पूर्वन्यायाधीशले नोबेल जितेको केही घण्टामै अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी

सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि कडा प्रतिबन्ध लगाएको छ।
- आईसीसीले अमेरिकी कदमलाई विधिको शासनमाथिको आक्रमण भनेको छ भने ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई अभियोजन हुन नदिने अडε राखेको छ।
- प्रतिबन्धको प्रभाव कम गर्न आईसीसीले वैकल्पिक सफ्टवेयर र व्यवस्थाको तयारी गरेको छ भने युरोपेली सङ्घले यसलाई संवादको अवसरका रूपमा लिएको छ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाएको छ । दक्षिण अफ्रिकी मूलकी आईसीसीकी पूर्वन्यायाधीश नावी पिल्लेले सन् २०२६ को नोबेल शान्ति पुरस्कार जितेको केही घण्टापछि नै यो प्रतिबन्ध लगाइएको हो ।
युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारका घटनामा संलग्न व्यक्तिमाथि मुद्दा चलाउन सन् २००२ मा स्थापना भएको आईसीसीले अमेरिकी कदमलाई ‘विधिको शासन र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको आधारमाथिको आक्रमण’ भनेको छ । अदालतले आफ्ना १२५ सदस्य राष्ट्रहरूलाई संस्थाको रक्षा गर्न आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
अदालतले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘अदालत एक्लै उभिन सक्दैन । यसको भविष्य अब यसलाई स्थापना गर्ने राष्ट्रहरूको हातमा पनि निर्भर छ ।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई आईसीसीमार्फत अभियोजन हुन नदिने बताएका छन् । उनले आईसीसीलाई ‘नियन्त्रणबाहिरको अदालत’ भन्दै यससँग हुने गतिविधि रोक्ने र त्यसका स्रोतसाधन कटौती गर्ने बताएका छन् ।
अमेरिकाले अदालत स्थापनासम्बन्धी रोम विधानमा सुरुमा हस्ताक्षर गरे पनि त्यसलाई अनुमोदन भने गरेको छैन । ट्रम्प प्रशासनले यसअघि पनि अदालतका केही न्यायाधीश र अभियोजकमाथि प्रतिबन्ध लगाएको थियो । तर यसपटकको कदम अदालतलाई सेवा उपलब्ध गराउने कम्पनीहरूसम्म लक्षित हुन सक्ने भएकाले यसलाई अझ विस्तारित आक्रमणका रूपमा हेरिएको छ ।
- छ महिनाको समयसीमासहित प्रतिबन्ध
अमेरिकी अर्थ मन्त्रालयले प्रतिबन्ध कार्यान्वयन गर्न सुरुमा छ महिनाको समय दिएको छ । दूरसञ्चार, सफ्टवेयर, पेन्सन भुक्तानी र हिरासतमा रहेका व्यक्तिसँग सम्बन्धित केही गतिविधिलाई भने छुट दिइने व्यवस्था गरिएको छ ।

