मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

नवलपुर टुडे

सारांश
- हिन्दूहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा त्रिवेणीधाम आइपुगेर सम्पन्न भएको छ।
- रथयात्राको समापनसँगै नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाममा आजदेखि एक महिनासम्म चल्ने महायज्ञ औपचारिक रूपमा सुरु हुँदैछ।
- प्राकृतिक विपत्ति तथा विभिन्न कारणले दिवङ्गत भएका आत्माहरूको शान्ति र उद्धारका लागि पितृमुक्ति महायज्ञ आयोजना गरिएको हो।

चितवन । हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ ।
मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए ।
“देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ । उक्त जल गण्डकीमा अर्पण गर्नेछौँ”, प्रवक्ता प्रपन्नाचार्य भने । उनका अनुसार रथयात्राको स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ । महायज्ञको पहिलो दिन बिहान ८ः०० बजे गौशालामा सामूहिक गौपूजा, ९ः०० बजे गण्डकी पूजन र १०ः०० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए ।
कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्नेछ । त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ । बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको उनले बताए ।
मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान गरिने बताए। “प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएका आत्माहरूको उद्धार र शान्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको हो”, उनले भने। उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गरे ।


सामूहिक फूलखेतीले दिलाएको सफलता…

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
अरुपनि पढ्नुहोस
सबै
पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

प्रस्तावित यौन हिंसासम्बन्धी विधेयकमा थप सुधारको आवश्यकता छ : सरोकारवाला

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड
















