सामूहिक फूलखेतीले दिलाएको सफलता…

नवलपुर टुडे

सारांश
- तनहुँको आँबुखैरेनीका किसानले यस वर्ष तिहारमा ११ लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गरेका छन्।
- असिना र वर्षाले २५ प्रतिशत क्षति पुर्याए पनि गत वर्षभन्दा यस वर्ष फूलको बिक्री एक लाख रुपैयाँले बढेको छ।
- यान्चोकटारका ४५ जना महिलाले ४५ रोपनी क्षेत्रफलमा सामूहिक व्यावसायिक फूलखेती गरी आर्थिक आत्मनिर्भरता हासिल गरेका छन्।

तनहुँ । तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन् । स्थानीयस्तरमै उत्पादन भएको सयपत्री फूलले बजार पाएपछि व्यावसायिक फूलखेतीमा आबद्ध किसान उत्साहित भएका छन् ।
आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटारका महिलाले यस वर्ष तिहारमा रु १० लाखको सयपत्री फूल बिक्री गरेका छन् । त्यसैगरी आँबुखैरेनी गाउँपालिका–२ र ३ का किसानले रु एक लाखको फूल बिक्री गरेका छन् ।
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार गत कात्तिक १३ र १४ गते परेको वर्षाका कारण फूलखेतीमा करिब २५ प्रतिशत क्षति पुगेको थियो । वर्षाले केही फूलमा क्षति पुर्याए पनि किसानले सोचेअनुसारकै आम्दानी गर्न सफल भएको उनले जानकारी दिए ।
यान्चोकटारका महिलाले गत वर्षको तिहारमा रु नौ लाख बराबरको फूल बिक्री गरेका थिए । यस वर्ष बिक्री रु एक लाखले बढेको छ । स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसानमा फूलखेती विस्तार गर्ने उत्साह थपिएको छ ।
महिला समूहकी अध्यक्ष सुन्तली गुरुङले तिहारमा आफूहरूले उत्पादन गरेको फूलले राम्रो बजार पाएपछि उत्साहित भएको बताइन् । तीन वर्षअघि सुरु गरेको व्यावसायिक फूलखेतीले अहिले राम्रो आम्दानी दिन थालेको उनको भनाइ छ ।
स्थानीय महिलाले सुरु गरेको सामूहिक सयपत्री फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । समूहमा ४५ जना महिला आबद्ध छन् । सामूहिक रूपमा गरिएको फूलखेती उनीहरूका लागि आम्दानीको स्रोत मात्रै नभई आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्ने माध्यम बनेको अध्यक्ष गुरुङले बताइन् ।
पहिले सामान्य खेतीपातीमा सीमित रहेका महिलाले समूह बनाएर फूलखेती सुरु गरेका थिए । सुरुमा सानो क्षेत्रफलबाट थालिएको खेतीले बजार पाउन थालेपछि उनीहरूले क्रमशः क्षेत्रफल विस्तार गर्दै लगेका हुन् ।
तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनले बजार पाउँदा किसानलाई बिक्रीको समस्या कम भएको छ । आफ्नै गाउँमा उत्पादन भएको फूल स्थानीय बजारमा खपत हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम भएको छ ।
वर्षाका कारण फूलखेतीमा क्षति भए पनि किसानले अपेक्षाअनुसार आम्दानी गर्नुलाई गाउँपालिकाले व्यावसायिक फूलखेतीको सकारात्मक उपलब्धिका रूपमा लिएको कृषि शाखा प्रमुख केसीले बताए ।
उनले भने, “स्थानीय महिलाको मेहनत, सामूहिक लगानी र बजारको मागले सयपत्री फूलखेतीलाई व्यावसायिक रूप दिन सहयोग पुगेको छ । यसले ग्रामीण क्षेत्रमा उपलब्ध जमिनको सदुपयोग गर्दै सामूहिक खेतीमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिने सम्भावनासमेत देखाएको छ ।”

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ
अरुपनि पढ्नुहोस
सबै
प्रस्तावित यौन हिंसासम्बन्धी विधेयकमा थप सुधारको आवश्यकता छ : सरोकारवाला

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड

दशौँ राष्ट्रिय खेलकुदका निम्ति आर्मीको फुटबल टोली सुर्खेतमा

मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो
















