रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

नवलपुर टुडे

सारांश
- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टीको कोर टिमले प्रधानमन्त्रीलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
- रास्वपाका शीर्ष नेताहरू देश र जनताको समस्याभन्दा पनि आगामी निर्वाचन र सत्ता प्राप्तिमा मात्र केन्द्रित रहेको उनको दाबी छ।
- रास्वपा सभापति रवि लामिछानेका समर्थकहरूले सामाजिक सञ्जालमा गालीगलौज गरेर अशोभनीय वातावरण सिर्जना गरेको उनले बताएका छन्।
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। सरकार गठन भएको छ महिना नपुग्दै प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने उद्देश्यले पार्टीभित्रैबाट गतिविधि भइरहेको उनको दाबी छ।
शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीद्वारा आयोजित शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारलाई अन्य राजनीतिक दलबाट तत्काल कुनै ठूलो चुनौती नरहे पनि रास्वपाभित्रैबाट प्रधानमन्त्रीलाई असफल बनाउने प्रयास भइरहेको बताए। यस्तो गतिविधिको वास्तविकता चाँडै जनतासामु आउने उनको भनाइ थियो।
साहले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा पूर्वउपसभापति एवं वर्तमान सभामुख डिपी अर्यालबीच प्रधानमन्त्री शाहलाई कमजोर बनाउने उद्देश्यले मोर्चाबन्दी भएको दाबी गरे।
रास्वपा सभापति लामिछानेको यसअघि सम्पन्न भारत भ्रमण, चीन भ्रमणको तयारी तथा पछिल्लो धार्मिक यात्राको प्रसंग उठाउँदै साहले पार्टीका शीर्ष नेताहरूको निरन्तर विदेश भ्रमणलाई सामान्य रूपमा लिन नहुने टिप्पणी गरे। अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको सन्दर्भ उल्लेख गर्दै उनले यस विषयमा गम्भीरतापूर्वक प्रश्न उठाउनुपर्ने बताए।
पूर्वमन्त्री साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेको आरोप लगाउँदै यसप्रति सचेत रहन सबैलाई आग्रह गरे। रास्वपाको पार्टी पङ्क्ति देश र जनताको समस्याभन्दा पनि निर्वाचन र सत्ता प्राप्तिमा केन्द्रित रहेको उनको आरोप थियो।
अध्यक्ष साहले भने, “घण्टीवालाहरूलाई कुर्सीको मात्रै चिन्ता छ। चुनाव कसरी जित्ने र कसरी पद प्राप्त गर्ने भन्ने मात्रै उनीहरूको ध्यान देखिन्छ। देश र जनताका बारेमा उनीहरूलाई कुनै चिन्ता छैन। यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ।”
त्यसैगरी, रास्वपाका सभापति रवि लामिछाने समर्थक कार्यकर्ताहरू सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत भइरहेको र गालीगलौजका कारण सामाजिक सञ्जालको वातावरण दूषित बनिरहेको साहले टिप्पणी गरे। सामाजिक सम्बन्ध र मर्यादाको महत्त्व नबुझ्दा सामाजिक सञ्जालमा अशोभनीय अभिव्यक्ति बढिरहेको उनको भनाइ थियो।
कार्यक्रममा विभिन्न दलका नेताहरूको उपस्थिति

अग्रगामी मोर्चाद्वारा आयोजित उक्त कार्यक्रममा आम जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह, जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री गोविन्द चौधरी, आम जनता पार्टीका महासचिव त्रिभुवन साह, केन्द्रीय सचिव विजय यादव ‘निर्विज’, जसपाका नेता तथा पूर्वराज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका कार्यकारिणी सदस्य तथा पूर्वप्रदेश सांसद रामकिशोर यादव, जनमत पार्टीका कार्यकारिणी सदस्य रामलाल यादवलगायत अग्रगामी मोर्चाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरू तथा कार्यकर्ताहरूको उपस्थितिबारे आम जनता पार्टीका सचिवालय सदस्य रामशरण यादवले जानकारी दिएका हुन्।

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर

आज दसैँको टीकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

सिरहाको जिरोमाइलमा बसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते
अरुपनि पढ्नुहोस
सबै
धनुषामा बालिकालाई ब्ल्याकमेलिङ गरेको आरोपमा चारजना पक्राउ

देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना ८ जनाको मृत्यु

स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न रास्वपा सभापति लामिछाने भारतमा
















