बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

रासस

सारांश
- बाढीपहिरोका कारण क्षतिग्रस्त बेँसीसहर-चामे सडकखण्डका संरचना, पक्की सडक र पुल पुनःनिर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने देखिएको छ।
- डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाले सडकको समग्र स्तरोन्नतिका लागि रु तीन अर्ब लागत अनुमान गर्दै बजेट मागसहितको प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको छ।
- लामजुङ र मनाङलाई जोड्ने यस प्रमुख मार्गको मर्मत तथा स्तरोन्नति भएमा यातायात आवागमन र दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ।
लमजुङ । बाढीपहिरोले क्षति पुर्याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ ।
डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर-चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्याएको थियो । तीमध्ये छ स्थानमा सडकको ट्र्याक क्षतिग्रस्त भएको थियो ।
रामबजार, नासोँ गाउँपालिका-३ को खोत्रो तथा मनाङको कोतोलगायत स्थानमा बढी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताए । विभिन्न स्थानका काठे पुलसमेत बगाएको थियो । बाढीपहिरोका कारण छ दिनसम्म सडक अवरुद्ध भएको थियो । सडक खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नुपरेको थियो ।
“नासोँ गाउँपालिका-३ स्थित खोत्रोमा माथिबाट खसेका ठूला ढुङ्गा बम ब्लास्टिङ गरी हटाएपछि सडक सञ्चालनमा ल्याइएको थियो । हाल सडक सञ्चालनमा रहे पनि विभिन्न स्थानमा मर्मत तथा स्तरोन्नति गर्नुपर्ने छ”, आयोजना प्रमुख सुवेदीले भने । बाढीपहिरोबाट क्षतिग्रस्त स्थानमा सडक सुधार गरी पक्की सडक निर्माण तथा बगाएका काठे पुलको स्थानमा पक्की पुल बनाउन रु एक अर्ब आवश्यक पर्ने अनुमान गरिएको उनले जानकारी दिए ।
सोहीअनुसार बजेट माग गर्दै केही दिनअघि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाइएको सुवेदीले उल्लेख गरे । हाल उपलब्ध स्रोतसाधनबाट सडकका विभिन्न स्थानमा सामान्य मर्मत तथा स्तरोन्नति भइरहेको उहाँले बताउनुभयो । बाढीपहिरोपछि सडक खुलाउन आयोजना, स्थानीय तह तथा जलविद्युत् आयोजनाका डोजरलगायत उपकरण परिचालन गरिएको थियो ।
यसैगरी, तीन वर्षअघि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि रु तीन अर्ब लागत अनुमान गरिएको आयोजना प्रमुख सुवेदीले जानकारी दिए । सडक कालोपत्र, आवश्यक स्थानमा ढलान तथा पक्की पुल निर्माणसहित स्तरोन्नति गर्ने लक्ष्य राखिएकाले डिपीआरअनुसार बजेट माग गर्दै मन्त्रालयमा प्रस्ताव पठाइएको आयोजना उनले बताए ।
प्रमुख सुवेदीका अनुसार रु तीन अर्ब उपलब्ध भए सडकको समग्र स्तरोन्नतिसँगै बाढीपहिरोबाट क्षति पुगेका स्थानको सुधार तथा पुनर्निर्माणसमेत गर्न सकिनेछ । रु एक अर्ब उपलब्ध भए तत्काल क्षति पुगेका स्थानमा पक्की सडक तथा पुल निर्माण अघि बढाउन सकिने उनले बताए ।
बेँसीसहर-चामे सडक लमजुङ र मनाङलाई जोड्ने प्रमुख मार्ग हो । सडकको स्तरोन्नति तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणले यातायात आवागमन सहज बनाउनुका साथै स्थानीय बासिन्दा, पर्यटक र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ ।

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
अरुपनि पढ्नुहोस
सबै
गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग
















