कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन


चितवन,असोज १५। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदा दुरुपयोग भएको भन्ने गुनासो पछि छानबिन गर्न समिति गठन गरिएको छ । विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो ।
विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको उल्लेख छ ।
समितिले विश्वविद्यालय स्थापना भएदेखि वा अन्य विश्वविद्यालय तथा निकायबाट समायोजन भई विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवामा रहेका र अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीको बिदा स्वीकृति, अध्ययनको अवस्था, बिदाको प्रयोजन तथा बिदा अवधिमा भए\गरेका गतिविधिबारे छानबिन गर्ने पत्रमा उल्लेख छ ।
त्यसैगरी, अध्ययन बिदाको स्वीकृति प्रक्रिया, अध्ययनको प्रगति तथा बिदाको अवधिमा सम्बन्धित शिक्षक तथा कर्मचारीले गरेका गतिविधिलाई छानबिनको आधार बनाइने विश्वविद्यालयले जनाएको छ ।
समितिले तोकिएको कार्यादेशअनुसार अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी तीन महिनाभित्र विश्वविद्यालयको रजिस्ट्रार कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउनेछ । विसं २०६९ मा स्थापना भएको यस विश्वविद्यालयमा प्राध्यापक कर्मचारी गरी ७७१ जना छन् । जसमध्ये १७२ जना प्राध्यापन र ५९९ जना कर्मचारी रहेका छन् । तीमध्ये प्राध्यापनतर्फका ४० जना र कर्मचारी २५ जना बिदामा रहेको रजिष्ट्रार सिंहले जानकारी दिनुभयो ।
उहाँहरु र यसअघि बिदा लिएकाहरुले बिदाको सही उपयोग गरे\नगरेकोसमेत अध्ययन गरी प्रतिवेदन तयारका लागि समिति बनाइएको उहाँले बताउनुभयो । यसअघि बिदामा गएर नआएका कोही भए त्यसकोसमेत समितिले खोजी गर्ने उहाँको भनाइ छ ।






















