इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

एजेन्सी

सारांश
- इटालीको डोलोमाइट्स पर्वतको एक दुर्गम गुफामा २४ हजार वर्षअघि लोप भएका हिमयुगीन विशाल भालुका सयौँ हड्डी र खप्पर फेला परेका छन्।
- पर्वतारोहण गाइड कुर्ट वाल्डेद्वारा पत्ता लगाइएको यो गुफाबाट हिमयुगको जीवजन्तु, वातावरण र लोप भएका जीवको जीवनशैलीबारे नयाँ जानकारी प्राप्त हुने वैज्ञानिकहरूको अपेक्षा छ।
- अवशेषहरूको सुरक्षाका लागि पुरातत्त्व विभागले गुफा सिल गरेको छ र सन् २०२७ को जुनदेखि विस्तृत वैज्ञानिक अनुसन्धान सुरु हुने योजना रहेको छ।

बीबीसी । इटालीको उत्तरी क्षेत्रमा पर्ने डोलोमाइट्स पर्वतको दुर्गम गुफामा हिमयुगका गुफामा बस्ने विशाल भालु (केभ बियर)का सयौँ हड्डी र खप्पर फेला परेका छन् । करिब २४ हजार वर्षअघि लोप भएको मानिने हिमयुगिन केभ बियरका अवशेष भेटिएपछि वैज्ञानिकहरूले यसलाई हिमयुगको जीवजन्तु र वातावरणबारे नयाँ जानकारी प्राप्त गर्ने महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् ।
इटालीको दक्षिण टायरोल क्षेत्रमा पर्ने फानेस–सेनेस–ब्राइस प्राकृतिक निकुञ्जभित्र रहेको उक्त गुफा पर्वतारोहण गाइड कुर्ट वाल्डेले सन् २०२६ को जुलाईमा पत्ता लगाएका हुन् । समुद्री सतहबाट करिब दुई हजार ८५० मिटर उचाइमा रहेको गुफासम्म पुग्न उनले अत्यन्त जोखिमपूर्ण चट्टानी भीर पार गर्नुपरेको थियो ।
४१ वर्षदेखि पर्वतीय गाइडका रूपमा काम गर्दै आएका वाल्डेले यसअघि सन् १९८७ मा पत्ता लागेको कन्टुरिनेस गुफाको अध्ययन र भ्रमण गराउँदै आएका थिए । उक्त गुफामा पनि हिमयुगीन भालुका अवशेष भेटिएका थिए । तर, लामो समयदेखि उनलाई त्यही क्षेत्रमा अर्को गुफा पनि हुन सक्ने शङ्का थियो ।
करिब साढे तीन वर्षअघि पर्वतको एउटा भीरमा कालो दागजस्तो देखिएको स्थानलाई उनले सम्भावित गुफाको प्रवेशद्वारका रूपमा पहिचान गरेका थिए । त्यसपछि लामो समयको प्रयासपछि जुलाई २०२६ मा उनी त्यहाँ पुग्न सफल भए ।
गुफाभित्र प्रवेश गर्दा टर्चको प्रकाशमा उनले हड्डी र खप्परहरू छरिएको असाधारण दृश्य देखे । गुफाको भित्री भागमा प्रवेश गर्दै जाँदा ठुलो सङ्ख्यामा हड्डी र खप्पर भेटिए । केही हड्डी एक आपसमा जोडिएको अवस्थामा थिए भने केही अस्वाभाविक रूपमा ठुला ढुङ्गामाथि राखिएको थुप्रो जस्तो देखिन्थे ।
वाल्डेका अनुसार गुफाभित्र भेटिएका अवशेषहरू सम्भवतः ‘अर्सस लाडिनिकस’ प्रजातिका भालुका हुन् । यो प्रजाति करिब २४ हजार वर्षअघि लोप भएको मानिन्छ ।
सन् १९८७ मा पत्ता लागेको कन्टुरिनेस गुफामा भेटिएका भालुका अवशेषले यस प्रजातिबारे वैज्ञानिक बुझाइमा ठुलो परिवर्तन ल्याएको थियो । ती भालु करिब एक हजार २०० किलोग्रामसम्म तौलका र तीन मिटरसम्म लामा हुने अनुमान गरिएको थियो । उनीहरू शाकाहारी थिए र पहाडी क्षेत्रमा पाइने जडीबुटी, पात तथा घाँस खान्थे ।
