Opens in a new tab

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

उमेश रोकाया

29Shares

सारांश

  • बाजुराको हिमाली गाउँपालिकामा पहिरो खसी अवरुद्ध बनेको सडक युवाहरूको सक्रियता र श्रमदानबाट सञ्चालनमा ल्याइएको छ।
  • धिमदेखि धुलाचौर बजार जोड्ने सडकमा खसेको ठूलो रुख र पहिरो पन्छाएपछि यातायात सेवा सुचारु भएको हो।
  • दसैँअघिदेखि अवरुद्ध सडक खुलेसँगै स्थानीय बासिन्दा र यातायात चालकहरूलाई आवतजावतमा सहजता भएको छ।

बाजुरा, कार्तिक ७ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ पाँडी गाउँका युवाहरूको सक्रियता र श्रमदानबाट अवरुद्ध सडक मर्मत गरी सञ्चालनमा ल्याइएको छ।

​हिमाली गाउँपालिकाको धिम गाउँ हुँदै पालिकाको केन्द्र धुलाचौर बजार जोड्ने सडक अन्तर्गत पाँडी गाउँभन्दा करिब दुई किलोमिटर अगाडि माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। ठूलो रुख जरासहित सडकको बीच भागमा खसेपछि सवारी साधन तथा सर्वसाधारणको आवतजावत ठप्प बनेको थियो।

​दशैं अघि नै सडक भत्किएका कारण बाहिरबाट गाउँमा मोटरसाइकल तथा अन्य सवारी साधन ल्याउन निकै सास्ती भोग्नुपरेको स्थानीय युवा कविराज भण्डारीले जानकारी दिनुभयो।

​सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती पाएपछि गाउँका युवाहरू आफैं संगठित भई सडक खुलाउन जुटेका थिए। युवाहरूको टोलीले पहिरो पन्छाउनुका साथै बाटोमा खसेको रुख हटाएर सडक मर्मत गरेका हुन्।

​युवाहरूको सामूहिक प्रयास पछि अहिले उक्त सडकमा पैदल यात्रीका साथै साना तथा ठूला गाडीहरू सहजै चल्न थालेको स्थानीय युवा गणेश भण्डारीले बताउनुभयो। युवाहरूको यो सराहनीय कार्यको अहिले गाउँभरि प्रशंसा भइरहेको छ।