प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

नवलपुर टुडे

सारांश
- पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको बिक्रीवितरण रोक्न बजार अनुगमन तीव्र बनाएको छ।
- अनुगमनका क्रममा बजारबाट प्रतिबन्धित प्लास्टिकका माला र सजावटका सामग्री जफत गरी नष्ट गरिएको छ।
- महानगरले कृत्रिम फूलमालाको सट्टा स्थानीय स्तरमा उत्पादित प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ।

कास्की । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ । सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा त्यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन अभियानलाई तीव्रता दिएको हो ।
महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरपालिका–१ र २ का विन्ध्यवासिनी तथा बगर क्षेत्रमा रहेका नौ वटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रु छ हजार २८० बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सजावटका सामग्री नष्ट गरिएको छ ।
महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न, वस्तुको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा म्याद नाघेका सामग्री बिक्री नगर्न सचेत गराइएको थियो ।
उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाले वातावरण प्रदूषण बढाउने भएकाले यसको प्रयोग र बिक्रीवितरण निरुत्साहित गर्न आवश्यक रहेको बताइन् । तिहारमा यस्ता सामग्रीको बिक्री बढ्नसक्ने भएकाले अनुगमनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
“कृत्रिम फूलमालाको विकल्पमा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलमालाको प्रयोगलाई प्रोत्साहन गरेका छौँ । फूलखेती गर्ने कृषकलाई महानगरले अनुदानलगायत सहयोग गरिरहेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न व्यवसायी र उपभोक्तालाई आग्रह गर्दै आएका छौँ”, उपप्रमुख गुरुङले भनिन् ।
वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ । उक्त व्यवस्थाविपरीत कार्य गरेमा ऐनको दफाअनुसार जरिवाना हुने प्रावधान छ । पोखरा महानगरपालिकाले वातावरण संरक्षण, उपभोक्ता हित र स्थानीय फूल उत्पादक किसानको प्रोत्साहनका लागि आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

एनपिएल : जनकपुरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङ गर्ने

अजय गुप्ताको निजी लगानीमा निर्मित सूर्य तथा बराह मन्दिरको मंगलवार प्राणप्रतिष्ठा

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन
अरुपनि पढ्नुहोस
सबै
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल


एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्याली
















