कोप–३१ को कभर डिसिजनमा नेपाल, भुटान र किर्गिजस्तानको पर्वतीय प्रस्ताव समावेश

नवलपुर टुडे

सारांश
- टर्कीएको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनमा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव मुख्य दस्तावेज (कभर डिसिजन) मा समेटिएको छ।
- मस्यौदाको बुँदा ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्नुका साथै यसलाई कोपको स्थायी कार्यसूचीमा राख्ने र कोप–३२ मा उच्चस्तरीय संवाद गर्ने प्रस्ताव गरिएको छ।
- प्रस्तावमार्फत हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम र जलवायुजन्य विपद्का असरहरूलाई अन्तरराष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्न जोड दिइएको छ।

अन्ताल्या । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्तावलाई सम्मेलनको मुख्य दस्तावेज (कभर डिसिजन) मा सम्बोधन गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा कभर डिसिजन वा कभर टेक्स्ट भन्नाले सम्मेलनको अन्त्यमा जारी गरिने समग्र राजनीतिक दस्तावेजलाई जनाउँछ । त्यसले वार्ताका विभिन्न विषय तथा निष्कर्षहरूलाई एकीकृत गर्दै समग्र राजनीतिक दिशा र सन्देश निर्धारण गर्नुका साथै सम्मेलनका प्रमुख प्राथमिकता र महत्त्वपूर्ण विषयलाई उजागर गर्ने गर्दछ । नेपालसहितका मुलुकको उक्त प्रस्तावलाई सम्मेलन अध्यक्षताको परामर्शमा तयार गरिएको कभर डिसिजनको मस्यौदामा समेटिएको हो ।
प्रस्तावमा पर्वतीय क्षेत्रको वैज्ञानिक अध्ययन तथा बुझाइ अभिवृद्धि, जलवायु अनुकूलनका प्रयासलाई सुदृढीकरण, उत्थानशीलता निर्माण तथा हिमनदीमा निर्भर समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयलाई प्राथमिकता दिइएको छ । यी विषयमा कोप–३१ को सुरुआतमै नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा प्रस्ताव अघि बढाएका थिए ।
कभर डिसिजनको बुँदा ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने प्रस्ताव गरिएको छ । उक्त कार्यक्रममार्फत पर्वतीय क्षेत्रको वैज्ञानिक अध्ययन, जलवायु परिवर्तनका असरको मूल्याङ्कन, अनुकूलनका उपाय तथा जोखिम न्यूनीकरणका प्रयासलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । त्यस्तै, कोपको कार्यसूचीमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी विषयलाई स्थायी रूपमा समावेश गर्ने प्रस्ताव पनि राखिएको छ भने यस विषयमा छलफल गर्न कोप–३२ मा उच्चस्तरीय संवाद आयोजना गर्ने उल्लेख छ ।
कभर डिसिजनको बुँदा ३२ मा जलवायु परिवर्तनसम्बन्धी सहायक निकायका ६६औँ र ६८औँ सत्रमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी संवाद आयोजना गर्ने विषयलाई स्वागत गरिएको छ । त्यस्ता संवादलाई निरन्तरता दिँदै कोपको अध्यक्षताको नेतृत्वमा नियमित उच्चस्तरीय संवाद सञ्चालन गर्न प्रोत्साहन गरिएको छ ।
त्यस्ता संवादमार्फत पर्वतीय मुलुक, आदिवासी जनजाति तथा स्थानीय समुदायका अनुभव, आवश्यकता र प्राथमिकतालाई अन्तरराष्ट्रिय जलवायु नीति तथा कार्ययोजनामा समेट्ने र जलवायु अनुकूलन तथा उत्थानशीलता निर्माणका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
नेपाल र भुटानले पर्वतीय क्षेत्रमा बढ्दो तापक्रमका प्रभावलाई सम्बोधन गर्न डेढ डिग्री सेल्सियस तापक्रम वृद्धिका कारण पर्वतीय क्षेत्रमा पार्ने प्रभाव शीर्षकमा संयुक्त प्रस्ताव अघि बढाएका थिए । त्यसैगरी, किर्गिजस्तानले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी नियमित उच्चस्तरीय संवादलाई संस्थागत गर्ने प्रस्ताव गरेको थियो ।
ती प्रस्तावमार्फत हिमालयलगायत विश्वका पर्वतीय क्षेत्रमा हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जलस्रोतमा पर्ने प्रभाव, जैविक विविधताको क्षति तथा जलवायुजन्य विपद्का बढ्दो जोखिमलाई अन्तरराष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्न जोड दिइएको थियो । नेपालले जलवायु परिवर्तनबाट उत्पन्न हुने असरको उच्च जोखिममा रहेका मुलुक तथा समुदायले भोग्नुपरेका समस्यालाई अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्न निरन्तर पहल गर्दै आएको छ ।

जाडो बढेसँगै पूर्वी तराईमा तातो भक्काको व्यापार चम्कियो, गृहिणीलाई हिउँदको सहारा

मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
अरुपनि पढ्नुहोस
सबै
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै


सामूहिक फूलखेतीले दिलाएको सफलता…

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
















