समाचार

गुलरियामा तीनदिने पत्रकारिता तालिम सुरु

नवलपुर टुडे
२०८३ भदौ १९ | बिहान १०:०५ बजे

बर्दिया, भदौ १८ । गुलरिया नगरपालिका–१० को आयोजनामा पत्रकारितासम्बन्धी तीनदिने तालिम बिहीबारदेखि गुलरिया नगरपालिका–६ स्थित होटल गार्डेनमा सुरु भएको छ। वडा नं. १० को आर्थिक सहयोग तथा डी–मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो। डी–मिडिया प्रा.लि.का सम्पादक राकेश कुमार यादवको अध्यक्षता तथा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा गुलरिया नगरपालिका–१० का वडा अध्यक्ष लक्ष्मी नारायण लोध, वडा नं. ६ का अध्यक्ष सुदाशु प्रकाश शर्मा, जिल्ला सहकारी संघ बर्दियाका सचिव इन्दिरा सुवेदी लगायत जनप्रतिनिधि, पत्रकार तथा सहभागीहरूको उपस्थिति थियो। कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले पत्रकारिता समाजको ऐना भएकाले पत्रकारले सत्य, तथ्य र विश्वसनीय सूचनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

उहाँले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र मर्यादित बनाउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। वडा नं. ६ का अध्यक्ष शर्माले स्थानीय तहमा पत्रकारिताप्रति रुचि राख्ने तथा सञ्चार क्षेत्रमा क्रियाशील व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले स्थानीय तहका विकास गतिविधि, नागरिकका समस्या तथा सार्वजनिक सरोकारका विषयलाई तथ्यमा आधारित रूपमा बाहिर ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

तालिममा समाचार लेखन, समाचार स्रोत तथा तथ्य संकलन, तथ्य सत्यापन, प्रश्न गर्ने कला, समाचार सम्पादन, समाचार संरचना, पत्रकारको भूमिका, समयसीमा तथा पत्रकारिताको आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिइनेछ। तालिमको सहजीकरण प्रशिक्षक सरु राना , घनश्याम पाण्डे लगायतले गर्नुहुनेछ। तालिममा स्थानीय सञ्चारकर्मी तथा पत्रकारितामा रुचि राख्ने २२ जना महिला तथा युवाहरूको सहभागिता रहेको छ। तीनदिने तालिमले सहभागीहरूलाई समाचार संकलनदेखि लेखन, सम्पादन तथा प्रकाशनसम्मका आधारभूत र व्यावहारिक सीप विकासमा सहयोग पुर्याउने आयोजकले विश्वास लिएको छ।

कमेन्टहरु