बाढीमा ज्यान गुमाएकाप्रति कतारमा श्रद्धाञ्जली


दोहा, कतार । नेपालमा हालै आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको प्रती कतारमा एक कार्यक्रम गरि श्रद्धाञ्जली अर्पण गरेका छन। शुक्रबार प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारले गत भदौ १० गते नेपालमा विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गरि श्रद्धाञ्जली सभा सप्पन्न गरेका छन । परदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रवासी नेपालीहरूले दिवंगतप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका छन।
कतारको सनैयास्थित सिलौटा रेस्टुरेन्टको सभाहलमा मञ्चका अध्यक्ष अफसर अलि खानको सभापतित्वमा तथा मञ्चका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, निवर्तमान अध्यक्ष चुडामणि कार्की, पूर्व अध्यक्ष प्रभात त्रिपाठी, तथा मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिव एवम् संगठन विभाग प्रमुख चानक पोख्रेललगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ज्ञात–अज्ञात शहीद तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रमका सभापति अफसर अलि खानले विपत्तिमा परिवार तथा आफन्त गुमाएका नेपालीहरूसँग प्रवासमा रहेका नेपालीले पनि दुःखमा सँगै उभिएको बताए ।उपचाररतहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ताहरूको सकुशल खोजीको कामना गर्दै उनले राहत तथा उद्धारमा सरकारले थप सक्रियता देखाउनुपर्ने धारणा राखे ।
जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको विपत्तिको क्षतिपूर्तिमा विकसित राष्ट्रहरूले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । आफूहरू सरकारमा रहे पनि नरहे पनि जनताको दुःखमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै खानले विपत्तिको यस घडीमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।






















