Opens in a new tab

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

नवलपुर टुडे

2.3KShares

सारांश

  • बंगालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै सोमबारसम्म चक्रवात आँधीमा परिणत हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  • उक्त चक्रवातको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने सम्भावना रहेको छ।
  • प्रतिकूल मौसमका कारण कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले विभागले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

काठमाडौं । नेपालमा झरी पार्ने प्रणाली विकास हुन सुरु भएको छ । शुक्रबार बिहान ५ः४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको हो । उक्त न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते, सोमबार चक्रवात आँधीमा विकसित हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ ।

चक्रवात आँधीमा विकसित भइ पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भू–भागमा प्रवेश गर्ने सम्भावना छ । उक्त मौसम प्रणालीका कारण कात्तिक ११ (बुधबार) देखि १५ गते (आइतबार)सम्म नेपालको मौसम प्रभावित हुनसक्ने देखिएको विभागले बताएको छ ।

“यद्यपि, यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन,” विभागले भनेको छ, “तर, सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिन्छ ।”