रुबियोका अनुसार, अमेरिकी चासो सम्बोधन गर्न आईसीसी र यसका सदस्य राष्ट्रहरूलाई वार्ताको अवसर दिन प्रतिबन्धको मापदण्ड तयार गरिएको हो । अमेरिकी माग पूरा नभए प्रतिबन्ध थप बढाउने उनले बताएका छन् ।
अमेरिकाको असन्तुष्टिको प्रमुख कारणमध्ये आईसीसीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलगायत अधिकारीहरूविरुद्ध जारी गरेका पक्राउ पुर्जी र अफगानिस्तानमा अमेरिकी सैनिकका गतिविधिबारे गरेको अनुसन्धान हुन् । अदालतले भने अमेरिकी सैनिकसम्बन्धी अनुसन्धानलाई अहिले प्राथमिकतामा नराखिएको बताएको छ ।
अमेरिकी प्रतिबन्धले अमेरिकी कम्पनीहरूलाई अदालतसँग कारोबार गर्न रोक लगाउन सक्छ । यसबाट बैंकिङ सेवा, बिमा र सफ्टवेयर सहयोग प्रभावित हुन सक्नेछन् । प्रतिबन्धको सम्भावनालाई ध्यानमा राख्दै आईसीसीले यसअघि नै आफ्ना कार्यालयका कम्प्युटरमा माइक्रोसफ्टका सफ्टवेयरको सट्टा खुला स्रोतका विकल्प प्रयोग गर्ने र बैंकिङ तथा स्वास्थ्य बिमाका लागि नयाँ व्यवस्था गर्ने तयारी गरेको थियो ।
- आईसीसीले भन्यो, ‘हाम्रो काम रोकिन्न’
आईसीसीकी डेपुटी–प्रोसेक्युटर (उपअभियोजक) नजहत समिम खानले अमेरिकी प्रतिबन्धको आलोचना गर्दै यसले अदालतको काम रोक्न नसक्ने बताएकी छन् । ‘यी प्रतिबन्ध अन्तर्राष्ट्रिय स्तरमा विधिको शासन र स्वतन्त्र न्यायिक संस्थाले गरिरहेको कामलाई कमजोर पार्ने उद्देश्यले लगाइएका हुन्,’ उनी भन्छिन् । उनले अनुसन्धान, अभियोजन र अन्य न्यायिक काम निरन्तर अघि बढ्ने स्पष्ट पारेकी छन् ।
आईसीसीले विश्वका ७० भन्दा बढी व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । उनीहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इजरायली प्रधानमन्त्री नेतान्याहू, हमासका केही नेता तथा सुडानका पूर्वराष्ट्रपति ओमर अल–बसिरसमेत छन् । अदालतले विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वमा भएका गम्भीर अपराधको जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
- युरोपेली सहयोगीहरूको चासो
युरोपेली सङ्घ (ईयू) की विदेश मामिला प्रमुख काजा कलासले प्रतिबन्धमा राखिएको छ महिनाको समयलाई संवादका लागि अवसरका रूपमा व्याख्या गरेकी छन् । तर आईसीसीले आफ्नो महत्त्वपूर्ण काम जारी राख्न सक्ने सुनिश्चित गर्न ईयूसँग विभिन्न विकल्प रहेको उनले बताएकी छन् ।
बेल्जियमका विदेशमन्त्रीले अमेरिकी प्रतिबन्धको अतिरिक्त प्रभावबाट अदालतलाई जोगाउन ईयूको ‘ब्लकिङ स्ट्याट्युट’ सक्रिय गर्न आग्रह गरेका छन् । यस्तो व्यवस्थाले युरोपेली कम्पनीहरूलाई अमेरिकी प्रतिबन्धको दबाबबाट जोगाउने प्रयास गर्न सक्छ ।
ईयूका सबै सदस्य राष्ट्र र अमेरिका तथा टर्कीबाहेक नेटोका सबै सदस्य आईसीसीका सदस्य हुन् । त्यसैले अमेरिकी कदमले वासिङ्टन र उसका युरोपेली सहयोगीहरूबिच थप तनाव बढ्ने देखिन्छ ।
- नोबेल पुरस्कार र अन्तर्राष्ट्रिय न्यायको सन्देश
अमेरिकाले आईसीसीमाथि प्रतिबन्ध घोषणा गर्नुभन्दा केही घण्टाअघि दक्षिण अफ्रिकी कानुनविद् नावी पिल्लेलाई सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो । पिल्ले सन् २००३ देखि २००८ सम्म आईसीसीको पुनरावेदन कक्षकी न्यायाधीश थिइन् ।
नोबेल पुरस्कार समितिले अन्तर्राष्ट्रिय कानुनका न्यायाधीश र संस्थाहरू राजनीतिक आक्रमणको निशानामा परेको समयमा पिल्लेलाई पुरस्कार दिने निर्णयले अन्तर्राष्ट्रिय न्यायिक संस्थाप्रति साथ र समर्थनको सन्देश दिएको थियो । समितिका अनुसार, युद्ध अपराधीलाई जवाफदेही बनाउने र पीडितले न्याय पाउने अन्तर्राष्ट्रिय कानुनी व्यवस्था शान्तिपूर्ण विश्वको पूर्वसर्त हो ।

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
अरुपनि पढ्नुहोस
सबै
गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग
















