Opens in a new tab

‘हियालोलो, हियालोलो’को गुञ्जनसँगै पेटभर्वामा भव्य रूपमा सम्पन्न ऐतिहासिक सोहरैया पर्व

नवलपुर टुडे

963Shares

सारांश

  • रौतहटको फतुवा विजयपुरमा पशुपालक किसानहरूको आस्था र परम्परासँग जोडिएको ऐतिहासिक तथा मौलिक सोहरैया पर्व भव्यताका साथ सम्पन्न भएको छ।
  • लोपोन्मुख अवस्थामा पुगेको यस पर्वमा गाईभैँसीलाई सिँगार्ने, ‘डाढ बोलाउने’, कुस्ती तथा लौरो नचाउने खेलजस्ता आकर्षक गतिविधिहरू समावेश गरिएको थियो।
  • कार्यक्रममा सहभागीहरूले पुख्र्यौली संस्कृतिको संरक्षण, प्रवर्द्धन र यसलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
dida bag ad

कार्तिक २३। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ६ स्थित पेटभर्वामा पुस्तौँदेखि मनाउँदै आइएको मौलिक तथा ऐतिहासिक सोहरैया पर्व सोमबार भव्यताका साथ सम्पन्न भएको छ। पशुपालक किसानहरूको आस्था, विश्वास र परम्परासँग जोडिएको उक्त पर्वमा फतुवा विजयपुर नगरपालिकाका मेयर पदका प्रत्यासी विजय यादव ‘निर्विज’ सहभागी भएका छन्।

हियालोलो, हियालोलो’ भन्ने मौलिक भाका र आवाजसँगै मनाइने सोहरैया पर्वमा यादवले स्थानीय किसान, पशुपालक तथा सर्वसाधारणसँग भेटघाट गर्दै पर्वको अवलोकन गरेका थिए।

हरेक वर्ष लक्ष्मीपूजाको भोलिपल्ट मनाइने यस पर्वमा किसानहरूले बिहानै आफ्ना गाई, भैँसी तथा गोरुलाई नुहाइधुवाइ गरी सिँगार्ने, नयाँ नथ तथा डोरी लगाइदिने र सामूहिक रूपमा चौपायाहरू जम्मा गर्ने परम्परा रहिआएको छ।

स्थानीय मौलिक विधिअनुसार चौपायाहरूका बीचमा सुँगुरको बच्चालाई डोरीले बाँधेर घिसार्ने र त्यसको आवाजसँगै गाईभैँसी दौडिने परम्परालाई स्थानीय भाषामा ‘डाढ बोलाउने’ भनिन्छ। यस क्रममा किसान तथा स्थानीयवासीहरूले ‘हियालोलो, हियालोलो’ भन्दै उत्साहपूर्वक पर्व मनाउने गर्छन्।

यस वर्षको पर्वमा पेटभर्वा तथा आसपासका गाउँबाट दुई सयभन्दा बढी गाईभैँसी सहभागी गराइएका थिए भने पर्व अवलोकन गर्न हजारौँ स्थानीयवासी तथा दर्शकको उपस्थिति रहेको थियो। पर्वलाई थप आकर्षक बनाउन कुस्ती प्रतियोगिता तथा लौरो भाँचने (नचाउने) खेलसमेत आयोजना गरिएको थियो।

स्थानीय जानकारहरूका अनुसार विगतमा रौतहटका अधिकांश क्षेत्रमा मनाइने सोहरैया पर्व पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। हाल फतुवा विजयपुर नगरपालिका–६ को पेटभर्वामा मात्र यस परम्परालाई निरन्तरता दिइँदै आएको स्थानीयहरूको भनाइ छ।

सो अवसरमा मेयर प्रत्यासी विजय यादव ‘निर्विज’ले पुस्तौँदेखि चल्दै आएको यस्तो मौलिक तथा ऐतिहासिक पर्वको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए। स्थानीय संस्कृति, परम्परा र पहिचान कुनै पनि समुदायको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यस्ता मौलिक पर्वलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व रहेको धारणा उनले व्यक्त गरे।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष रामएकवाल यादव, वडा नं. ४ का वडा अध्यक्षका प्रत्यासी रामशंकर पासवान, स्थानीय नेता गोपाल साह, पत्रकार रूपेश यादव, दिपेन्द्र रजक लगायत स्थानीय अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

स्थानीय जनविश्वासअनुसार सोहरैया पर्वमा सहभागी गराइएका गाईभैँसीमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने विश्वास रहिआएको छ। पशुपालनको महत्त्व, किसानहरूको एकता, आपसी सद्भाव र स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको सोहरैया पर्व फतुवा विजयपुरको विशिष्ट मौलिक सम्पदाका रूपमा स्थापित हुँदै गएको छ।

लोपोन्मुख अवस्थामा पुगेको यस ऐतिहासिक परम्पराको संरक्षण, प्रचारप्रसार तथा पुस्तान्तरणमा स्थानीय तह, सरोकारवाला निकाय र समुदायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

अरुपनि पढ्नुहोस

सबै

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

२०८३ कार्तिक २४ | मध्यान्ह ०४:०७ बजे

साढे तीन लाखका पटका बरामद

२०८३ कार्तिक २४ | मध्यान्ह ०४:०७ बजे