Opens in a new tab

धनुषामा बालिकालाई ब्ल्याकमेलिङ गरेको आरोपमा चारजना पक्राउ

नवलपुर टुडे

658Shares

सारांश

  • धनुषामा बालिकालाई ब्ल्याकमेल गरेको आरोपमा चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरूले मेलाबाट फर्किंदै गरेका बालक र बालिकालाई घेरा हाली भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्दिने धम्की दिँदै ६ हजार रुपैयाँ असुल गरेका थिए।
  • आरोपीहरूविरुद्ध आपराधिक लाभ तथा बाल यौनदुरुपयोग सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

जनकपुरधाम । बालिकालाई ब्ल्याकमेलिङ गरेको आरोपमा धनुषा प्रहरीले चार जना युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २० बस्ने २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोष कुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतो रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार बुधबार राति करिब ८ बजे जनकपुरधाम–२० मा एक युवक र एक बालिका दसैंको मेला हेरेर पैदल आइरहेका बेला दुई वटा मोटरसाइकलमा आएका ४ जनाले उनीहरूलाई ब्ल्याकमेल गरेको सूचनापछि बिहीबार बिहान करिब ३ बजे चारै जनालाई पक्राउ गरिएको हो।

चारै जना युवकले घेरा हाली भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिएको, अभिभावकलाई फोन गरी धम्क्याएर बार्गेनिङ गरी ६ हजार रुपैयाँ मोबाइल बैंकिङबाट ट्रान्सफर गर्न लगाएको तथा बालिकाको संवेदनशील अंग छोएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता खनालले बताए।

प्रहरीले उनीहरूको साथबाट ज १२ प ७७७ र मधेस प्र ०२–००९ प २९०२ नम्बरको दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।