Opens in a new tab

आन्तरिक पर्यटकको रोजाइ बन्दै गुल्मीको रेसुङ्गा पार्क, ४० हजारभन्दा बढीले गरे अवलोकन

रासस

325Shares

सारांश

  • गुल्मीको रेसुङ्गा नगरपालिकामा निर्मित आकर्षक प्राकृतिक सौन्दर्य र पूर्वाधारयुक्त रेसुङ्गा पार्क आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा बनेको यस पार्कमा हालसम्म ४० हजारभन्दा बढी पर्यटकले अवलोकन गरिसकेका छन्।
  • पार्कमा भ्यूटावर, वनभोजस्थल लगायतका संरचनाका साथै जिपलाइन र स्काई साइकलिङ जस्ता साहसिक पूर्वाधार थपिएसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ।
dida bag ad

गुल्मी । हरियाली जङ्गल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यका कारण रेसुङ्गा पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

रेसुङ्गाको गर्जुरा क्षेत्रमा पार्क निर्माण भएपछि गुल्मीमा पर्यटकको चहलपहल ह्वात्तै बढेको हो ।

सदरमुकाम तम्घासदेखि करिब तीन किलोमिटर दूरीमा रहेको पार्कसम्म पुग्ने सडक कालोपत्र भएपछि आवागमन निकै सहज भएको छ । सार्वजनिक बिदाका दिन परिवारसहित घुम्न र वनभोज खान आउने पर्यटकको यहाँ घुइँचो लाग्ने गरेको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि उपयुक्त गन्तव्य बनेको पार्क युवापुस्ताका लागि तस्बिर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा सामग्री राख्ने आकर्षक स्थलसमेत बनेको छ ।

गुल्मी घर भई रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशमा रहेका नेपाली पनि बिदामा घर फर्किएका बेला पार्क पुग्ने गरेका छन् । रेसुङ्गा नगरपालिका–१, तम्घास घर भई हाल फिनल्यान्डमा बस्दै आएका मिलन खराल पार्क निर्माणपछि पहिलो पटक घुम्न आएको बताउँछन् । सामाजिक सञ्जालमा पार्कका तस्बिर र भिडियो देखेर आकर्षित भएको उल्लेख गर्दै उनले प्रत्यक्ष अवलोकन गर्दा यहाँको संरचना र प्राकृतिक वातावरण निकै राम्रो लागेको बताए ।

त्यसैगरी, मुसिकोट नगरपालिका–५ घर भई हाल लन्डनमा रहेका फणीन्द्र भट्टराईले पनि घर बिदामा आएका बेला पार्क घुम्न पाउँदा खुसी लागेको बताए । पार्कका संरचना र हरियाली वातावरणले आफूलाई आकर्षित गरेको उनको भनाइ छ ।

मुसिकोट नगरपालिका–३ घर भई हाल हङकङमा रहेकी शान्ति केसीले पनि गाउँ फर्किएका बेला पहिलो पटक पार्क घुमेको बताइन् । जन्मथलोमा सुन्दर पर्यटकीय पूर्वाधार निर्माण भएको देख्दा खुसी लागेको उल्लेख गर्दै उनले पार्कमा प्रकृतिसँग रमाउँदै तस्बिर तथा भिडियो खिचेको अनुभव सुनाइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा छ करोड रुपैयाँभन्दा बढी लगानीमा पार्क निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको छोटो समयमै पार्कले पर्यटक आकर्षित गर्न थालेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार हालसम्म ४० हजारभन्दा बढीले पार्कको अवलोकन गरिसकेका छन् । प्रवेश शुल्कबाट करिब १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

नगरपालिकाले पार्क प्रवेशका लागि टिकट प्रणाली लागू गरेको छ । सर्वसाधारणका लागि ५० रुपैयाँ, ज्येष्ठ नागरिक, विद्यार्थी तथा बालबालिकाका लागि २५ रुपैयाँ र विदेशी नागरिकका लागि १०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पार्कमा भ्यूटावर, पिङ, वनभोजस्थल, फोटो खिच्ने स्थान, बालबालिकाका लागि खेल क्षेत्र, पोखरी र पुललगायत संरचना निर्माण गरिएका छन् ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पार्क निर्माणले जिल्लाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपेको बताए । रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व उजागर गरी पर्यटक आकर्षित गर्ने उद्देश्यले पार्क निर्माण गरिएको उनको भनाइ छ । पार्कले पर्यटकीय गतिविधि बढाउनुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्‍याएको प्रमुख पन्थीले बताए ।

नगरपालिकाले रेसुङ्गा क्षेत्रमा थप पर्यटन पूर्वाधार निर्माणलाई पनि निरन्तरता दिएको छ । पर्यटन प्रवर्द्धनका लागि एक करोड रुपैयाँभन्दा बढी लगानीमा रेसुङ्गाको नुनामारेदेखि पार्कसम्म जिपलाइन र स्काई साइकलिङजस्ता साहसिक तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण गरिएको छ । धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्व बोकेको रेसुङ्गा क्षेत्रमा थपिँदै गएका पूर्वाधारले गुल्मीको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अरुपनि पढ्नुहोस

सबै