मौलिक भजनः कतै पुस्तान्तरण, कतै सङ्कटमा

रासस

सारांश
- काभ्रेपलाञ्चोकको पनौतीमा चतुर्मासका अवसरमा युवापुस्ताको सक्रिय सहभागिताले ‘ढल्चा हालेगु’ जस्ता परम्परागत भजन संस्कृतिलाई जीवन्त राख्न ठूलो सहयोग पुर्याएको छ।
- धुलिखेलको श्रीखण्डपुरमा ऐतिहासिक ‘लालमोहर भजन’ र चतुर्मास भजन गाउने व्यक्तिको अभाव तथा पुस्तान्तरणको कमीले गर्दा लोप हुने सङ्घारमा पुगेका छन्।
- मौलिक संस्कृतिलाई जोगाउनका लागि भौतिक संरचनाको जगेर्ना गर्नुका साथै अग्रज पुस्ताबाट नयाँ पुस्तामा ज्ञान र सीपको हस्तान्तरण अपरिहार्य देखिन्छ।
काभ्रे । साँझ ढल्किँदै गर्दा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर पनौतीका पुराना गल्लीमा परम्परागत बाजाका धुन गुञ्जिन थाल्छन् । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिना अर्थात् चतुर्मासमा यहाँका टोल–टोलमा धार्मिक तथा सांस्कृतिक रौनक देखिन्छ । साँझ परेपछि स्थानीयवासी भेला हुन्छन्, बाजागाजा बज्छन् र पुस्तौँदेखि चलिआएका भजनका धुनले पुराना बस्तीलाई जीवन्त बनाउँछन् । तर, पनौतीसँगै जोडिएको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरतर्फ पुग्दा दृश्य फरक देखिन्छ । त्यहाँका आँगनमा पहिलेझैँ भजनका समूह भेटिँदैनन् ।
पुराना मन्दिरका पर्खाल उभिएकै छन्, गुठीका परम्परा पनि कायमै छन्, तर ती मन्दिरमा गुञ्जिने कतिपय पुराना भजनका स्वर भने क्रमशः हराउँदै गएका छन् । काभ्रेपलाञ्चोकका मौलिक भजन परम्पराले अहिले यस्तै दुई फरक अवस्था देखाइरहेका छन् । कतै नयाँ पुस्ताको सहभागिताले पुरानो परम्परालाई निरन्तरता दिने आशा देखिएको छ भने कतै पुस्तान्तरणको अभावमा भजन परम्परा नै लोप हुने अवस्थामा पुगेको छ ।
पनौतीका बलाछेटोल, पमाडिटोल, कोलाछेंलगायतका पुराना टोलमा पुग्दा यहाँको सांस्कृतिक जीवन अझै पनि परम्परासँग जोडिएको देखिन्छ । चतुर्मासभर स्थानीयवासी १० देखि १५ जनाको समूहमा भेला भएर परम्परागत बाजागाजासहित भजन गाउने गर्छन् । स्थानीय नेवारी भाषामा यसलाई ‘ढल्चा हालेगु’ भनिन्छ ।
‘ढल्चा हालेगु’ धार्मिक अभ्याससँगै सामुदायिक सहभागिताको माध्यम पनि बनेको छ । अग्रज पुस्ताले बाजा बजाउने र भजन गाउने क्रममा बालबालिका तथा युवाहरू पनि सहभागी हुन्छन् । उनीहरूले भजनका शब्द, धुन, ताल र बाजा बजाउने तरिका सिक्ने अवसर पाउँछन् । “भजनमा नयाँ पुस्ताको सहभागिताले उनीहरूलाई अग्रजबाट भजनका शब्द, धुन, बाजा बजाउने तरिका तथा धार्मिक संस्कार र स्थानीय परम्पराबारे प्रत्यक्ष रूपमा सिक्ने अवसर मिलेको छ”, पनौती नगरपालिका–७ का वडा सदस्य राम भुजुले भने ।
स्थानीय प्रमेश घुल्नुका अनुसार यस्ता सांस्कृतिक गतिविधिले धार्मिक आस्थालाई निरन्तरता दिनुका साथै पनौतीको मौलिक पहिचान र सामुदायिक एकतालाई पनि बलियो बनाएको छ । “यस्ता परम्परामा नयाँ पुस्ताको सहभागिता बढाउन सकेमा संस्कृति पुस्तौँसम्म जीवित रहन सक्छ”, उनले भने ।
पनौतीका टोलमा देखिने यो अभ्यासले मौलिक संस्कृति संरक्षणका लागि केवल भौतिक संरचना पर्याप्त नहुने देखाउँछ । त्यसका लागि समुदायको निरन्तर सहभागिता र नयाँ पुस्ताको संलग्नता आवश्यक हुन्छ । अग्रज पुस्ताले जानेका भजन, बाजा र संस्कार युवापुस्ताले सिक्दै गएमा परम्पराले स्वाभाविक रूपमा निरन्तरता पाउने देखिन्छ ।
श्रीखण्डपुरमा हराउँदै गएको भजन परम्परा
पनौतीका केही टोलमा भजनका धुन गुञ्जिरहेका बेला नजिकैको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरमा भने परिस्थिति फरक छ । श्रीखण्डपुरको पहिचानसँग जोडिएका ‘चतुर्मास भजन’ र ‘लालमोहर भजन’ अहिले लोप हुने सङ्घारमा पुगेका छन् ।
विशेषगरी ‘लालमोहर भजन’ श्रीखण्डपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा मानिन्छ । स्थानीयका अनुसार मल्लकाल वा प्रारम्भिक शाहकालमा दरबारले मन्दिरको पूजाआजा, सांस्कृतिक निरन्तरता तथा भजन मण्डली सञ्चालनका लागि जग्गा–जमिन वा विशेष अधिकार प्रदान गर्ने र त्यससम्बन्धी लालमोहर जारी गर्ने गरेको थियो । दरबारिया मान्यता तथा संरक्षण प्राप्त गरी गुठीमार्फत पुस्तौँदेखि सञ्चालन हुँदै आएको भजन भएकाले यसलाई ‘लालमोहर भजन’ भनिएको स्थानीयको भनाइ छ ।
