मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

एजेन्सी

सारांश
- अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कमजोर राजनीतिक प्रभाव पुनः स्थापित गर्न एसिया भ्रमणमा निस्किँदै हुनुहुन्छ।
- भ्रमणका क्रममा उहाँले फिलिपिन्समा आसियन र चीनमा एपेक सम्मेलनमा सहभागिता जनाउनुका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय बैठक गर्ने तयारी गर्नुभएको छ।
- सो बैठकमा व्यापारिक सम्बन्ध, प्रविधि प्रतिस्पर्धा, युक्रेन युद्ध तथा आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

वासिङ्टन डिसी । अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कमजोर बन्दै गएको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न प्रयासरत छन् । यसै क्रममा उनी एसिया भ्रमणमा निस्किँदै छन् ।
उनले एसियाका दुई महत्त्वपूर्ण क्षेत्रीय सम्मेलनमा सहभागी हुनुका साथै चीन र रुसका राष्ट्रपतिसँग संयुक्त बैठक गर्ने तयारी गरेका छन् ।
ट्रम्पले यस साता फिलिपिन्सको मनिलामा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) र चीनको सेन्जेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनमा सहभागिता जनाउनेछन् । बिहीबार चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको त्रिपक्षीय बैठक हुने कार्यक्रम छ ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि ट्रम्पको राजनीतिक शक्ति र अन्तर्राष्ट्रिय प्रभावबारे प्रश्न उठ्न थालेको छ । निर्वाचनको परिणामले विदेशमा आफ्नो प्रभाव कमजोर नहुने ट्रम्पले बताएका छन् । उनले आफू निर्वाचनको उम्मेदवार नभएको र मतदाता कंग्रेससँग असन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
तर, विपक्षी डेमोक्रेटिक पार्टीको सफलताले अमेरिकी विदेश नीतिमा ट्रम्पको निर्णय क्षमता र प्रभावकारितामाथि पनि प्रश्न उठेको छ । विशेषगरी व्यापारमा लगाइएका विश्वव्यापी भन्सार शुल्क र इरानसँगको युद्धका कारण बढेको महँगीले मतदातामा असन्तुष्टि बढाएको विश्लेषण गरिएको छ ।
अमेरिकी राष्ट्रपति विदेश भ्रमणमा निस्किएर घरेलु राजनीतिक दबाबबाट केही समय टाढा रहने र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्ने परम्परा पुरानै हो । सन् १९८२ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले मध्यावधि निर्वाचनमा राजनीतिक धक्का बेहोरेपछि ल्याटिन अमेरिकी देशहरूको भ्रमण गरेका थिए । त्यसयता बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामाले पनि मध्यावधि निर्वाचनपछि एसिया तथा अन्य क्षेत्रको भ्रमण गरेका थिए ।
ट्रम्पको यसपटकको भ्रमणमा चीनसँगको व्यापारिक सम्बन्ध र प्रविधि प्रतिस्पर्धा पनि महत्त्वपूर्ण विषय बन्नेछ । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार अमेरिकाले थाइल्यान्डसँग नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । ट्रम्पले चीनसँग पनि आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्न खोजिरहेका छन् ।
यद्यपि, इरान युद्ध र रुस–युक्रेन युद्धको विषयले भ्रमणलाई प्रभावित पार्न सक्नेछ । मध्यपूर्वको द्वन्द्वका कारण एसियाली मुलुकहरूमा इन्धनको मूल्य बढेको छ । ट्रम्पले चीनले इरानबाट तेल खरिद गर्ने विषय सी जिनपिङसँग उठाउने सम्भावनाबारे भने स्पष्ट जवाफ दिएका छैनन् ।
त्यस्तै, ट्रम्प, सी र पुटिनबिचको बैठकमा युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणको विषय पनि उठ्न सक्नेछ । अमेरिका र रुसबिचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि गत फेब्रुअरीमा समाप्त भएको थियो । दुवै देशसँग करिब पाँच हजार आणविक हतियार रहेको अनुमान छ । उता चीनले पनि आफ्नो आणविक हतियार भण्डार बढाउँदै ६०० भन्दा बढी पुर्याएको छ ।
अमेरिकी अधिकारीहरूले त्रिपक्षीय बैठकबाट तत्काल कुनै ठुलो सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् । उनीहरूका अनुसार यसको मुख्य उद्देश्य तीन देशबिच आणविक हतियार नियन्त्रणलगायत विषयमा संवादको सुरुवात गर्नु हो ।
यसैबिच, चीनले उक्त बैठकलाई विश्व परिस्थितिलाई स्थिर बनाउन सहयोग पुग्ने महत्त्वपूर्ण पहलका रूपमा व्याख्या गरेको छ । ट्रम्पले भने शक्तिशाली चीन र रुसका नेताहरूसँग एउटै मञ्चमा उपस्थित भएर आफ्नो अन्तर्राष्ट्रिय नेतृत्व प्रदर्शन गर्ने अवसरका रूपमा भ्रमणलाई उपयोग गर्न खोजेको विश्लेषण गरिएको छ ।

बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

अरुपनि पढ्नुहोस
सबै
सामूहिक फूलखेतीले दिलाएको सफलता…

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
















