Opens in a new tab

मधेशमा आज भरदुतिया पर्व मनाइँदै

राम नारायण

5.5KShares

सारांश

  • मधेशमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता झल्काउने भरदुतिया पर्व आज श्रद्धा र उल्लासका साथ मनाइँदैछ।
  • दिदीबहिनीले मैथिली परम्परा अनुसार दाजुभाइलाई पिर्कामा बसाएर दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै पूजापाठ गर्छन्।
  • यस पर्वले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै मैथिली संस्कृति र सामाजिक सद्भावको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
dida bag ad

राजविराज । मधेशमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, स्नेह र आत्मीयताको प्रतीकका रूपमा आज भरदुतिया पर्व श्रद्धा र उल्लासका साथ मनाइँदै छ।

कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई निमन्त्रणा गरी घरमा बोलाउने परम्परा छ। पर्वका अवसरमा दिदीबहिनीले चामलको पिठोबाट आगनमा अरिपन बनाई काठको पिर्कामा दाजुभाइलाई बसाउँछन्।
त्यसपछि दाजुभाइको हातमा पान, सुपारी र नगद राखेर मैथिली भाषामा परम्परागत मन्त्र उच्चारण गर्दै उनीहरूको दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरिन्छ।

पूजापाठ सम्पन्न भएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी, मिठाई लगायतका परिकार खुवाउने परम्परा छ। त्यसको प्रत्युत्तरमा दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कपडा, दक्षिणा तथा सौभाग्यका सामग्री उपहार स्वरूप प्रदान गरी सम्मान प्रकट गर्छन्।

तिहारमा मनाइने भाइटीका र भरदुतिया पर्वको धार्मिक तथा सांस्कृतिक मान्यता समान रहे पनि मनाउने विधि र परम्परामा क्षेत्रअनुसार केही भिन्नता पाइन्छ। दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्छन्।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यस पर्वमा दाजुभाइको पूजा तथा सम्मान गर्नाले उनीहरूको दीर्घायु र सुख–समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
य

स पर्वले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मैथिली संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।