहित्यिक विमर्श, कविता, मुक्तक, लघुकथा र गजल वाचनका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन सत्रमा कवि एवं भाषासेवी मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरिनेछ । हेम्जामा जन्मिएर नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका उपाध्यायको योगदानको सम्मानस्वरूप अभिनन्दन ग्रन्थ अर्पण गर्न लागिएको अध्यक्ष गायकले बताए ।

गत वर्ष सम्पन्न पहिलो संस्करणमा ४१ जिल्लाका स्रष्टाको सहभागिता रहेको थियो । यस वर्ष सातै प्रदेशका साहित्यकार तथा सिर्जनाकर्मीको सहभागिता रहने अपेक्षा गरिएको प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायले बताए ।

महोत्सवमा अनुमानित पाँच हजार दर्शक सहभागी गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साहित्यिक गतिविधिसँगै हेम्जाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र पर्यटनको सम्भावनालाई महोत्सवसँग जोडिनेछ ।

यसअघि पहिलो साहित्य महोत्सवका अवसरमा हेम्जालाई ‘काव्यनगरी’ घोषणा गरिएको थियो । दोस्रो संस्करणले हेम्जाको साहित्यिक गरिमा, प्राकृतिक सौन्दर्य र सिर्जनात्मक सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउन र थप स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

पोखरा–२५ का वडाध्यक्षसमेत रहेका महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले साहित्यले सिञ्चित बनेको पोखरा र हेम्जालाई साहित्य महोत्सवले कला, सङ्गीतको संरक्षणमा सहयोग पुग्ने भएकाले कार्यक्रमलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

“साहित्य महोत्सव कुनै एउटा संस्था वा व्यक्तिको मात्र अभियान नभई हेम्जाको साहित्यिक पहिचान, सामाजिक गौरव र सांस्कृतिक समृद्धिसँग जोडिएको साझा अभियान हो । यहाँको माटोमा सिर्जनाका फूलहरु फूलुन्, साहित्यका स्वरहरु गुञ्जिउन् र काव्यनगरीको पहिचान देश विदेशसम्म फैलियोस् भन्ने सामूहिक सङ्कल्पसहित अगाडि बढ्नु आवश्यक छ”, वडाध्यक्ष तिमिल्सिनाले भने ।

अरुपनि पढ्नुहोस

सबै

१४९ रुपैयाँमा झर्‍यो अमेरिकी डलरको मूल्य

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे