रसुवामा अवस्थित तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

नवलपुर टुडे

सारांश
- रसुवाको भोटेकोशी नदीमा अस्थायी पुल निर्माण भएपछि तामाङ सम्पदा पदमार्ग र रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला गरिएको छ।
- बाढीले क्षति पुर्याएका लाङ्टाङ, क्यान्जिन र गोसाईंकुण्ड क्षेत्रसहित मनास्लु लार्केपास क्षेत्रमा समेत पदयात्रा सञ्चालनमा आइसकेका छन्।
- टानले पर्यटक तथा व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको अवस्था बुझ्न र सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।
काठमाडौं । रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा अस्थायी फड्के पुल निर्माण भएसँगै पर्यटकका लागि खुला भएको हो ।
रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले भोटेकोशी बाढीले क्षति पुगेको स्याफ्रुबेँसीमा आवतजावतका लागि अस्थायी पुल निर्माण भएसँगै पर्यटकका लागि उक्त पदमार्ग खुला भएको जानकारी दिए ।
उक्त पदमार्ग भएर वार्षिक एक हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । तिब्बती प्रभाव र परम्पराले भरिपूर्ण तामाङ समुदायको जीवनशैली, ढुंगाले कुँदिएका घर तथा काठका झ्यालहरू, गुम्बा, मानेलगायतको अवलोकन गर्न मिल्ने उक्त पदमार्गमा सातदेखि १० दिनसम्म पदयात्रा गर्न सकिनेछ।
उक्त पदमार्गमा आमाछोदिङ गाउँपालिकाको स्याफ्रुबेँसी, बाहुनडाँडा, गोल्जुङ, गत्लाङ हुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ । उक्त पदमार्गबाट गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खला तथा चिनियाँ सिमानाको मनोरम दृश्य हेर्न सकिने रसुवा–नुवाकोट पर्यटन समाजका सचिव दिनेश तामाङ फुलुङले जानकारी दिए । उक्त पदमार्ग भएर धादिङको सुन्दर उपत्यका रुविभ्यालीसमेत जान सकिन्छ।
तामाङ सम्पदा पदमार्ग भएर पदयात्रा गर्ने पर्यटक धादिङको रुविभ्याली गाउँपालिकाअन्तर्गत सोम्ताङ, पाङ्साङपास, गणेश हिमालमा रहेको सेतोदह, कालोदह हुँदै धादिङको गंगा जमुना र गोरखाको मनास्लु जाने गरेका छन् । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट अवरुद्ध भएको मनास्लु लार्केपास क्षेत्रसमेत पर्यटकका लागि खुला भइसकेकाले उक्त क्षेत्रमा पदयात्रा गर्न सकिनेछ ।
धादिङको रुविभ्याली पदमार्गमा वार्षिक ४०० देखि ५०० को हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक जाने गरेका छन् । भोटेकोशी बाढीबाट प्रभावित पर्यटकीय गन्तव्य लाङ्टाङ, क्यान्जिन र गोसाईंकुण्ड क्षेत्र पदयात्राका लागि यसअघि नै पदयात्राका लागि खुला भइसकेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)ले जनाएको छ।
पहिलो विकल्पअनुसार काठमाडौँ हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याफ्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ । यसैगरी, दोस्रो विकल्पमा काठमाडौँ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाईंकुण्ड–ठूलोस्याफ्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ ।
टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

फापरखेत पहिरो र तातोपानी कुण्डको समस्या समाधानमा मन्त्री महावीर पुनको चासो

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँमा तरकारी तथा धान जोन विस्तार हुँदै, झन्डै चार हजार किसान लाभान्वित

आज बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
अरुपनि पढ्नुहोस
सबै
पर्वतको कुश्माबाट यस्ताे देखियाे माछापुच्छ्रे हिमाल (तस्वीरहरू)

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
















