Opens in a new tab

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

प्रदिप सिंह

299Shares

सारांश

  • सिरहाको धनगढीमाई नगरपालिकामा सरकारी मोटरसाइकलको ठक्करबाट स्थानीय युवती पुष्पकुमारी चौधरी गम्भीर घाइते भएकी छन्।
  • कृषि ज्ञान केन्द्रबाट फिर्ता गर्न भनिएको रबिना पास प्रयोग गरिएको उक्त मोटरसाइकल चालक कृष्ण शाहले चलाएका थिए।
  • घटनास्थलबाट मोटरसाइकल र एक कर्मचारीलाई नियन्त्रणमा लिई प्रहरीले यस विषयमा थप अनुसन्धान अगाडि बढाएको छ।

लहान, कार्तिक ७ । सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइल चोकबाट करिब १०० मिटर दक्षिण सुखीपुर सडकखण्डमा सरकारी मोटरसाइकलको ठक्करबाट एक युवती गम्भीर घाइते भएकी छन्।

सुखीपुरबाट आउँदै गरेको मधेश प्रदेश ०१–००१ ब ०३७५ नम्बरको यामाहा कम्पनीको सरकारी मोटरसाइकल अनियन्त्रित भएर विपरीत दिशामा गई सडकछेउमा सामान किन्ने क्रममा रहेकी स्थानीय बिल्टु चौधरीकी करिब २० वर्षीया छोरी पुष्पकुमारी चौधरीलाई ठक्कर दिएको बताइएको छ।

मोटरसाइकलमा चालक कृष्ण शाहसँगै पछाडि अर्का कर्मचारी कृष्ण यादवसमेत सवार रहेको बताइएको छ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीलाई तत्काल स्थानीय पोलिक्लिनिकमा प्राथमिक उपचार गरिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक कृष्ण शाह पूर्व कृषि ज्ञान केन्द्र, सिरहामा एकाउन्टेन्ट पदमा कार्यरत थिए। सरुवा भएपछि उनी हाल पर्यटक विकास केन्द्रमा कार्यरत रहेको बताइएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख किसुनदेव राउतका अनुसार उक्त मोटरसाइकल असार महिनामै कार्यालयमा फिर्ता बुझाउन एकाउन्टेन्ट कृष्ण शाहलाई भनिएको थियो। पटक–पटक आग्रह गर्नुका साथै पत्राचारसमेत गर्दा पनि शाहले मोटरसाइकल नबुझाएको प्रमुख राउतले बताए।

सरकारी बिदाको दिन अत्यावश्यक कामका लागि सवारीसाधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट अनुमति (पास) लिनुपर्ने व्यवस्था रहेको बताइएको छ। तर, उक्त मोटरसाइकल बिना पास चलाइएको पाइएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख राउतले बिदाको दिन मोटरसाइकल चलाइएको विषयमा आफूलाई कुनै जानकारी नभएको र त्यसका लागि कुनै पाससमेत जारी नगरिएको बताए।

घटनापछि मोटरसाइकल र कर्मचारी कृष्ण यादवलाई इलाका प्रहरी कार्यालय धनगढीमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कार्यालयमा फिर्ता बुझाउन पटक–पटक भनिएको सरकारी मोटरसाइकल बिदाको दिन प्रयोगमा रहँदा दुर्घटना भएपछि सरकारी सवारीसाधनको व्यवस्थापन, प्रयोग र अनुगमनबारे प्रश्न उठेको छ।