ऐतिहासिक महत्व बोकेको भनिएको यो भजन परम्परा अहिले गाउने व्यक्तिको अभावमा सङ्कटमा परेको छ । “पहिले म आफैँ पनि लालमोहर भजन गाउँथेँ । धेरै पुस्तादेखि निरन्तर चलिआएको यो परम्परा अहिले भने हराइसकेको छ”, श्री श्वेतभैरव भजन मण्डलका सल्लाहकार पूर्ण कर्माचार्यले सम्झिँदै भने, “अहिले भजन मण्डल गठन गरिएको छ र गुठी संस्थानको ब्याजबाट प्राप्त रकम मण्डलीलाई दिएर पूजाआजा चलाउने गरिएको छ तर लालमोहर भजन गाउने मान्छे नै नहुँदा यो भजन अहिले अस्तित्वमा छैन ।” भौतिक संरचना बाँकी रहे पनि त्यससँग जोडिएको सांस्कृतिक अभ्यास कमजोर हुँदै गएको उनको भनाइ छ ।
श्रीखण्डपुरमा पुस्तान्तरणको चुनौती
श्रीखण्डपुरमा पुरानो पुस्तासँग भजन र संस्कृतिको ज्ञान रहे पनि नयाँ पुस्तामा त्यसको हस्तान्तरण कमजोर हुँदै गएको स्थानीय बताउँछन् । रोजगारी तथा अध्ययनका लागि युवाहरू बाहिरिने क्रम बढेको छ । बालबालिका र युवाको दैनिकी पनि बदलिएको छ ।
प्रविधिको बढ्दो प्रयोग, रोजगारीका लागि बसाइँसराइ तथा बदलिँदो सामाजिक जीवनशैलीका कारण परम्परागत सामूहिक गतिविधिमा सहभागिता घट्दै गएको स्थानीयको अनुभव छ । “डर लाग्छ, कतै भोलि हाम्रो संस्कृति किताबका पानामा मात्र सीमित नहोस् । कतै चतुर्मास भजन र लालमोहर भजन हाम्रा सन्तानका लागि ‘पहिले गाउँमा गाइन्थ्यो रे’ भन्ने कथा मात्र नबनोस्”, श्रीखण्डपुरका स्थानीय भव सागर रञ्जितले भने । उनका अनुसार पुरानो पुस्ताले संरक्षण गरेको संस्कृति नयाँ पुस्ताले सिक्न र अभ्यास गर्न नपाएमा केही वर्षपछि त्यसको मौलिक स्वरूप नै हराउन सक्छ ।
परम्पराको संरक्षणमा पुस्तान्तरण आवश्यक
समयसँगै समाजको जीवनशैली परिवर्तन हुनु स्वाभाविक हो । प्रविधिको विकास र नयाँ पुस्ताको फरक रुचिलाई रोक्न सकिँदैन तर परिवर्तनसँगै मौलिक संस्कृति र परम्परालाई कसरी निरन्तरता दिने भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ ।
भजन परम्परा केवल गीत वा धार्मिक अभ्यास मात्र होइन । यसमा स्थानीय इतिहास, भाषा, बाजागाजा, धार्मिक संस्कार, सामुदायिक सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान जोडिएको हुन्छ । कुनै भजन परम्परा हराउनु भनेको एउटा गीत हराउनु मात्र नभई त्यससँग जोडिएको सांस्कृतिक अभ्यास र सामुदायिक स्मृतिको एउटा हिस्सा हराउनु पनि हो । पनौतीको ‘ढल्चा हालेगु’ र श्रीखण्डपुरको ‘लालमोहर भजन’ले मौलिक संस्कृति संरक्षणका दुई फरक अवस्था देखाएका छन् । पनौतीमा नयाँ पुस्ताको सहभागिताले परम्परालाई निरन्तरता दिने आधार तयार गरेको छ भने श्रीखण्डपुरमा भजन गाउने पुस्ता घट्दै जाँदा परम्परा नै सङ्कटमा परेको छ ।
स्थानीय तह, समुदाय, गुठी तथा सांस्कृतिक संस्थाले मौलिक भजनका शब्द, धुन, बाजा र इतिहासको अभिलेखीकरणसँगै नयाँ पुस्तालाई त्यसमा सहभागी गराउन सके यस्ता परम्परा संरक्षणमा सहयोग पुग्न सक्छ । विद्यालय तथा समुदायस्तरमा स्थानीय संस्कृतिबारे जानकारी गराउने, अग्रजबाट युवापुस्तालाई सीप हस्तान्तरण गराउने र नियमित सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने प्रयासले पनि परम्परा जोगाउन भूमिका खेल्न सक्छ ।
मौलिक संस्कृति संरक्षणका लागि केवल विगत सम्झिएर पुग्दैन, त्यसलाई वर्तमान पुस्ताले अभ्यास गर्न र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । मन्दिर, गुठी र पुराना संरचना जोगिए पनि तिनमा जोडिएका जीवित परम्परा हराए भने संस्कृतिको एउटा महत्वपूर्ण पक्ष गुम्न सक्छ ।

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण
अरुपनि पढ्नुहोस
सबै
सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह
















