लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

नवलपुर टुडे

सारांश
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन अलुम्नाईले लठैत र डकैती शैलीमा त्रिवि सभा गर्न लागेको भन्दै आपत्ति जनाएको छ । त्रिवि ऐन २०४९ ले स्पष्ट रुपमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरुमध्येबाट २ जना त्रिवि सिनेटमा सिनेटर हुने व्यवस्था गरेको अवस्थामा विद्यार्थीसँग प्रत्यक्ष जोडिएको स्ववियुलाई वेवास्ता गरेर गर्ने गर्न लागेको सिनेट बैठकविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
त्रिविले विद्यार्थी, प्राध्यापक र कर्मचारीको सहभागिता नगराईकन सिनेट बैठक गर्दैछ । त्रिवि कार्यकारी परिषद्ले असोज २२ गते सिनेट बैठक गर्ने निर्णय गर्दै सूचना जारी गरेको छ ।

त्रिवि ऐनअनुसार सिनेटमा सिनेटर नियुक्त समेत भई पटकपटक सिनेटमा भाग लिइसकेका स्ववियु सभापतिलाई नबोलाउनु त्रिविको डकैत र लठैत शैली भएको स्ववियु अलुम्नाईको आरोप छ । अलुम्नाई अध्यक्ष चाउएनलाइ श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘बालेन सरकारले कथित अध्यादेशबाट स्ववियु हटाए तर अध्यादेश निस्कृय भइसकेको अवस्थामा हाल २०४९ कै ऐन अनुसार सिनेट सञ्चालन हुने अवस्था रहेको छ । अहिले विश्वविद्यालय ऐन नियमअनुसार होइन, बालेन र सस्मितको मौखिक आदेशअनुसार चलेको छ ।
पदाधिकारीले मुख्य भूमिका निर्वाह गर्ने संघ संगठनलाई नबोलाई गर्न लागेको सिनेट बैठकविरुद्ध सबै एक हुनुपर्ने अवस्था आएको छ ।’ स्वायत्त र सार्वभौम संस्था त्रिभुवन विश्वविद्यालयमा हजारौँ विद्यार्थी र युवाको बलिदानी योगदान र संघर्षले प्राप्त स्वतन्त्र विद्यार्थी युनियनको अस्मितामाथि कडा प्रहार भएको जिकिर गर्दै विज्ञप्तिमा भनिएको छ– ‘यो कदापि सहन सकिँदैन । आफ्नो अस्तित्वको लागि विद्यार्थीहरुले जुनसुकै कदम र आन्दोलन गर्न पछि हट्नु हुँदैन ।
अविलम्ब त्रिविको उपकुलपति र पदाधिकारीले ऐनको सम्मान गर्दै स्ववियु, प्राध्यापक संघ र कर्मचारी संघको प्रतिनिधिसहितको सिनेट आह्वान गर्नु पर्दछ । विद्यार्थी, प्राध्यापक र कर्मचारी विश्वविद्यालयको अभिन्न अंग हुन् । सबैको सम्मान गरौँ । प्रजातान्त्रिक प्रणालीमा सबैको समान र सहभागी हुन आवश्यक छ । यस्तो लठैत र डकैती शैलीको हामी कडा शब्दमा भत्सना गर्दछौँ ।’
त्रिविका उपकुलपति प्राडा भोला थापाले असोज २२ गते करिब २१ जना त्रिविसभा सदस्यलाई मात्र बोलाएर बैठक गर्ने तयारी गर्नुभएको थियो । त्यसलगत्तै सबै सरोकारवालाले प्रतिवाद गर्ने चेतावनी दिएका छन् । त्रिविको सो निर्णयविरुद्ध सम्भवतः भोलि सोमवार रिट दायर गर्ने तयारी गरेको छ । उपकुलपति प्राडा थापाले सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा सिनेट बैठक डाकेको आरोप छ ।
बैठकमा कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नहुने निश्चित छ । सिनेट बैठकको अध्यक्षता कुलपतिले गर्ने कानुनी व्यवस्था छ । तर कुलपतिले सहकुलपतिलाई अध्यक्षता गर्न पत्र पठाएको भन्दै त्रिविले सहकुलपतिको अध्यक्षतामा बहुमत पु¥याएर सिनेट बैठक गर्ने तयारी गरेको छ । अहिले २१ जना छन, अब ५ जना मनोनित गरेर २६ जनासहित सिनेट बैठक बस्ने योजना त्रिविको छ ।
सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री पोखरेलको निर्देशनमा त्रिविले रेक्टर, रजिष्टार, ९ वटा संकाय डीन, ४ अनुसन्धान केन्द्र निर्देशक, शिक्षा र अर्थमन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्यलाई मात्र बैठकमा बोलाइएको छ । त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठान तथा नास्टका पदाधिकारीसहित अन्य विश्वविद्यालयका उप–कुलपतिहरूमध्येबाट दुई जना सदस्य रहने व्यवस्था छ । २८ जना सिनेटर नियुक्त हुनै बाँकी छ ।
त्रिविले नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यायक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संघ, त्रिवि कर्मचारी युनियन, प्राध्यापकमध्येबाट ५ जना, दुई जना विद्यार्थी प्रतिनिधि, विज्ञ, एक जना पत्रकार, उद्योगपति र पूर्व उपकुलपतिमध्ये १ जना रहने व्यवस्था छ ।
पछिलोपटक त्रिविसभा २०८२ असार २६ गते बसेको थियो । विश्वविद्यालयलाई नियमानुसार सञ्चालन गर्न र बजेट स्वीकृतिका लागि सिनेट बैठक बस्नुपर्ने हुन्छ । जसका कारण त्रिविको वार्षिक बजेट, दीक्षान्त समारोहका लागि ग्रेस लिस्ट पारितलगायतका कार्य प्रभावित भएका छन् ।
विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम पारित हुन नसक्दा विकास निर्माण तथा दैनिक कार्य सञ्चालनमा बाधा पुगेको छ । भने दीर्घकालीन योजना स्वीकृति, नयाँ नियम पारित गर्ने प्रक्रिया र आवश्यकताअनुसार गठन गरिने विशेष समिति तथा आयोगहरूको कामकारबाहीसमेत पूर्णरूपमा ठप्प छ । हाल त्रिविमा ७ हजार ३०३ कर्मचारी र ८ हजार १२२ शिक्षक (अस्थायीसहित) गरी कुल १५ हजार ४२५ जना कार्यरत छन् ।
त्रिविले करिब २२ अर्बको बजेट पारित गर्ने र दीक्षान्त समारोहको ग्रेसलिष्ट पारित गर्नकै लागि सिनेट बैठक बोलाएको हो ।

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै
अरुपनि पढ्नुहोस
सबै
यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?
















