Opens in a new tab

शैक्षिक प्रमाणपत्र विवादमा इन्डोनेसियाका उपराष्ट्रपतिले दिए राजीनामा

एजेन्सी

1.6KShares

सारांश

  • इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले शैक्षिक प्रमाणपत्रसम्बन्धी विवाद चर्किएपछि राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन्।
  • सर्वोच्च अदालतले सन् २०२४ को निर्वाचनमा उनले पेस गरेको माध्यमिक तहको शैक्षिक प्रमाणपत्र अमान्य ठहर गरेपछि उनीमाथि महाभियोगको दबाब बढेको थियो।
  • पूर्वराष्ट्रपति जोको विडोडो र वर्तमान राष्ट्रपति प्रबोवो सुबियान्तोबीचको राजनीतिक तनाव बढ्दै गएको बेला यो घटनाक्रम बाहिर आएको हो।
dida bag ad

काठमाडौँ । इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले शैक्षिक प्रमाणपत्र विवाद चर्किएपछि राजीनामा दिएका छन् । उनका सहयोगी बुदी एरीका अनुसार गिब्रानले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोलाई राजीनामा पत्र बुझाएका हुन् ।

इन्डोनेसियाको सर्वोच्च अदालतले सन् २०२४ को निर्वाचनमा गिब्रानले पेस गरेको माध्यमिक तहको शैक्षिक प्रमाणपत्र अमान्य ठहर गरेको थियो । अदालतले उनले माध्यमिक शिक्षा पूरा गरेको वा सोसरहको योग्यता हासिल गरेको प्रमाण नभेटिएको जनाएको थियो ।

फैसलापछि १०० भन्दा बढी सांसदले गिब्रानमाथि महाभियोग प्रक्रिया अघि बढाउन सक्ने संसदीय पहललाई समर्थन गरेका थिए । गिब्रानले भने अदालतको फैसलालाई चुनौती दिने र आफ्नो शैक्षिक योग्यताको वैधता प्रमाणित गर्ने अवसर मागेका थिए ।

गिब्रान सन् २०२४ को निर्वाचनमा राष्ट्रपति प्रबोवोका उम्मेदवार थिए । उनका पिता तथा तत्कालीन राष्ट्रपति जोको विडोडो (जोकोवी) र प्रबोवोबीच बनेको गठबन्धनका कारण उनी उपराष्ट्रपतिको उम्मेदवार बनेका थिए ।

पछिल्लो समय जोकोवी र प्रबोवोबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ । प्रबोवोले जोकोवीका प्रमुख योजनालाई प्राथमिकता नदिएको र उनका निकट व्यक्तिहरूलाई सरकारी जिम्मेवारीबाट हटाउँदै लगेको बताइएको छ ।

गत साता राष्ट्रपति कार्यालयका प्रमुख लिस्तियो सिगित प्रबोवोलाई राष्ट्रपतिको फोन ट्यापिङ गरेको आशंकामा पक्राउ गरिएको थियो । उनी जोकोवीका निकट सहयोगी मानिन्छन् । पक्राउ परेको भोलिपल्ट प्रबोवोले उनलाई पदबाट बर्खास्त गरेका थिए ।