Opens in a new tab

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

रासस

299Shares

सारांश

  • डडेल्धुराका १९ वर्षीय दीपक भट्टराईले स्नातक तहको पढाइ खर्च जुटाउन पेन्टिङको काम गर्दै आएका छन्।
  • शिवराज भट्टराईले पेन्टिङ पेसाबाट मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै अन्य युवाहरूलाई समेत सीप सिकाइरहेका छन्।
  • भारतमा दुई वर्ष बिताएर फर्केका चेत विकले स्वदेशमै पेन्टिङ पेसा अपनाएर आत्मनिर्भर बन्दै अन्य युवालाई पनि सीप सिकेर काम गर्न प्रेरणा दिएका छन्।

डडेल्धुरा । अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक रु २५ हजार बचाउछन्। १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आएका हुन् । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उनी बताउछन्।

घरको जेठो छोरा रहेका दीपकका भाइ पनि पढ्दै छन् । बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उनले सुनाए । अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उनको लक्ष्य छ ।

दीपकजस्तै अमरगढी –७ का शिवराज भट्टराईले पनि पेन्टिङको कामबाट आम्दानी गर्दै आएका छन्। विगत छ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका उनले सुरुमा खाली समयमा पेन्टिङको काम गर्न थालेका थिए । हाल यसैलाई मुख्य पेसा बनाएका छन् ।

शिवराजका अनुसार पेन्टिङको कामबाट मासिक रु २५ हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ । उनले एक महिनामा करिब चारदेखि पाँचवटा घरको पेन्टिङ सक्ने गरेको बताए । आठ जनाको समूहमा काम गर्दै आएका उनले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत पेन्टिङको सीप सिकाउने गरेका छन् । यद्यपि, बर्खायाममा भने एकदेखि दुई महिनासम्म काम नपाइने उनको भनाइ छ ।

यसैगरी, अमरगढी–७, पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न छन् । रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किएका उनले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम सुरु गरे। करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका विक आफ्नै ठाउँमा श्रम गरेर आम्दानी गर्न पाउँदा खुसी छन् । उनले अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सुझाव दिए ।

यी युवाको अनुभवले पढाइ र रोजगारीलाई सँगसँगै अघि बढाउन सीपमूलक कामले सहयोग पुर्याउन सक्ने देखाउँछ । स्थानीयस्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवालाई प्रोत्साहन गर्ने कार्यक्रम विस्तार गर्न सके पढ्दै काम गर्ने वातावरण निर्माण हुनाका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।