नयाँ गुफामा कन्टुरिनेसभन्दा पनि धेरै अवशेष भेटिएको प्रारम्भिक अध्ययनले देखाएको छ । बोल्जानो प्रान्तको पुरातत्त्व विभागका निर्देशक क्रिस्टियन टर्जरले गुफाभित्र सयौँ हड्डी रहेको र त्यहाँ कति भालुका अवशेष छन् भन्ने यकिन हुन बाँकी रहेको बताएका छन् ।
वैज्ञानिकहरूका अनुसार यो खोजले हिमयुगमा डोलोमाइट्स र आल्प्स क्षेत्रमा कस्तो वातावरण थियो भन्ने बुझ्न सहयोग पुर्याउन सक्छ । यसअघि कन्टुरिनेस गुफामा भेटिएका अवशेषको अध्ययनले त्यतिबेला अहिलेको तुलनामा तापक्रम बढी हुनसक्ने र रुखहरू उच्च उचाइसम्म फैलिएको हुन सक्ने सङ्केत गरेको थियो ।
नयाँ गुफामा भेटिएका हड्डीले भालुको शारीरिक बनावट, पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारबारे थप जानकारी दिन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ । सेन्ट ग्यालेनको प्राकृतिक इतिहास सङ्ग्रहालयकी कशेरुकी जीवाश्म विशेषज्ञ मार्टिना पाचरका अनुसार पूर्ण कङ्काल भेटिएमा यी भालुको वास्तविक स्वरूप पुनर्निर्माण गर्न सहज हुनेछ ।
त्यस्तै, लन्डनस्थित नेचरल हिस्ट्री म्युजियमकी वैज्ञानिक स्पाइरिडुला पाप्पाले हड्डी, दाँत, आनुवंशिक सामग्री र भूगर्भीय संरचनाको अध्ययनबाट हिमयुगीन पारिस्थितिक प्रणालीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने बताएकी छन् । गुफाभित्र केही हड्डी ठुला ढुङ्गामाथि एक्लै राखिएको अवस्थामा भेटिनु अर्को रहस्य बनेको छ । ती हड्डी प्राकृतिक प्रक्रियाबाट त्यहाँ पुगेका हुन् वा हजारौँ वर्षअघि मानिसको गतिविधिका कारण त्यस्तो अवस्थामा पुगेका हुन् भन्नेबारे अनुसन्धान हुन बाँकी छ ।
महत्त्वपूर्ण अवशेष नष्ट हुन नदिन पुरातत्त्व विभागले गुफाको प्रवेशद्वारमा ढोका लगाएर सिल गरेको छ । वैज्ञानिक अनुसन्धानका लागि सन् २०२७ को जुनदेखि पुनः गुफाभित्र प्रवेश गर्ने योजना छ ।
यो खोजले हिमयुगमा आल्प्स क्षेत्रमा विचरण गर्ने विशाल जीवजन्तु, तिनको जीवनशैली र त्यस समयको प्राकृतिक वातावरणबारे नयाँ तथ्य उजागर गर्ने अपेक्षा गरिएको छ ।

चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट

जापानी हवाई क्षेत्रमा रुसी विमान प्रवेश, लडाकू जेट परिचालन

आन्तरिक पर्यटकको रोजाइ बन्दै गुल्मीको रेसुङ्गा पार्क, ४० हजारभन्दा बढीले गरे अवलोकन

कोप–३१ को कभर डिसिजनमा नेपाल, भुटान र किर्गिजस्तानको पर्वतीय प्रस्ताव समावेश

जाडो बढेसँगै पूर्वी तराईमा तातो भक्काको व्यापार चम्कियो, गृहिणीलाई हिउँदको सहारा
अरुपनि पढ्नुहोस
सबै
मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
















