बूढानीलकण्ठबाट बरामद सुन २१ किलोभन्दा बढी, मूल्य ५४ करोडमाथि

रासस

सारांश
- काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले करिब ५४ करोड ६० लाख रुपैयाँभन्दा बढी मूल्यको २१ किलो ७५० ग्राम सुन बरामद गरेको छ।
- घटनामा संलग्न रहेको आरोपमा तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ भने तस्कर समूहले सुन प्रशोधन गर्न प्रयोग गर्ने विभिन्न मेसिन र उपकरणसमेत भेटिएको छ।
- तस्करहरूले अर्धठोस अवस्थामा ल्याएको सुनलाई उक्त घरमा प्रशोधन गरी बिस्कुट आकारका ढिका बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट बिहीबार प्रहरीले बरामद गरेको सुनको तौल २१ किलो ७५० दशमलव ६८ ग्राम रहेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सुन हालको बजार मूल्यअनुसार, ५४ करोड ६० लाख सात हजार ३२० रहेको जानकारी दिइएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्न माथिल्लो भंगालस्थित चिनियाँ नागरिकले भाडामा लिएको एक घरबाट उक्त सुन बरामद गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, झोउ लङछिन्ङ र छु क्यान रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार, सुन बरामद भएको घर सुन तस्करीमा संलग्न समूहले गत साउनदेखि भाडामा लिएको पाइएको छ । उक्त घरको मासिक भाडा तीन लाख ३० हजार निर्धारण गरिएको थियो । तस्कर समूहले घरधनीलाई चार महिनाको भाडा अग्रिम भुक्तानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तस्कर समूहले अर्धठोस अवस्थामा सुन ल्याएर बूढानीलकण्ठस्थित घरमा प्रशोधन गरी बिस्कुट आकारका ढिका बनाउने गरेको पाइएको छ ।
प्रहरीले सुन प्रशोधनमा प्रयोग गरिने उच्च तापक्रमयुक्त भट्टी, डिजिटल तराजु, विभिन्न मेसिन तथा उपकरणसमेत बरामद गरेको छ । साथै, सुन तस्करीमा प्रयोग गरिएको बिवाइडी गाडी पनि नियन्त्रणमा लिइएको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार, प्रशोधन गरिएको सुन लिएर गाडीमा बाहिर निस्कँदै गर्दा चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिइएको हो । उक्त गाडी तस्कर समूहले भाडामा लिएर प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद सुन, गाडी र अन्य सामग्रीसहित पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली
अरुपनि पढ्नुहोस
सबै
लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
















